ओलीले दवाव दिएपछि प्रचण्ड झन् आक्रामक - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

ओलीले दवाव दिएपछि प्रचण्ड झन् आक्रामक



काठमाडौ- नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डले चर्चा पाइरहेका बेला प्रमुख प्रतिपक्षी साल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि दवाव बढाएका छन् । एमालेकै नेताहरू मुछिएको यो काण्डपछि ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुईपटक भेटिसकेका छन् ।

प्रधानमन्त्री भेटेर फर्किएका एमाले अध्यक्ष ओलीलाई पत्रकारले प्रश्न गर्दा उनले एमालेका सचिव टोपबहादुरलाई बचाउन लागिपरेको भन्ने आरोप गलत भएको बताएलगत्तै प्रधानमन्त्री प्रचण्डले भने ओलीले पछिल्लो समय आफूलाई दवाव दिएको तर त्यस्ता दवावले आफू पछाडी नहट्ने बताएका थिए ।

ओलीले भ्रष्टाचारमा परेका एमालेका नेता बचाउन आफू नलागेको बताईरहँदा प्रचण्डले भने ओलीले लगातार यहि विषयमा कन्सर्न राखेको बताए । त्यतिमात्र होइन ओलीलाई भेटेपछि प्रचण्ड थप आक्रामक देखिए । उनले ओली र एमालेका नेताहरूलाई लक्षित गर्दै बिचरा प्रचण्ड भन्नेहरू नै शरणार्थी बनाएर नेपाली बेच्ने काममा संलग्न भएको समेत बताए ।

शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अब भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने बताएका हुन् । प्रचण्डले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरू खुल्दै जाने प्रतिवद्दता समेत व्यक्त गरेका छन् ।

कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने बताउँदै उनले अहिलेको नेपालीलाई भुटानी शरणार्थी बनाई बेच्ने कुरा ट्रेलर मात्रै रहेको उल्लेख गर्दै पूरा फिल्म देख्न बाँकी रहेको बताए। उनले अब आफूहरूलाई ठूला घेराबन्दी र दबाबहरू आउनसक्ने भन्दै उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवि जनसमुदाय साथमा भएसम्म कसैले केही गर्न नसक्ने बताए।

उनले भने, ‘मैले घोषणा गरेको थिएँ, अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ, कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया शुरु भएको छ । यो शुरुवात मात्रै हो । यो ट्रेलर मात्रै हो, हेर्दै जानुस्, सिंगै फिल्म देखिन्छ । सिंगै फिल्म देखिनेवाला छ । त्यसपछि पक्कै पनि ठूला घेराबन्दी होलान्, ठूला दबाबहरू आउलान्, धम्कीहरू होलान्, धेरै चिजहरू हुनसक्छ, यो बीचमा तर हाम्रो उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवि जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी दबाब र धम्कीको सामना गरिनेछ ।’

प्रधानमन्त्री दाहालले आफ्नो पार्टीलाई ३२ सिटे भन्ने गरेको उल्लेख गर्दै फेरि एक पटक गर्जिन सके बहुमतमा पुग्ने बताए ।