ओली र अध्यक्ष प्रचण्ड बुुटवलमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ओली र अध्यक्ष प्रचण्ड बुुटवलमा



बुुटवल – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली शनिवार बुुटवल आउँदै छन् ।

जितगढी विजयी उत्सव कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओलीका साथमा नेकपाका अर्का अध्यक्ष पुुष्पकमल दाहाल, रक्षामन्त्री ईश्वर पोखरेल लगायतका नेता बुटवल आउने कार्यक्रम छ ।

कांग्रेस महामन्त्री शशांक कोइराला, कांग्रेस सचेतक बालकृष्ण खाँड लगायतका शीर्ष नेता पनि कार्यक्रममा सहभागी हुुनेछन् । तत्कालीन अंग्रेजलाई २ सय वर्षअघि पराजित गरेको खुशियालीलाई बुटवल उपमहानगरपालिकाले जितगढी विजय उत्सव दिवसका रुपमा मनाउँदैछ ।

२ सय ४ वर्षअघि विक्रम संवत् १८७१/७२ वैशाख ७ गते कर्णेल उजिरसिंह थापाको नेतृत्वको नेपाली सेनाले तत्कालीन अंग्रेज सेनालाई पराजित गरेको दिन हो । यस पटक पर्सी दोस्रो विजयोत्सवको दिन जीतगढी किल्ला परिसरमा निर्माण गरिएको कर्णेल उजीरसिंह थापाको पूर्णकदको शालिक अनावरण गर्ने र शालिकको छेउमा विशाल राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए । कर्णेल उजिरसिंहको उक्त शालिक अनावरण र झण्डोत्तोलन प्रधानमन्त्री ओलीले गर्नेछन् ।

विजयोत्सवलाई भव्य बनाउन जीतगढीमा विशेष तयारी गरीएको र त्यसमा नेपाली सेनासहितका सुरक्षाकर्मीले सहकार्य गरिरहेको पनि उनले बताए । जितगढी सम्पदा स्थलमा त्यहाँका जनप्रतिनिधि, नागरिक अगुवा, युवा समेत सक्रिय रहेका छन् ।

बुटवल उपमहानगरपालिकाले ऐतिहासिक दिनको उत्सवलाई ऐतिहासिक बनाई जीतगढीलाई राष्टिय अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचारप्रसार गर्ने कार्यको शुरूवात गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।

वैशाख ७ गते बिहान ८ बजे नै उपमहानगरपालिकाबाट विजय र्‍याली निकालिएको र बिहान १० बजे नै किल्ला परिसरमा पुग्ने गरी समय तालिका तय गरिएको छ ।