अन्तिम समयमा ओलीले देउवालाई दिएको 'सरप्राइज' - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

अन्तिम समयमा ओलीले देउवालाई दिएको ‘सरप्राइज’



लगातारको प्रयासपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले यसपटक भने सफलता प्राप्त गरेका छन् । चुनाव अगाडीसम्म पनि गठबन्धन तोड्ने प्रयासहरू उनले नगरेका होइनन् तर यो पटक भने कांग्रेस सभापति शेरबहादुर देउवालाई सरप्राइज दिन उनी सफल भए

निर्वाचनमा ८९ सिटसहित प्रतिनिधिसभाको ठूलो दल बनेको नेपाली कांग्रेसलाई नै प्रतिपक्ष कित्तामा पुर्‍याउने गरी नेकपा एमालेका अध्यक्ष ओलीले देउवालाई मात्रै होइन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत सरप्राइज दिए ।

ओलीले चालेको कदमलबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका छन्। सत्ताकै कारण तत्कालीन नेकपा फुटाएको दुई वर्षपछि फेरि यी दुई नेता फुटबलको टाइ ब्रेकरमा जस्तै अन्तिम अवस्थामा एकै ठाउँ आइपुगेका छन्।

२०७८ असार २९ मा बालुवाटार छाडेर बालकोट जाँदादेखि एक्लिएका ओलीले अन्तत: सत्ता खेलमा नेपाली कांग्रेस र उसका सभापति शेरबहादुर देउवालाई एक्लै पारेका छन्।

यस्तो अवस्थामा ८९ सांसदसहितको कांग्रेस र १० सांसदसहितको नेकपा एकीकृत समाजवादी एक्लिएका छन्।

संसदको ठूलो दल कांग्रेस अब संघदेखि प्रदेशसम्म प्रतिपक्षमा हुनेछ। गठबन्धनको सदस्य दल राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टी पनि प्रतिपक्षमा रहने भएका छन्।

उता माधव नेपाल नेतृत्वको समाजवादी भने अझै अनिर्णित छ। उसको आइतवार बसेको सचिवालय बैठकले पर्ख र हेरको नीति लिएको छ। मंसिर १० को चुनावमा राष्ट्रिय पार्टीसमेत हुन नसकेको समाजवादीलाई गठबन्धन टुट्दा अझै ठूलो धक्का लागेको छ।

सत्ता गठबन्धन छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बनेपछि समाजवादीलाई संकट परेको हो।

यस्तो अवस्थामा समाजवादीमा अलमल देखिएको हो। गठबन्धन फुटेपछि आइतवार बसेको केन्द्रीय सचिवालयको ४४ औँ बैठकले तत्काललाई कुनै निर्णय नलिने जनाएको छ।

पार्टी महासचिव बेदुराम भुसालका अनुसार अध्यक्ष नेपालको अध्यक्षतामा बसेको बैठकले अकाष्मतविकसित घटनालाई लिएर उचित निर्णय लिने भएको हो।

‘बैठकमा अकस्मात्विकसित राजनीतिक घटनाक्रमबारे गम्भीरतापूर्वक छलफल भयो’, महासचिव भुसालले भनेका छन्, ‘परिस्थितिको सूक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरियो।’

प्रतिनिधिसभा विघटन गर्दा दुई वर्षसम्म प्रतिगामीको उपनाम पाएर घेराबन्दी खेपेका ओलीले आइतवारदेखि कांग्रेसलाई एक्लो प्रतिपक्षी बन्ने अवस्थामा पुर्‍याइदिएका छन्।

यस्तो अवस्थामा अब ओलीसँग दुई वर्षसम्म पानी बाराबारको राजनीति गरेका प्रचण्ड अब कम्तीमा दुई वर्षसम्म प्रधानमन्त्री हुनेछन्।

उनलाई आइतवार राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गरिएको हो।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वातन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले समर्थन गरेका छन्।

यी सात दलको सांसद संख्या १६६ पुगेको छ। बहुमतको सरकार बनाउन १३८ सांसद भए पुग्छ।

त्यसैगरी प्रचण्डको पक्षमा स्वतन्त्र सांसदहरु प्रभु साह, किरण साह र डा. अमरेश सिंह पनि उभिएका छन्। यीमध्ये धेरैले शीतल निवास पुगेरै प्रचण्डलाई समर्थन गरे।