ओलीले भने: जनदबाब कम भएपछि अमेरिकासँग फेरि एसपीपी सम्झौता हुन्छ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ओलीले भने: जनदबाब कम भएपछि अमेरिकासँग फेरि एसपीपी सम्झौता हुन्छ



नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसपीपी सम्झौता केही समयका लागि स्थगित गरेको बताएका छन् । उनले एसपीपीको नयाँ ड्राफ्ट बनाएर सम्झौता गर्नुपर्ने बताए ।

अब बनाउने नयाँ ड्राफ्ट जनतालाई देखाउन सरकारलाई सुझाव समेत दिए । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले जनताबाट ठूलो दबाब आएकाले केही समयका लागि मात्रै स्थगित गरेको भन्दै नयाँ ड्राफ्ट ल्याएको सम्झौता गरिने बताए ।

उनले जन दबाबको भेललाई शान्त पार्न स्थगित गरेको भनेपनि दबाब क्रमशः घट्दै गएपछि पुनः एसपीपी सम्झौता हुने दाबी उनले गरे । अध्यक्ष ओलीले नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै आफूले फिर्ता गराएको गफ दिएर राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा ढाँट्ने काम गरिरहेको बताए ।

उनले अध्यक्ष दाहालले केपी ओलीको कार्यकालमा एसपीपी ल्याएको भन्ने कुरा फट्याइँ बाहेक अरू नभएको बताए ।

उनले आफू प्रधानमन्त्री हुँदा र आफूलाई जानकारी गराएर कुनै एसपीपी सम्झौतामा हस्ताक्षर नगरेको भन्दै अब पनि यो नरोकिने बताए । उनले तत्कालीन प्रधानमन्त्री एवं रक्षामन्त्री सुशील कोईरालाको पालामा पहिलोपटक एसपीपीको सदस्य हुन पत्र लेखेको र दोस्रो पटक २०७४ सालमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा पत्र लेखेको बताए ।

अध्यक्ष ओलीले निर्वाचन आयोगकी निर्वाचन आयुक्त ईश्वरी पौडेलले गठबन्धन र काँग्रेसी पल्टिएर केपी ओलीले एसपीपीमा हस्ताक्षर गरेको भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै आरोप प्रमाणित गर्न चेतावनी दिए ।

अध्यक्ष ओलीले अमेरिकी राजदूतावासले आफू प्रधानमन्त्री हुनु पूर्व नै पत्र पठाइएको भन्ने सत्यता बोल्न आग्रह गरे । उनले टिपेक्स लगाएर र हातले नखेलेको वास्तविक पत्र जनतालाई देखाउन पनि सरकारलाई चुनौती दिए ।