माओवादीका ३० बढी प्रभावशाली नेता एमाले प्रवेश गराउँदै ओली - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

माओवादीका ३० बढी प्रभावशाली नेता एमाले प्रवेश गराउँदै ओली



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादीका २ दर्जन भन्दा बढी नेताहरूलाई नेकपा एमालेमा प्रवेश गराउने तयारी गरेका छन् । माओवादीका अध्यक्ष प्रचण्डलाइ चक्मा दिँदै उनले माओवादीका प्रभावशाली नेताहरूलाई एमाले प्रवेश गराउने भएका हुन् ।

सर्वोच्च अदालतले पार्टी एकता खारेज गरेर पूर्ववत अवस्थामा फर्काएकै समयमा प्रचण्डका केहि प्रभावशाली नेताहरूलाई एमाले बनाएर प्रचण्डलाई झट्का दिएका ओलीले फेरी अर्को ठुलो झट्का दिने तयारी थालेको बालुवाटार स्रोतको दाबी छ ।

माओवादीका २ दर्जन बढी नेताहरु एमालेमा प्रवेश गर्ने तयारीमा रहेको प्रधानमन्त्री ओलीले आफू निकटस्थलाई ब्रिफिङ गरिसकेका छन् । यो हल्लाले खुमलटारमा भने ठुलो झट्का लागेको छ ।

मन्त्रीसमेत बनेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी, दाबा लामा एमालेमा प्रवेश गरिसकेका छन् । माओवादीले कारवाही गरेपछि प्रधानमन्त्री ओलीले उनीहरुलाई पुनः मन्त्री बनाएका छन् ।

त्यतिमात्र होइन पाँचथरका पुराना माओवादी नेता एवं पूर्वराज्यमन्त्री श्रीप्रसाद जबेगू एमालेमा प्रवेश गरेका छन् । ताप्लेजुङका माओवादी नेता एवं प्रदेश सांसद टंकबहादुर आङबुहाङ एमालेमा प्रवेश गरेर प्रदेश १ को अर्थमन्त्री बनेका छन् ।

प्रदेश २ बाट पनि माओवादीका चारजना प्रदेशसभा सदस्यहरु एमालेमा प्रवेश गरेका छन् । माओवादीले चारैजनालाई सांसदबाट कारवाही गरेको छ । प्रदेश २ मा माओवादीका ११ सांसद रहेकोमा अब ७ जना बाँकी छन् । लुम्बिनी प्रदेशमा पनि माओवादीका दुईजना सांसदहरु एमालेमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री ओलीनिकट स्रोत ३० भन्दा बढी माओवादी नेताहरुको लिस्ट नै ओलीले तयार पारेर बसेको दाबी गर्छ । उनीहरूलाई एमाले प्रवेश गराउने तयारी ओलीले गरेका छन् ।