प्रधानमन्त्रीले सबैसँग सम्बन्ध सुधार्नुको यस्तो रहेछ रहस्य - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रधानमन्त्रीले सबैसँग सम्बन्ध सुधार्नुको यस्तो रहेछ रहस्य



काठमाडौं । सबैसँग कडा रुपमा प्रस्तुत हुने र आफ्नो विरोध गरेको सहनै नसक्ने छवि बनाएका प्रधानमन्‍त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा आफ्नो राजनीतिक शैली परिवर्तन गर्न खोजेका छन् ।

कसैले विरोध गरे ओली त्यसको प्रतिकारमा कडा रुपमा प्रस्तुत भइहाल्थे । त्यसैले धेरैले उनको पार्टी भित्र आलोचना पनि गर्न सक्थेनन् । तर, उनको उक्त स्वभावमा एकाएक परिवर्तन आएको छ । उनले विग्रिएका सम्बन्धलाई पनि सुधार्न खोजिरहेका छन् ।

उनलाई पौने २ वर्ष एक्लै हिँडेको आरोप पनि लाग्यो । अहिले एक महिना यता भने प्रधानमन्‍त्री ओली पार्टी निर्णयबाट चल्ने अभ्यास गर्दै छन् ।

पार्टी एकीकरण टुंगिने बेला उनले शीर्ष नेतासँगको सम्बन्ध सुधार र पार्टी निर्णयलाई महत्व दिन थालेको देखिन्छ ।

प्रधानमन्त्री ओलीको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सम्बन्ध सुमधुर छ । पार्टी एकिकरण भएपछि बेला-बेला बाहिर थुप्रै अपबाह फैलिए पनि उनीहरूको सम्बन्ध बिग्रीएको बाहिर कहिले देखिएन । उनीहरू आपसी समझदारीमै अगाडि बढिरहेका छन् ।

वरिष्ठ नेता झलनाथ खनालको वरीयताक्रम उकासेर र वामदेव गौतमलाई उपाध्यक्ष प्रस्ताव गरेर ओलीले ति दुवै नेतासँगको सम्बन्ध पनि सुधारे । बरियता झारेपछि माधव कुमार नेपालसँग भने उनको सम्बन्ध चिसियो । नेपालले पार्टीका तीन बैठकका निर्णयमा असहमती जनाउँदै नोटअफ डिसेन्ट नै लेखे ।

कात्तिक साता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलायर ओलीले नेता नेपालसँग एक्लाएक्लै बसेर सल्लाह गर्दै उनीसँगको दूरी पनि घटाए । केही दिन पहिले आफ्नो सचिवालयका केही कर्मचारी हेरफेर गरेका ओली मन्त्रिमण्डल हेरफेर गर्ने मुडमा छन् । बालुवाटार स्रोतका अनुसार उनी मन्त्रिमण्डलमा पनि सन्तुलन मिलाउने सोचमा छन् ।

मिर्गौला रोग बल्झिएपछि पछिल्लो समय निकै अस्वस्थ छन् । त्यसका बाबजुद पनि उनको सक्रियता भने घटेको छैन । उनले अब आफ्नो कार्यकालमा केही सम्झन योग्य काम गर्ने मुड बनाएको स्रोतको बुझाई छ । स्वास्थयकै कारण उनले सबैसँग मिलेर जान खोजेको पार्टीको बुझाई । स्वास्थ्यकै कारण उनले राजनीतिक शैली फेरेको र सबैसँग मिलेर जान खोजेको बताइएको छ ।