मिल्न छाड्यो ओली र प्रचण्डको कुरा- दुबैले छाड्दैनन् अडान - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मिल्न छाड्यो ओली र प्रचण्डको कुरा- दुबैले छाड्दैनन् अडान



काठमाडौं- नेपाली कांग्रेसलाई चक्मा दिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा बनेको सरकारले मन्त्रिपरिषद विस्तार गर्न सकेको छैन । प्रधानमन्त्रीसहित ८ मन्त्रीले शपथ ग्रहण गरेको २० दिन बितिसक्दा पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेपछि ओली र प्रधानमन्त्री प्रचण्ड लगातार छलफलमा छन् ।

मन्त्रालय बाँडफाँटको विषयमा दुई नेताबीच कुरा नमिलेपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको हो । सुरुमै सपथ खाएका चार मन्त्रीले पनि जिम्मेवारी पाएका छैनन् । नेकपा एमालेका तीन र जनमत पार्टीका एक मन्त्री मन्त्रालय नपाउँदा कामविहीन बनेका छन् । नेकपा एमालेका दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्र राई रहेका छन् भने जनमत पार्टीका अब्दुल खान रहेका छन् ।

सरकार बनेको २० दिनसम्म पनि मन्त्रालयको जिम्मा र मन्त्रिपरिषद विस्तार हुन नसकेको बेला प्रधानमन्त्री प्रचण्डले भने ओलीले भनेका सबै कुरा नमान्ने संकेत गरेका छन् । दुई नेताबीच लागातार छलफल भैरहेपनि दुबैले आफ्नो अडान छोडेका छैनन् ।

एमालेका एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले ओलीले भनेका सबै कुरा नमान्ने अडान लिएकै कारण समस्या भएको बताउँछन् । यस्तै ओलीले अनावस्यक अडान राखेको र धेरै भाग खोजेको माओवादीका नेताहरूको आरोप छ ।

तर बालुवाटार स्रोतले भने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई छोड्न र कुनै पनि अवसर नदिन ओलीले प्रधानमन्त्री प्रचण्डलाई भनेकै कारण सहमतिमा समस्या आएको बताउँछ । प्रधानमन्त्री प्रचण्डले जुनसुकै हालतमा पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई साथमा लिएर हिँड्न चाहन्छन् तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने ठाडै अस्वीकार गरेका छन् ।

यता प्रधानमन्त्री दाहालले शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा नेपाली कांग्रेसले आफूलाई दिएको समर्थनले थप जिम्मेवार बनाएको बताउँदै कांग्रेसप्रति लचिलो हुने संकेत गरेका छन् । यो संकेतले ओली थप सशंकित बनेको बताइन्छ ।

पछिल्लो वार्तामा पनि ओली र प्रचण्डले आफ्ना अडान छाडेका छैनन् । त्यसमाथि प्रचण्ड कांग्रेससँग नजिक बनेको ओलीको आशंकाले गठबन्धनमा समस्या आउनसक्ने अड्कल केहि नेताहरूले गरेका छन् ।