ओलीको उपचार- नेपालमा गर्नै नहुने र सिङ्गापुर जानैपर्ने किन ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

ओलीको उपचार- नेपालमा गर्नै नहुने र सिङ्गापुर जानैपर्ने किन ?



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सिङ्गापुर जाँदैछन । उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि सिंगापुर जान लागेको बताइएको छ ।

ओली यस अघि पनि पटक पटक स्वास्थ्य जाँचको लागि जाने गरेका छन् । केही दिन अघि गंगालाल अस्पतालको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू बिरामी भएको पनि जनाएका थिए ।

१२ वर्ष अघि दिल्लीको अपलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका ओलीको समय–समयमा स्वास्थ्य समस्या देखिने गरेको छ ।

उनलाई उनका चिकित्सकहरुले संक्रमण हुने खतरा रहेका कारण भिडभाड तथा कार्यक्रममा समेत सचेत बन्न सुझाव दिने गरेका छन् । त्यतिमात्र होइन उनलाई हात नमिलाउन समेत आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीको सिंगापुरमा १० दिनसम्म रहने उनी निकट स्रोतले बताएको छ । यसअघि उनले नेपालमै पनि स्वास्थ्य जांच नगरेका भने होइनन । उनले त्रिवि शिक्षण अस्पताल गतवर्ष ५ दिनसम्म उपचार गराएका थिए । त्यतिबेला उनि संक्रमण बढेकोले अस्वस्थ भएरै उनि अस्पताल भर्ना भएका थिए ।

गत कात्तिकमा नेपालकै अस्पतालमा भर्ना भएर उपचार गरेका प्रधानमन्त्री ओली अहिले भने स्वास्थ्य परीक्षणका लागि विदेश जाने तयारी गर्दैछन् ।

नेपालमै उपचार गराउंदा ५ दिनको उनको उपचार खर्च ३६ हजार मात्र निस्केको बिषयले निकै चर्चा भएको धेरै भएको छैन । त्यो बिषयले चर्चा मात्र पाएन एउटा उधाराहर बनेको थियो । त्यसको केहि महिना अगाडी बनेको जनस्वास्थ्य ऐनले पनि नेपालमै उपचार गराउन प्रोत्साहन गरेको थियो ।

नेपालकै अस्पतालमा उपचार गराएर प्रफुल्ल भएका प्रधानमन्त्री ओलीले थाइल्याण्डमा उपचार गर्दाका केहि अनुभव समेत चिकित्सकलाई सुनाएका थिए । त्यहाँ भएका अनावस्यक खर्चको बारेमा पनि उनले सुनाएका थिए ।

त्यतिबेला जस्तो यो पटक स्वास्थ्यमा कुनै जटिलता नभएको चिकित्सकले बताइरहेका छन् । यस्तो अवस्थामा उनले परिक्षणकै लागि मात्र सिङ्गापुर जाने भएकाले केहि टिका टिप्पणी समेत गरिएको छ ।

चिकित्सकहरूका अनुसार प्रधानमन्त्री ओली अहिले सिङ्गापुर जानुपर्ने कुनै अवस्था छैन । अहिलेको परिक्षण नेपालमै पनि सामान्य छ । त्यो माथि विदेशमा जानैपर्ने त्यस्तो कुनै समस्या छैन भने यसको अर्थ अरु नै पनि हुनसक्छ ।