मतगणना नसकिँदै ओली र प्रचण्ड मिलाउन भित्रभित्रै वार्ता - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

मतगणना नसकिँदै ओली र प्रचण्ड मिलाउन भित्रभित्रै वार्ता



स्थानीय तह निर्वाचनको पुरै नतिजा नआउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलाउन नेताहरू सक्रिय बनेका छन् ।

स्थानीय निर्वाचनको परिणाम देशभरबाट आउँदै गर्दा दुवै दलका दोस्रो र तेस्रो तहका नेताहरुले यस्तो पहल सुरु गरेका छन् । वाम एकता भएको खण्डमा आगामी चुनावमा फेरि दुईतिहाई ल्याउन सकिने भन्दै नेताहरू लगातार वार्तामा बसिरहेको बताइएको छ ।

चुनावी परिणामप्रति सबैभन्दा बढी असन्तुष्टि माओवादीमा देखिएको छ । त्यस्तै एमालेमा पनि चुनावी परिणामको कारण ओलीमाथि दवाव बनाउन थालेका छन् ।

माओवादी नेताहरु खुलेआम काँग्रेसबाट धोका भएको भन्न थालेका छन् । यसअघिको निर्वाचनमा पनि कांग्रेसबाट धोका भएको भन्दै माओवादीले एमालेसँग संसदीय निर्वाचनमा तलमेल गरेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष नारायणकाजी श्रेष्ठले ट्वीट गर्दै वाम एकताको सम्भावना औल्याएका छन् । उनले एमालेले समिक्षा गरेमा धेरै सम्भावनाहरु भएको बताए । माओवादी नेता वर्षमान पुन प्रचण्ड र ओलीबीचको सहमति बनाउन निरन्तर लागिरहेका छन् ।

यसअघि प्रचण्डले भरतपुरको सभामा बोल्दै माओवादीलाई मत नदिएर टेन्सन नदिन चेतावनी दिएका थिए । उनले घुमाउरो तरिकाले गठबन्धन नै तोड्न सक्ने समेत बताएका थिए । यसले राजनीतिकवृत्तमा तरङ्ग ल्याएको थियो ।

नेकपा एसका सम्मानित नेता झलनाथ खनाल समेत गठबन्धनबीचको तालमेलमा धोका भएको भन्दै असन्तुष्ट छन् । उनले गठबन्धनबारे पुनः विचार गर्ने समेत बताएका छन् । खनालले एमालेसँग पुनः एकताको सम्भावना औल्याए ।

गठबन्धनबीच चुनावी तालमेलले नेपाली काँग्रेसलाई सबैभन्दा फाइदा पुगेको छ । काँग्रेसले ७५३ पालिकामा ३ सय कटाउने निश्चितप्रायः छ । एमाले २ सयको हाराहारीमा पुग्ने देखिन्छ । माओवादी भने एक सय कटाएर तेस्रो स्थानमा रहने देखिएको छ ।

नेकपा एसले भने आशा गरेभन्दा कम पालिका जित्ने देखिदैछ । एसले २० को हाराहारीमा पालिका जित्ने सम्भावना छ । यसकारण पनि माधव नेपाल र झलनाथ खनाल असन्तुष्ट बनेका छन् । यो असन्तुष्टिले वामपन्थीहरुलाई पुनः एक ठाउँमा ल्याउने अवस्था सृजना गर्न थालेको छ । यसमा एमाले र माओवादीका दोस्रो र तेस्रो तहका नेताहरु सक्रिय भएका छन् ।