राधिका शाक्यको नजरमा माधव नेपाल: ओलीमाथि यतिसम्म गरेका रहेछन् - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राधिका शाक्यको नजरमा माधव नेपाल: ओलीमाथि यतिसम्म गरेका रहेछन्



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई सार्वजनिक रूपमै तथानाम भन्ने गरेको सुनिएकै छ । खासगरी ओली र नेपालबीच लामो समयदेखि कटुता रहँदै आएपनि तत्कालिन नेकपा कालदेखि कटुताले उग्र रुप लिएको थियो । दुवै नेताले एकले अर्कोलाई सिध्याउने अभियान नै चलाएका थिए । माधव नेपालले ओलीलाई सामान्य आरोप लगाईरहँदा केपी ओलीले भने भित्तैमा पुग्नेगरी जवाफ फर्काउने गरेका थिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले नेपाललाई गरेका कतिपय आरोप गालीगलौजकै स्तरका हुने गर्छन । नालायक, निकम्मा, पनौतीलगायत यस्ता कति हो कति गाली सामान्य लाग्न थालिसकेका छन् । नेता नेपालले पनि ओलीलाई तल्लोस्तरकै गाली गर्ने गरेका थुप्रै उदाहरण छँदैछन् । एमालेकै नेताहरूले समेत यी दुई नेताबीच लामो कटुता भएकै कारण एकले अर्कोलाई तथानाम भन्नेगरेको बताउँछन् । काम गर्दै जाँदा दुई नेताबीच भएका असमझदारी एकातिर भएपनि पारिवारिक रूपमा आरोप प्रत्यारोपमा उत्रिएको घटना भने थिएन ।

तर अहिले ओली र नेपालको आरोप प्रत्यारोप पारिवारिक तहसम्म पुगेको छ । ओली पत्नी राधिका शाक्यले नेता नेपालमाथि गम्भीर आरोप लगाएकी छन् । ओलीमाथि नेपालले अपराध नै अपराध गरेको उनले बताएकी छन् । ओलीपत्नी शाक्यले लेखेको ‘मेरा अनुभूति’ नामक पुस्तकमा नेपालले ओलीमाथि कतिसम्म गरे भनेर लेखेकी छन् । हालै सार्वजनिक भएको शाक्यले पुस्तकमा ‘बैंककमा बिताएका त्रासद दिनहरु’ उपशीर्षक राखेर माधव नेपालबारे लेखेकी छन् ।

‘माधव नेपाल, जसको सधैँभरि पार्टीको उपल्लो स्थानमा रहेर आफ्ना आसेपासेलाई सधैँ अवसर दिने र अलिकति मात्र असहमति जनाउनेलाई जिन्दगीभर उठ्न नदिने प्रवृत्ति थियो । आफूलाई प्रधानमन्त्री बन्न, टिकाउन र महासचिव बनाउन ठूलो सहयोग गर्ने साथीप्रतिको उहाँको व्यवहार हेर्दा र भनाइहरू सुन्दा मात्र पनि दिक्क लाग्छ । उहाँकै एकल महासचिवको पार्टी ब्युरोक्रेसीले चाकरी गर्नेलाई अवसर दिलाउन र फरक मत राख्नेलाई बोल्न समेत प्रतिबन्ध लगाउने गरेको थियो’ उनले लेखेकी छन् ।

यस्तो छ शाक्यले लेखेको ‘बैंककमा बिताएका त्रासद् दिनहरू’ उपशीर्षक

थाइल्याण्डको राजधानी बैंकक हाम्रो लागि नयाँ ठाउँ होइन । २०५२ साल साउनको अन्त्यमा पहिलो पटक उपचारकै लागि हामी बैंककको समितिभेज अस्पताल गएका थियौँ । त्यहाँ चार पाँच दिन उपचार गराएर फर्केका थियौँ । त्यसपछि २०६४ साउनमा उहाँको मिर्गौला प्रत्यारोपण गर्नुअघि पनि एक दुई पटक बैंकक जाने क्रममा बुमरुङगार्ड अस्पताल गएर सामान्य चेकअप गराएका थियौँ । तर यसपल्ट २०७१ वैशाखमा अचानक बैंककको बुमरुङगार्ड अस्पताल पुग्नु पर्यो, त्यो पनि एयर एम्बुलेन्सबाट करिब अर्धचेत अवस्थामा उहाँलाई लिएर ।

२०७० मंसीरको चुनाब हुनु अगाडिदेखि नै उहाँको हातको छाला र औँलाहरू अलि अलि सुनिएजस्तो, छाला कालो भएजस्तो लक्षणहरू देखापरेका थिए । तर,चुनाबको चपेटाले गर्दा खासै ध्यान दिन सकिएन । चुनाबपछि २०७० फागुनमा टोखास्थित ग्राण्डी अस्पतालमा चेकअपको लागि जाने क्रममा भर्ना नै गरियो । यहाँ १०–१२ दिनको उपचारपछि घर आएर पुनः हामी लगत्तै दिल्लीको साकेतस्थित म्याक्सअस्पतालमा भर्ना भयौँ त्यहाँ एकमहिना लामो अस्पताल बसाईपछि बाहिर आएर थप दुई हप्ता दिल्ली बसेर २०७१ वैशाख ४ गते बुधबार तदनुसार १६ अप्रिल २०१४ मा मात्र नेपाल फर्केका थियौँ ।

काठमाडौँ एयरपोर्टमा नेता,कार्यकर्ता,परिवार, शुभचिन्तकको ठूलो समूहले स्वागत गरेका थिए । घर पुगेदेखि उही खालको भेटघाटको सिलसिला चलिहाल्यो । केही आराम मिल्ला कि भनेर दुई दिन गोकर्ण रिसोर्ट पनि गएर बस्यौँ । तर अर्को हप्ताको बिहिबार बेलुकादेखि उहाँलाई साह्रै टाउको दुख्यो, अनि लगातार वान्ता भयो । भोलिपल्ट डाक्टर ऋषि काफ्ले हाम्रो घरमै आएर जाँच गर्नुभयो । डा. काफ्लेले डिहाइड्रेसन छ, दुई तीन वटा स्लाइन चढाएपछि ठिक हुन्छ भनेर जानुभयो । दुई जना स्वास्थ्यकर्मी आएर स्लाइन चढाइयो र उपचार सुरु पनि भयो । तर बेलुका सम्ममा पनि कुनै सुधार देखिएन । राति फेरि डाक्टर दिलिप र डाक्टर कैलाश र अरु पनि आएर हेर्नुभयो । उहाँहरूले स्लाइन थप्दै लैजानुभयो । तर टाउको दुखाइ र वान्ता रोकिएन । यसरी शुक्रबारदेखि आइतबारसम्म घरमा राखेर उपचार गर्दा पनि सुधार नदेखिएपछि डा.ऋषि काफ्ले, डा. दिव्या सिंह, डा. मुकुन्द सबैको सुझाब अनुसार आइतबार राति त्रिवि शिक्षण अस्पताल लगियो ।

अस्पताल पुगेपछि राति नै सीटीस्क्यान र ढाडबाट पानी निकाल्ने र अन्य परीक्षण सुरु गरियो । ती परीक्षणहरूमध्ये ढाडबाट निकालिएको पानीको जाँचबाट उहाँलाई क्रिप्टोकोर्स मेनेन्जाइटिक्स् भनेर चिनिने कडा रोग लागेको छ भन्ने पत्ता लाग्यो र रातिबाट नै उपचार सुरु गरियो । एमआरआई पनि गरी हेरियो । अरु रिपोर्टस् नराम्रो थिएन । यसरी फेरि अर्को कडा खालको अर्थात्बढी जोखिमयुक्त रोगले उहाँलाई दुःख दियो । टिचिङ अस्पतालमै रोग पत्ता लगाई उपचार सुरु भएको भए पनि अन्त्यमा उहाँलाई बैंककको वुङरुङगार्ड अस्पताल लाने निर्णय गरी एयर एम्बुलेन्स बोलाइयो । यस्तो निर्णय गर्नुमा मूलतः अस्पतालमा भेट्न आउनेको भीड, अस्पतालभित्र हुने फोहोरी राजनीति र उहाँको जटिल रोगहरूको कारणलाई ध्यानमा राखिएको थियो ।

डाक्टरहरू, नेपाल सरकार र नेकपा (एमाले) का प्रतिनिधिबीच गहन छलफल गरी जोखिम न्युनीकरणका लागि बैंकक लाने निर्णय भएको थियो । सोही निर्णय अनुसार २०७१ वैशाख १७ गते टिचिङ अस्पतालबाट सिधै एयरपोर्ट पुर्याएर एयर एम्बुलेन्सबाट बैंकक लगिएको थियो । जहाजमा उतैबाट आएका तीनजना स्वास्थ्यकर्मी र यताबाट बिरामीसहित डा. दिव्या सिंह शाह र राजेश वज्राचार्य गएका थिए । तीन घन्टाको हवाई यात्रापछि उहाँलाई अस्पताल पुर्याएर भर्ना गरियो । त्यस रात राजेश उहाँको साथमै बसे र डा. दिव्या सिंह शाह नेपाली दूतावासमा गएर सुत्नुभयो । जहाजमा केपीजीले जापानिज खाना सुसी खानुभएको थियो रे ।

उहाँलाई बिदा गरेर बैंकक पठाइसकेपछि टिचिङ अस्पतालको डिस्चार्ज पेपर बनाउने, भुक्तानी गर्ने लगायत सबै काम गरी म घर बालकोट फर्कें । अनि बैंककमा नेपाली दूतावासका डीसीएम डोरनाथजीको सम्पर्कमा रहेँ । बिरामी उता त्यस्तो अवस्थामा हुनुहुन्छ, म यता घरमै छु । यस्तो परिस्थितिमा मन एकदम भारी भएर आयो । घर पुगेपछि कसैले नदेख्ने गरी एक छिन त रोएँ । रातभर सुत्न सकिनँ । पछि आफैँ सम्हालिएँ । भोलिपल्ट बैकंक जाने तयारी गरेँ ।

१८ गते बिहान पनि डोरनाथजीसँग सम्पर्क गरी स्थितिको जानकारी लिएँ । पछि राजेशले मोबाइलमा उताको सिमकार्ड राखेँ भनेर फोन गरे । फोनमा कुरा गर्दा ऊ अलि बढी अत्तालिएको छ जस्तो लाग्यो । उसको बोल्ने तरिकाले म झन् छट्पटिएँ, पानीबाट निकालेर बगरको तातोमा पछारिएको माछा झैँ । तर के गर्नु टाढा छ । त्यसपछि इन्द्र, शीतललाई बैंककमा सम्पर्क गर्ने फोन नम्बर दिएर म एयरपोर्टको लागि घरबाट निस्किएँ । मलाई एयरपोर्टसम्म पुर्याउन गएका इन्द्र भण्डारी, लोकबहादुर भण्डारी, र किसान श्रेष्ठ अनि त्यहीँ भेटिएका सुभाष, यादव खनाल र नवराज ढकालसँग बसेर चिया खाएँ । चिया खाँदै गर्दा पनि मेरो मन छट्पटीले उतै दौडिएको थियो । एयरपोर्टबाट उडानका सबै प्रक्रिया टीजीकै एक जना नेपाली स्टाफले पूरा गरिदिएका थिए ।

काठमाडौंको एयरपोर्टभित्र टीजीको बिजनेस क्लासको लागि एउटा भव्यलन्ज र रेष्टुरेन्ट रहेछ । आफूमा पैदा भएको बेचैनी र छटपटीले, यो मैले पछि मात्र याद गरेँ । पहिलो पटक नेपालको एयरपोर्टभित्र पनि यस्तो स्थान देख्न पाएको थिएँ । जहाज अवतरण हुने समयमा ठूलो पानी पर्नाले बोर्डिङ पास केही ढिलो भयो । अन्त्यमा दिउँसोदुई बजेतिर जहाज उड्यो । जहाजको यात्रा अवधिभर मनमा अनेकौँ शङ्का र डर बोकेर बसिरहेँ । बैंकक पुगेर एयरपोर्टका सबै प्रक्रिया पूरा गरेर सिधै अस्पताल गएँ । म अस्पताल पुग्दासाँझको ७ बजिसकेको थियो । हतपत उहाँलाई राखिएको कोठा नम्बर ११११ मा पसेँ र उहाँलाई हेरेँ । म आइपुगेँ भनेर जानकारी दिन खोजेँ । तर उहाँ अर्धचेत अवस्थामा हुनुहुन्थ्यो । कोठामा डा. दिव्या सिंह, सुरज र जेनी थिए । उहाँको स्थिति राम्रो छ जस्तो लागेन ।

आखिर जे भए पनि सहनु बाहेक मेरो सामु अरु बिकल्प थिएन । यसैबीच डा. दिव्या सिंह शनिबार बिहान नेपाल फर्कने कुरा भयो । अनि मलाई लाग्यो कि त्यहाँका डाक्टरहरूसँग कुरा गर्नका लागि भए पनि हाम्रो साथमा एकजना नेपाली डाक्टर हुनुपर्छ । यो अनुभव मैले पहिले पनि गरिसकेकी थिएँ । त्यसैले मैले डा.दिलिपलाई शुक्रबार नै बैंकक बोलाएँ । राति मलाई खान र सुत्न सुरजको घरमा बोलाइएको थियो । उहाँको स्थिति नाजुक भएकोले म गइनँ । बरु आफू रातभर बसेँ र राजेशलाई सुत्न दिएँ ।

अस्पताल बसुञ्जेल मेरो र राजेशको बास अस्पतालको सोफामै भयो । राति एक दुई बजेसम्म एक जना सुत्ने अर्कोले कुर्ने, अनि बिहानसम्म अर्को सुत्ने गरेर हामीले समय मिलाएका थियौँ । एक हप्ता जति पछि मेरो र राजेशको स्वास्थ्यलाई ध्यानमा राखेर रातको लागि एकजनानर्सको व्यवस्था गर्न लगाएँ । ती नर्स यस अस्पतालको स्टाफ थिइनन् । सुरुको अवस्थामा त्यहाँका डाक्टरहरूले केपीजीको बाँच्ने सम्भावना २० प्रतिशत मात्र छ भनेका थिए । हुन पनि अस्पतालमा हुँदा समेत धेरै दिनसम्म उहाँलाई टाउको दुख्न निको भएन । उहाँको टाउको दुखेका बेला हामीलाई हेर्न र सहन समेत निकै गाह्रो हुन्थ्यो । तर,त्यो पीडादायी दृश्य हेर्नु पर्ने बाध्यता थियो । एक पटक उहाँको ढाडबाट पानी निकाल्दा दुखेर उहाँ जोडजोडले कराउनुभो । त्यसबेला मेरो छाती नै फुट्ला जस्तो भयो । सायद,पानी निकाल्ने डाक्टर अलि नयाँ थिए कि ? नत्र त्यति साह्रो कराएको मलाई कहिल्यै अनुभव छैन । उहाँ अर्धचेत अवस्थामै हुनुहुन्थ्यो । अनि अस्पतालका कोठाको भित्तामा झुण्ड्याइएका तस्बिरहरू हेरेर तिनीहरूलाई बामदेव गौतम, विष्णु पौडेल आदिको तस्बिर भन्नुहुन्थ्यो । यसरी स्मरणशक्ति पनि हराएको थियो । यस स्थितिमा एक हिसाबले उहाँको आश मैले गुमाइसकेकी थिएँ ।

यसरी मानसिक र शारीरिक दुबै हिसाबले तनावको स्थिति भोग्न बाध्य भइरहेकै बेला अर्को एउटा तनाव आइलाग्यो । मे चार तारिख आइतबारको दिन म सुरजको घरमा खाना खाएर अस्पताल जान निस्किएकी थिएँ । आइतबार भएको हुनाले त्यहाँ ट्याक्सी धेरै आउँदैनन् । अलिपरसम्म गएर टयाक्सी लिउँला भनेर घरबाट अलि पर पुगेकी थिएँ । यत्तिकैमा दुईजना मान्छेले मोटरबाइक हुइँक्याएर ल्याए । उनीहरू ठक्कर देलान् जसरी आइरहेका थिए । त्यसरी आफूतिर हुइँक्याएर आएको देखेपछि म अलि परतिर सरेर बसेँ । सडकको किनारतिर सर्न लाग्दालाग्दै फुत्त मेरो ब्याग खोसेर दुई वटा मोटरबाइक त्यहाँबाट भागे । नम्बर हेर्न त खोजेँ । तर आँखाले भ्याएन । म अक्क न बक्क भएँ । ब्यागमा मेरो सम्पूर्ण पैसा, गहना, मोबाइल, पासपोर्ट, चस्मा आदि थिए ।

म सधैँ जहाँ पनि प्राइभेट गाडीमा हिँड्ने भएर ब्याग सुरक्षित ढंगले बोक्नुपर्छ भन्ने ख्यालै भएन । दोस्रो,बैंककमा दिउँसै लुटिन्छ भन्ने सोच्नै सकिन । तेस्रो, श्रीमानको हालतले गर्दा मेरो होस ठेगानामा थिएन कि जस्तो पनि लाग्छ । जेहोस्, जिन्दगीमा पहिलो पटक धेरै सम्पत्ति गुमाउनु पर्यो । यसरी बाटोमा लुटिएपछि मैले जेनी र सुरजलाई घटनाको जानकारी गराएँ । पछि सुरज, दिनेश, निता र सुनील घटनास्थल आइपुगे र रिपोर्ट दिन भनेर पुलिस स्टेसन पुगे । थाइ भाषा जान्ने निताले सबै विवरण सहित निवेदन दिइन् । भोलिपल्ट पनि म एक चोटि पुलिस स्टेसन गएँ । तर सामान फिर्ता आउने सम्भावना देखिएन । यसरी दुःखमाथि दुःख बेहोर्नु पर्यो । तर मैले यो कुराको जानकारी केपीजीलाई दिइन ।

हामी अस्पतालको स्वीट रुममा बसेको हुनाले खान,बस्न,आराम गर्न नुहाइधुवाइ गर्न समस्या थिएन । अस्पतालमा नर्सिङ सेवा धेरै राम्रो थियो । सरसफाइ शिष्टता पनि त्यस्तै राम्रो थियो । आवश्यक सामग्रीहरू पानी, जुस, चिया, कफी, टावेल आदि मनग्य छन् । खाना तताउने ओभन, पानी उमाल्ने भाँडो, खाना खाने प्लेट, चम्चा, कचौरा आदि सबै छन् । नाम मात्र अस्पताल, सुविधा सबै स्टार होटलको भन्दा कम छैन । मे ६ तारिखको साँझ दूतावासका डीसीएम डोरनाथजी आएर औपचारिक रूपमा डाक्टरसँग कुरा गर्नुभयो ।

डाक्टरले अहिलेको लागि खतरामुक्त छ भनेर रिपोर्ट गरे । यसपछि अलि आशा पलायो । तर पनि कहिलेकाहीँ एक्लै हुँदा बिरामी कुर्न गाह्रो छ । बेडबाट खस्ने, लड्ने हो कि भनेर सधैँ सतर्क हुनु जरुरी छ । उहाँले ७ मे को बिहान उठेर ट्वाइलेटमै गएर दिसा, पिसाब गर्नुभयो । सायद दुई महिनापछि चियरमा बसेर भए पनि नुहाउनुभयो । बाथरुमदेखि सोफासम्म वाकरको सहायताले हिँडेर जान्छु भन्नुभयो । खाना पनि अलि खानुभयो । ६ मे मा वान्ता पनि भएन । ५ मे मा ढाडबाट निकालिएको पानीमा इन्फेक्सन छैन भनेर खबर आयो । अस्पतालमा भेट्न आउने साथीभाइहरू नेपालका नेता, कर्मचारी आदिको बारेमा आपसमा खुलेर गफ गर्छन् । हामीले कुरा नगरे पनि समय बिताउन सजिलो नै थियो ।

मे ८ तारिखको बिहान काँग्रेस पार्टीकी नेता मैयाँदेवी श्रेष्ठ र उहाँका सहयोगीहरू केपीजीलाई भेट्न आउनुभयो । श्रेष्ठजी स्वयं महिनाको एक पटक फलोअपको लागि यहाँ आउने गर्नुहुँदो रहेछ । उहाँले यो राम्रो अस्पताल हो, अस्ति नै केपीजीलाई यहाँ ल्याउनु पर्ने भनेर कराउनुभयो । तपाईंले नेपालमा धेरै गर्नु छ, तपाईं साँच्चैको नेता हुनुहुन्छ भनेर बूढी मान्छे भावुक हुनुभयो । उहाँको साथमा अरु तीन जना सहयोगीहरू थिए । आज पनि केपीजीको अवस्था राम्रै रह्यो । नुहाउने, खाने राम्रो भएको छ ।

आज थाइल्याण्डमा प्रधानमन्त्रीलाई अपदस्थ गरी सैनिक शासन लागू गरेको हुनाले बाहिरी वातावरण अलि तनावपूर्ण होला । तर नेपालमा जस्तो उथलपुथलको स्थिति यहाँ भएको सुनिएन । मे ९ तारिखको बिहानै डा. दिलिप नेपाल फर्किनुभयो । उहाँको ठाउँमा डा. धर्मकान्त बास्कोटा दिल्ली हुँदै बैंकक आउनुभयो । तर आज खाना खाएपछि केपीजीले वान्ता गर्नुभयो । त्यसले उहाँलाई झन् शिथिल बनायो । साँझ, हिमालय किचनबाट एक जना नेपालीले खानामा मम र रोटी लिएर आउनुभयो । उहाँ पहिले पनि भन्ते बौद्ध भिक्षुको रूपमा बैंकक आउनुभएको रहेछ । आज राति एक बजेदेखि बिहान सवा ५ बजेसम्म म बिरामीकै कोठामा बसेँ । उहाँले मलाई ‘तिमी यहीँ बस म सुत्न सक्दिनँ’ भन्नुभएको थियो । फेरि तिमीलाई धेरै दुःख भयो भनेर चिन्ता पनि गर्नुभयो ।

यता उचपार खर्च सरकारले दिने निर्णय भए पनि आजसम्म कुनै रकम नपठाउँदा ठूलो तनाव भइरहेको थियो । एयर एम्बुलेन्सको समेत भुक्तानी भएको छैन । यसैबीच इन्फेक्सन्स् हेर्ने फिजिसियन डाक्टर बिहानै आउनुभयो । हिजोेको रिपोर्ट राम्रो छ भन्नुभयो । यहाँ आएदेखि तीन पल्ट ढाडबाट पानी निकालेर गर्ने टेस्ट गरिसकेको छ । फेरि घरीघरी म आँखा देख्दिन भन्नुहुन्छ । त्यसैले आँखाको चेकअपको लागि सम्बन्धित विभागमा लगियो ।

हामी बसेको भवन १२ तल्लाको छ । ११ औँ तल्लामा मात्र ५३ वटा कोठाहरू छन् । यसैबेला मेरो ब्याग लुटिएको खवर सुनिल खड्काले प्रचार गरेर नेपालभरि सनसनी फैलिएको कुरा बहिनीले फोनमा बताइन् । मेरो ब्याग लुटिएको कुरालाई सरकारबाट पैसा लिने निहुँ बनाएको भनेर प्रचार गरिएको रहेछ । हाम्रो इमान्दारिता र स्वच्छतालाई नबुझेको र अर्कैथरी प्रचार गरिएकोमा दुःख लाग्यो । यस खालको ताडना सहन निकै गाह्रो हुँदो रहेछ । मन बुझाउनै सकिन, त्यसै आँखा रसाए ।

१७–१८ दिनपछि आज बिहानदेखि उहाँलाई राम्रो भएको छ । पटक पटक खाना खाने, आफैँले दिसा धुने पनि गर्नुभयो । सबैभन्दा खुसीको कुरा त आज मलाई मेरो नामबाट नै बोलाउनुभयो । उहाँ सधैँ मलाई नानी भनेर बोलाउनुहुन्थ्यो । तर मलाई आज ‘राधिका कटनवर्ड देउ त’ भन्नुभयो । आज उहाँको टाउको, काँध, शरीर केही पनि दुखेको छैन । यता रगत जाँचको रिपोर्ट पनि हिजोको तुलनामा राम्रो आयो । मुलतः उहाँलाई मिर्गौला विशेषज्ञ नसा रोग विशेषज्ञ, जनरल फिजिसियन, चिनीरोग विशेषज्ञ, संक्रामक रोग विशेषज्ञ र रिह्याविलिटेसन विशेषज्ञ आदिले जाँच गर्नुहुन्थ्यो ।

१२ मे मा पनि स्थिति हिजोको जस्तै राम्रो छ । व्यायाम पनि गर्नुभयो । गीत, गजल सुनेर आनन्द लिनुभयो । आज डा. बास्कोटा नेपाल फर्किनुभयो । अब को आउनुहुन्छ थाहा छैन । बिहानदेखि रातिसम्मका औषधिहरू हेर्छु अत्यास लाग्छ । यति धेरै औषधि खानु पर्छ । आज साँझबाटै मुखको पाइप पनि हटाइयो । यसले गर्दा खान, बस्न अलि सजिलो भयो । यता नेपाल सरकारले केही रकम जम्मा गर्यो रे भन्ने खबर पनि आयो । अमेरिका बस्ने राजेन्द्र ओलीको साथी भनेर राजु सुवेदी भेट्न आउनुभयो । अनि राति डा. शक्ति बस्नेत पनि आउनुभयो । विष्णु पौडेलजीले फोन गर्नुभयो ।

आज बिहान माधव नेपाल बिरामी भएर अस्पताल भर्ना भएको खबर सुनेँ । उहाँको नाममा एउटा पत्र लेखेर शीघ्र स्वास्थ्यलाभको कामना गरी पत्र पोस्ट गरेँ । त्यस पत्रमा मैले जानीजानी नै म संसदीय दलका नेता केपी शर्मा ओली भनेर लेखेकी थिएँ । त्यस पत्रबारे नेपालमा खुब टिप्पणी भयो रे भन्ने सुनेकी थिएँ

१३ मे थाइल्याण्डमा वैशाख‘डे’को सार्वजनिक बिदा रहेछ । यसैको अवसरमा नेपाली दूतावासले साँझ पटायामा कार्यक्रम राखेको रहेछ । आज उहाँले पहिलो पल्ट बालकोटमा निर्माणाधीन घरको छत ढलानमा वाटरप्रुफ राखेको छ कि छैन भनेर मसँग सोध्नुभयो । यसको अर्थ उहाँको स्मरणशक्ति बढ्दै छ । मोबाइलबाट नेपाल सम्बन्धी केही समाचार सुन्नुभयो । कोठामा भएका किताबबाट कथाहरू पनि पढ्नुभयो । राति ड्युटीमा आएकी एक जना नर्स अलि बढी चकचके र गफाडी रहिछन् । राति १२ देखि एक बजेसम्म ब्रेक टाइम भनेर उनी बाहिर गइन् । २८ वर्षकी ती नर्सले फिलिपिन्समा तीनवर्ष र ताइवानमा दुईवर्ष काम गरिसकेँ भनिन् । उनको चञ्चले स्वभाव र एक घन्टा ब्रेक टाइमले गर्दा आजको रात म सुत्न पाइन । मे १४ तारिखमा नेपालमा बुद्ध जयन्तिको सार्वजनिक बिदा थियो । सबै काम, कुरा राम्ररी नै चलिरहेको थियो ।

यसैबेला न्युरोको डाक्टर आउनुभयो । चेकअप गर्नुभयो । तर उहाँले जाने बेलामा केपीजी नेपाल फर्किदा लठ्ठी टेकेर जान सक्नुहुन्छ भन्नुभयो । मिर्गौलाको अर्काे डाक्टर आएर सुत्दा मुख खोलेर सुत्ने र घुर्ने बानीले उहाँको दिमाग र मिर्गौलालाई नराम्रो हुन्छ भन्नुभयो । त्यसपछि उहाँ गम्भीर हुनुभयो । अलि चिन्ता लिएको जस्तो लाग्यो । अनि मैले यस्तो हुँदैन भनेर सम्झाएँ । यी डाक्टरहरूलाई तपाईंको स्वभाव, इच्छाशक्ति र दायित्वबारे थाहा छैन, उनीहरूले त साधारण व्यक्तिहरूसरह कुरा गरे भनेँ । त्यसैले चिन्ता लिनु आवश्यक छैन । नेपाल फर्कदा तपाईं बलियो भइसक्नुहुन्छ भनेर मैले धेरैबेर सम्झाएँ ।

यता नेपालबाट बामदेवजीका भाइ बासु गौतम आफ्ना छोराको उपचारका लागि यही अस्पताल आएको खवर सुनेँ र राति नै उहाँको कोठा पत्ता लगाएर भेट्न गएँ । उहाँहरू ८४० नम्बरको कोठामा हुनुहुँदो रहेछ । बिरामी प्रवेश गौतम र आन्टीलाई भेटेँ । बासुजी कोठा खोज्न जानुभएको रहेछ, भेट भएन । १५ मे को दिन अन्तर्राष्ट्रिय खबरमा टर्कीमा माइन बिस्फोट भएर दुई सय जनाभन्दा बढीको मृत्यु भएको र नाइजेरियामा बोकोहराम भन्ने समूहले स्कूलका दुई सय जना केटीहरू अपहरण गरेर लगेको आदि सुनेँ । आज बिहान माधव नेपाल बिरामी भएर अस्पताल भर्ना भएको खबर सुनेँ । उहाँको नाममा एउटा पत्र लेखेर शीघ्र स्वास्थ्यलाभको कामना गरी पत्र पोस्ट गरेँ । त्यस पत्रमा मैले जानीजानी नै म संसदीय दलका नेता केपी शर्मा ओली भनेर लेखेकी थिएँ । त्यस पत्रबारे नेपालमा खुब टिप्पणी भयो रे भन्ने सुनेकी थिएँ ।

वैशाख ‘डे’को उपलक्ष्यमा नेपालबाट १७ जनाको टोली भियतनाम गएको र फर्किने क्रममा बैंकक पनि घुम्ने भनेर आएका थिए । ती मध्ये मेरो माइती पाटनका नारायण अवाले, (११ नं वडा अध्यक्ष) बाबुकाजी र गोपाल महर्जन हामीसँग भेट्न जेनीसँग अस्पताल आएका थिए । अस्ति मात्र आर्मी पाइलटको तालिममा आएका दुईजना पनि भेट्न आएका थिए । हिजो अस्तिदेखि दिनको दुई पल्ट फिजियोथेरापीको लागि ‘उहाँलाई एम–फ्लोर’मा लाने गरिएको छ । भोलिदेखि मुख्य रोग मेनेन्जाइटिसको झोल औषधि खुवाउन बन्द गरी अरु औषधि दिने कुरा डाक्टरले भन्नुभयो । यसको मतलव स्लाइनको लागि राखिएको पाइप हट्ने भयो । यो पनि खुसीको खबर हो ।

उता कोरियाबाट फर्किने क्रममा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र मुकुन्द ढुंगेल डोरनाथजीसँग अस्पताल आउनुभयो । उहाँले मन्त्रीसँग अलि लामो कुराकानी गर्नुभयो । त्यसैबेला मिर्गौलाको डाक्टर आएर मंगलबार डिस्चार्ज हुनसक्ने खबर दिए । ती डाक्टरसँगै डायबिटिजको डाक्टर पनि आएकी थिइन् । उनले केपीजीलाई घर जान चाहन्छौ भनेर सोधिन् । यता बामदेवजीका भाइ बासु गौतम र हरि पराजुलीका भाइ पनि भेट्न आउनुभयो । १७ मेमा मुख्य औषधि बन्द गरियो । यो औषधिको साइडइफेक्टले मिर्गौलालाई असर गर्छ रे भन्छन् । तर, बिस्तारै केपीजी तङ्ग्रिँदै जानुभयो । अब त खाना पनि आफैँ खानुहुन्छ । आज फेरि फिलिपिन्सबाट फर्किने क्रममा ऊर्जामन्त्री राधा ज्ञवालीजी भेट्न आउनुभयो ।

१८ मेको दिन बिहान७ बजेदेखि दिउँसो एक बजेसम्म म आफ्नै सामान्य स्वास्थ्य परीक्षणका लागि व्यस्त भएँ । साँझ मैले टाउको अलि भारी छ भनेपछि उहाँले चिन्ता गर्नुभयो । अनि उहाँलाई सान्त्वना दिन पनि मैले आफू फ्रेस भएको देखाउनु पर्यो । धेरै लामो समयको अस्पताल बसाइ र चिन्ताले गर्दा अलि बिसञ्चो होला कि भन्ने डर मनमा त थियो नै । १९ मेको दिन डा. शक्ति बस्नेत आएर किड्नी फाउण्डेसनको तर्फबाट शीघ्र स्वास्थ्यलाभको फ्रेम सहितको पत्र दिएर जानुभयो । उहाँले हिजो ‘विकेन मार्केट’ जाँदा मोबाइल हराएको कुरा गर्नुभयो । आज मैले उहाँको क्यानेला राखेको ठाउँमा ड्रेसिङ् गरिदिएँ । यस्तैमा एकाउन्ट युनिटका एक जना स्टाफ आएर पैसा धेरै बाँकी देखियो, केही भए पनि आजै जम्मा गरिदिनु भनेर गए । त्यसपछि मैले दूतावासमा फोन गरेर यो जानकारी दिएँ । यता दिनको दुई पल्टको फिजियोथेरापीले उहाँलाई राम्रो हुँदै गइरहेको थियो । आजदेखि रातिको ड्युटीमा थाई नर्स नै आइन् । फिलिपिनो नर्ससँग व्यवस्थापनको केही समस्या पर्योजस्तो लाग्छ । फिलिपिनोहरू खर्च कम गर्न शहरी क्षेत्रभन्दा टाढा बस्ने गर्दछन् रे भन्ने सुनेकी थिएँ ।

२० मे मङ्गलबार डाक्टरको भनाइ अनुसार डिस्चार्ज हुन सक्ने दिन थियो । तर हामीले शुक्रबार मात्र जान चाह्यौँ । कारण फिजियोथेरापीको कोर्ष बाँकी थियो । अस्पतालबाट बाहिर गएपछि आउजाउ गर्न गाह्रो हुन्छ । विविध कारणले म आज बढी तनावमा परेँ । एक त अस्पतालको असजिलो दिनचर्या, दोस्रो नेपालको राजनीति त्यसमा पनि आफ्नै पार्टी भित्रको अस्वस्थ र दुष्टतापूर्ण चरित्र । उता अस्पतालको रकम भुक्तानीको समस्या ।

मेरो ब्याग लुटिएको कुरालाई सरकारबाट पैसा लिने निहुँ बनाएको भनेर प्रचार गरिएको रहेछ । हाम्रो इमान्दारिता र स्वच्छतालाई नबुझेको र अर्कैथरी प्रचार गरिएकोमा दुःख लाग्यो । यस खालको ताडना सहन निकै गाह्रो हुँदो रहेछ । मन बुझाउनै सकिन, त्यसै आँखा रसाए ।

नेपाल टेलिभिजनको आजको एउटा अन्तरवार्तामा एमालेका नेता जगन्नाथ खतिवडाको कुरा सुनेँ । उनले केपी ओली मर्न मात्र बाँकी भएको, तुरुन्तै मरिहाल्ने, महाधिवेशनमा यस्तालाई नेतृत्व दिनु हुँदैन आदि आदि कुरा गरेर पार्टीका कार्यकर्तालाई माधव नेपालतिर आउन भनेका रहेछन् । केपीजीको स्वास्थ्यलाई लिएर भइरहेको राजनीति देख्दा मलाई साह्रै दुःख लाग्यो । माधव नेपाल, जसको सधैँभरिपार्टीको उपल्लो स्थानमा रहेर आफ्ना आसेपासेलाई सधैँ अवसर दिने र अलिकति मात्र असहमति जनाउनेलाई जिन्दगीभर उठ्न नदिने प्रवृत्ति थियो । आफूलाई प्रधानमन्त्री बन्न, टिकाउन र महासचिव बनाउन ठूलो सहयोग गर्ने साथीप्रतिको उहाँको व्यवहार हेर्दा र भनाइहरू सुन्दा मात्र पनि दिक्क लाग्छ । उहाँकै एकल महासचिवको पार्टी ब्युरोक्रेसीले चाकरी गर्नेलाई अवसर दिलाउन र फरक मत राख्नेलाई बोल्न समेत प्रतिबन्ध लगाउने गथ्र्याे । यसरी तेस्रो कार्यकालसम्म पार्टीको नेतृत्व गर्नुभएका उहाँ एक पटक पनि पार्टीको नेतृत्व नगर्नुभएका केपीजीमाथि महाधिवेशनको मुखमा स्वास्थ्यजस्तो संवेदनशील विषयमा पनि आक्रमणमा उत्रनुभयो । यसबाट दुःखी हुनु बाहेक के गर्न सकिन्छ र ?

राष्ट्र बैंकका पूर्व कर्मचारी भाइकाजी श्रेष्ठ र म्याडम आजै भेट्न आउनुभएको थियो । म्याडमको पनि एपोइन्टमेन्ट रहेछ । उहाँले छोराको उपचार पनि यहीँ गरेको भन्नुभयो । २२ मेको दिन दिउँसो१२ बजेदेखि एक बजेसम्म केपीजीले अन्नपूर्ण पोष्टका लागि दिल्लीमै बसेर अन्तरवार्ता दिनुभयो । राति १० बजेदेखि बिहान ५ बजेसम्म बैंककमा कफ्र्यू थियो । यसले म्याक डोनाल्डसम्म बन्द भयो । राति डा. गोपाल सिवाकोटी पनि भेट्न आउनु भएको थियो । फोनमा माधव ढुंगेलसँग नेपालमा कुरा गरेँ । केपीजीले गृहमन्त्री बामदेव गौतमजीसँग कुरा गर्नुभयो । २३ मे, आज केपीजीको डिस्चार्ज हुने दिन । मनमा एक प्रकारको खुसी छाएको छ । अर्कोतर्फ डर पनि छ । उपचारका क्रममा लागेको सबै रकम भुक्तानीबिना डिस्चार्ज हुँदैन भनेकोले हिजोदेखि नै प्रयास भइराखेको थियो । भुक्तानी सम्बन्धी दिनभरको तनावपछि बल्ल डिस्चार्ज भयो ।

अस्पतालबाट डिस्चार्ज भएर बाहिर आउँदा साँझको साढे ६ भइसकेको थियो । त्यसपछि हामी नेपाली दूतावास सुकुमबिट रोडसोइ ७१ मा आयौँ । यहाँ पनि चैनसँग बस्न नदिनेहरू निस्किए । अस्पतालमै थप समय बस्नुपर्छ भनेर जिद्दी गर्नेहरू पनि निस्किए । हामी आफ्नो निर्णय आफैँ गर्ने भन्दा पनि अरुको इच्छा अनुसार चल्नुपर्ने जस्तो भयो । यसले मलाई बिथोलिरहेको थियो । दूतावास पुगेर केपीजीलाई अलिकति खानेकुरा दिएर अगाडिको जस्कोमा गएर केही खानेकुरा किनेर ल्याएँ । हतार हतार गरी दाल,भात तरकारी पकाएँ, ख्वाएँ र खाएँ । कोठाभरि छरिएका सामानहरू मिलाएँ । औषधिको काम राजेशले गरे । अन्त्यमा रातको १२ बजेपछि सुतेँ । तर उहाँलाई ट्वाइलेट लानको लागि छिनछिनमा उठिरहनु पर्छ ।

जसोतसो समय बितिरहेको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि नियमित रूपमा तीनदेखि ६ घन्टासम्म फिजियोथेरापीको समय छ । यसरी अस्पताल जाँदा र फर्कदा पनि व्यवधान गरेर समय नष्ट गर्ने मानिसहरू नभएको होइन । यस्तो व्यवधान हुन्छ भनेर नै कोही साथीहरूले फलोअप सकेपछि बैंककदेखि अलि टाढा गएर बस्ने कि भन्ने कुरा चलाएका थिए । तर विविध कारणले हामीले जाने इच्छा गरेनौँ ।

शुक्रबार डिस्चार्ज भएर फर्केपछि आज बुधबार बिहानसाढे ९ बजे अस्पताल पुगेँ । रगत जचाउन दिएँ । मिर्गौलाका डाक्टर सिरासँगको अपोइन्टमेन्ट दिउँसो पौने १२ बजे मात्र भएकोले अस्पतालमै बसिरहेँ । डा. सिरासँग जचाइसकेपछि फेरि अस्पताल भर्ना हुनुपर्ने भनियो । पोटासियम ६ दशमलव ५, क्रेटिना २ दशमलव १ र ड्रगलेभल १२ देखिएकाले भर्ना हुनु परेको हो । डक्टरका अनुसार पोटासियम बढी भएमा मुटुलाई धेरै जोखिम हुन्छ । बिरामी मर्न पनि सक्छ भनेर डाक्टरले डर देखाए । त्यसपछि सीसीयुमा भर्ना गर्न बेडको खोजी भयो । त्यहाँ नपाएर आइसीयुमा लगेर राखियो । उता अस्पतालको लेखा शाखामा जाँदा तत्कालै दुई लाख भाट जम्मा गर्नुपर्छ भन्यो । हामीले उक्त रकम जम्मा गर्न सकेनौँ । तर, नेपाली दूतावासबाट आएको भनेर भर्ना ग¥यो । भर्नापछि उहाँलाई आइसीयुको ५२६ नम्बर कोठामा राखेर हामीले फूडकोर्टमा गएर अलिकति खानेकुरा खायौँ ।

त्यसपछि म दूतावास फर्कें । कोठाका छरपस्ट सामान मिलाएँ । फोनबाट उहाँको अवस्थाबारे जानकारी पनि लिँदै गएँ । अर्कोतर्फ मैले फेरि पैसा खोज्नुपर्ने भयो । साँझको रिपोर्टमा सुधार आएको हुनाले उहाँलाई राति पहिलेकै कोठा ११११ ‘ए’मा सार्ने कुरा भएछ । म फेरि अस्पताल गएँ । राजेश र म अस्पतालकै सोफामा सुत्यौँ । भोलिपल्ट डा. सिरा र डा. इन्फेक्सनरी आएर जाँचेपछि आजै डिस्चार्ज हुने भयो । डिस्चार्ज नभएको भए हामी तनावमै हुन्थ्यौँ । एक दिनको मात्र शुल्क भएकोले पैसा पनि पुग्यो । यसरी २९ मे तदनुसार १५ जेठ २०७१ को गणतन्त्र दिवसका दिन राति फेरि हामी दूतावास आएर बस्यौँ । धेरै थकानले गर्दा दूतावासको कार्यक्रममा जान पनि सकिएन । ३० मे को बिहान फेरि अस्पताल गएर उहाँको रगत जचाइयोे । आजको रिपोर्टमा पोटासियमको मात्रा ५ दशमलव २ आयो । यसपछि उहाँले तीन दिन फलफूल खान बन्द गर्नुभयो । पोटासियम कम हुने खानाको चयन गरी खान दिएँ । यसपल्ट उहाँलाई पोटासियम वृद्धिले सतायो । अस्ति दिल्लीमा पोटासियम नपुग्ने समस्याले सताएको थियो । त्यसपछि हामी ३१ मे र १ जुनमा फिजियोथेरापीको लागि अस्पताल गयौँ । दुई जुनमा फेरि परीक्षण गरायौँ । आजको रिपोर्ट अलि राम्रो आएको हुनाले धेरै दिनपछि हामीले आनन्दले स्वाद लिएर खाना खायौँ ।

यसरी ठूलो सङ्कट पार गरी २० जेठ २०७१ को दिन हामी बैंककबाट काठमाडौंँ फक्र्याैं । फर्कदा काठमाडौंको विमानस्थलमा धेरै साथीभाइ र आफन्तहरूले स्वागत गरेका थिए । घर फर्केपछि त्यही साँझ झलनाथजी र विष्णु पौडेलजी भेट्न घरमा आउनुभयो । विष्णुजीले मेरो साहस र धैर्यताको प्रशंसा गर्नुभयो । भोलिपल्ट मैले काठमाडौंमै उहाँको रगत जचाएँ । रिपोर्टमा के ५ दशमलव ६ देखियो । उहाँले राति पेट र छाती दुख्यो भन्नुभयो । राति डाक्टर दिलिप शर्मालाई लिन पठाएँ । उहाँ आएर हेरेपछि रातको तीन बजेतिर केपीजी निदाउनुभयो । सोमबार डा. दिव्या आएर जाँच गर्नुभयो ।

धेरै दिनपछि २६ जेठ २०७१ को दिन काठमाडौंको कार्यकर्ता भेलालाई सम्बोधन गर्न जाने भनेर उहाँले दौरासुरुवाल, कोट र टोपी लगाउन खोज्नुभयो । यसबेला मेरा आँखाबाट हर्षका आँशु बग्नथाले । मलाई उहाँले यसरी दौरा सुरुवाल लगाउन पाउनु होला जस्तो लागेको थिएन । पछि २०७३/०७४ सालतिर उहाँको हर्नियाको अपरेसन गर्न उही बुमरुङगार्ड अस्पताल बैंककमा चार पाँच दिन बसेका थियौँ । उक्त समयमा एउटा औषधि समयमा खान छोड्दा मुटुको चाल बढेर एक दुई घन्टा थप समय ‘अपरेसन पोस्टवार्ड’मा बस्नु परेको थियो ।

(शाक्यको पुस्तकभित्र ‘बैंककमा बिताएका त्रासद् दिनहरू’ उपशीर्षकको अंश)