ओली सरकारले गरेको भ्रष्टाचार छानबिन गर्ने तयारी, अध्यादेश पनि खारेज - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

ओली सरकारले गरेको भ्रष्टाचार छानबिन गर्ने तयारी, अध्यादेश पनि खारेज



काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेको भ्रष्टाचार छानिबन गर्न समिति बनाउन पनि पाँच दलबीच सहमति जुटेको छ । यस्तै ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश खारेज गर्नेबारे समेत छलफल भएको छ ।

बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रि परिषद कार्यालय सिंहदरबारमा बसेको पाँन्च दलको बैठकले यस्तो सहमती जुटाएको हो । पछिल्लो सरकारले ल्याएको अध्यादेश बदर गर्ने र भ्रष्टाचार छानबिन गर्ने लगायतका विषयमा सत्ता पक्षीय गठबन्धन दलबीच छलफल भएको कांग्रेसका एक नेताले बताए।

‘ओली सरकारमा भ्रष्टाचार भएको कुराहरू बाहिर आएका छन्। समिति बनाएर छानबिन गर्ने कुरा भएको छ,’ उनले भने ‘पछिल्लो सरकारले संसद छलेर ल्याएको अध्यादेशहरू बारे कुराकानी भएको छ,’ ती नेताले भने,‘ती अध्यादेशहरूलाई कसरी बदर गर्ने विषयमा छलफल भएको छ।’

यसैगरी साझा न्यूनतम कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नुपर्नेमा पाँच दलले जोड दिएको छ। मन्त्रिपरिषद विस्तारका लागि कार्यदललाई जिम्मा लगाउने नेताहरूबीच सहमति बनेको छ। ‘मन्त्रिपरिषद विस्तारबारे सामान्य छलफल भएको छ,’ ती नेताले भने,‘मन्त्रालय टुंग्याउन कार्यदललाई जिम्मा दिने कुरा भएको छ।’

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका वर्षमान पुन, जसपाका राजेन्द्र श्रेष्ठलगायतका नेता सम्मलित कार्यदललाई मन्त्रालय बाँडफाँटको जिम्मेवारी दिइएको उनले बताए।

उनले एमाले (माधव समूह) बाट यसअघि भीम रावल कार्यदलमा रहे पनि अब कसलाई पठाइने यसबारे प्रष्ट नरहेको जानकारी दिए। गठबन्धनमा सहभागी भए पनि राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने प्रष्ट पारिसकेको छ।

प्रधानमन्त्रीको सपथग्रहण गरिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा सहभागी सबै दलबाट २ /२ जनालाई सहभागी गराएर मन्त्रिपरिषद बनाउन खोजेका थिए।

त्यसअनुसार कांग्रेस र माओवादी केन्द्रले २ / २ जनालाई सरकारमा पठाए पनि जसपा र माधव समूहले सरकारमा कसैलाई पठाएन।

जसपाले निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता विवाद निरूपण भइसकेपछि मात्र सरकारमा सहभागी हुने निर्णय गरेको छ भने माधव समूहले हालसम्म आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड,’ जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष नेत्रविक्रम सिंह र एमाले माधव पक्षका नेता विजय पौडेल सहभागी भएका थिए।