खड्ग प्रसादको भारतीय भुत : प्रचण्ड कि कुशासन ? - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

खड्ग प्रसादको भारतीय भुत : प्रचण्ड कि कुशासन ?



-मधु ज्ञवाली-

संसद्मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को झण्डै दुई तिहाइ बहुमत छ । आफ्नै पार्टीको स्पष्ट एकल बहुमतका साथ केपी शर्मा ओलीले देशको नेतृत्व गरिरहनु भएको छ ।

हामी सामान्य जनताले बुझ्ने भनेको के हो भने संसद्मा जुन दलको बहुमत हुन्छ वा जुन दलको नेताले बहुमत सांसदको मत प्राप्त गर्छ उ नै देशको प्रधानमन्त्री बन्छ र उसलाई प्रधानमन्त्रीबाट हटाउनु परेमा पनि बहुमत सांसदहरूले उसको विपक्षमा मत प्रकट गर्नुपर्ने हुन्छ तब मात्र उ प्रधानमन्त्रीबाट हट्न सक्छ ।

अचम्मको कुरा केहिदिन अघि प्रधानमन्त्रीले काठमाण्डौमा भएको स्वर्गीय मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारतको पुरै राज्य संयन्त्र र देश भित्रका केही शक्तिहरू लागेको बताए । त्यति मात्र होइन प्रधानमन्त्रीले मलाई हटाउने कुरा उनीहरूले सपनामा पनि नसोचे पनि हुन्छ … लगायतका धेरै भाषणबाजी गरेको हामी सबैले पढ्यौँ, सुन्यौँ ।

एउटा सार्वभौमसत्ता सम्पन्न देशको संसद्मा आफ्नो पार्टीको एकल बहुमत छ र सोही पार्टीको अध्यक्ष समेत भएको व्यक्ति देशको प्रधानमन्त्री हुनुहुन्छ । यस्तो बलियो सरकारको प्रधानमन्त्रीले कूटनीतिक मर्यादाको कुनै वास्तै नगरी सस्तो लोकप्रियताको लागि भारतको नामै किटेर गैर जिम्मेवार अभिव्यक्ति दिनु अत्यन्तै गम्भीर विषय थियो । यस्ता गैर जिम्मेवार अभिव्यक्तिले दुई देशबिचको सम्बन्धमा चिसोपन त आउँछ नै यसले राष्ट्रलाई बलियो हैन अप्ठ्यारो परिस्थिति तिर धकेल्न थप बल पुग्दछ ।

विगतलाई फर्केर हेर्ने हो भने जब जब पार्टी सत्ता र राज्यसत्तामा आफू अप्ठ्यारोमा परिन्छ आफ्नो सरकार भ्रष्टाचार, अनियमितता र कुशासनले डुङडुङती गनाउन थाल्छ तब तब खड्ग प्रसाद अनेकन् मनगणन्ते कुरा निकालेर भारतविरुद्ध खनिएको नाटक गर्छन् र चारैतिरबाट उम्किने प्रयत्न गर्छन् । अहिलेको अभिव्यक्ति पनि त्यसैको निरन्तरता सिवाय केही होइन ।

उ बेला पहिलो पटक प्रधानमन्त्री बनेर सत्ताबाट बाहिरिनु पर्दा पनि पचण्डलाई भारतले बनाएको प्रधानमन्त्री, लम्पसारवादी, अराष्ट्रिय तत्त्व भन्दै अनेकन् लाञ्छना लगाउँदै तुच्छ गाली गलौज गरेकै हुन । उनी आफू बाहेक कसैलाई गतिलो देख्नै नसक्ने एक अहङ्कारी शासक पनि हुन । उनले आफू इतर रहेर बोल्ने फरक बिचार राख्ने पार्टीभित्र वा बाहिर रहेका जो कसैसँग गर्ने बोली र व्यवहार अत्यन्त निम्नस्तरको र तुच्छ हुने गर्छ । यो कुरा उनको विगत र वर्तमानलाई हेर्ने हो भने प्रस्ट हुन्छ ।

वर्तमान अवस्थालाई हेर्ने हो भने उनी पार्टीको स्थायी कमिटी र सचिवालय दुबैमा अल्पमतमा छन् उनको नेतृत्वमा रहेको सरकार र उनका विश्वासपात्रहरू भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेका छन्, निरन्तरका आश्वासन र उनका उखान-टुक्काबाट जनता निराश मात्र होइन उनीप्रति आक्रान्त छन् । पार्टीका फोरमहरूमा निरन्तर उनको कार्यशैलीको आलोचना गर्दै राजीनामा मागिएको छ । यी र यस्तै कुराहरूबाट बच्न उनी अनेकन् उटपट्याङ कुरा गरेर राष्ट्रियताको नाममा जनताको सेन्टिमेन्ट बटुलेर आफ्नो कुशासनलाई निरन्तरता दिने दुष्प्रयास गरिरहेका छन् यसप्रति सबै सचेत हुनु जरुरी छ ।

सत्य कुरा के हो भने पछिल्लो समय नेपाल-भारत सिमाना नेपाल तर्फको जमिनमा भारतले यही वैशाख २६ गते मोटरबाटो उद्घाटन गरेको थियो र सो अतिक्रमणको विरुद्धमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरू एक ठाउँमा छन् । नेपालको परिमार्जित नयाँ नक्सा सिङ्गो संसद्ले एकमत भएर पारित गरेको छ । यो कामको नेतृत्व गरेकोमा वर्तमान सरकार र विशेष गरी प्रधानमन्त्रीलाई सबैले साथ सहयोग र धन्यवाद दिएकै छन् । तर, कुरा के छ भने यो सीमा विवाद हुनुभन्दा अगाडि (वैशाख २६ भन्दा अघि) नै नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री वलीको राजीनामा मागिएको थियो ।

त्यसैले माथिका सबै विषयवस्तुलाई सूक्ष्म अध्ययन र विश्लेषण गर्दा उनी आफ्नै पार्टीका विभिन्न फोरमहरूमा अल्पमतमा परेको र पचण्डले पार्टी एकीकरणका बेला भएको आलो पालोको विषय पुनः उठाउन सक्ने भयले त्रसित छन् र भारतलाई दोष दिएर पुनः एक पटक आफ्नै पार्टीको (प्रचण्ड लाई सङ्केत गर्दै) नेताहरूलाई भारतीय शक्ति करार गर्दै आफू घोर राष्ट्रवादी देखिने दुष्प्रयास गर्दैछन् ।

मैले बुझे अनुसार खड्ग प्रसादले भन्ने गरेको सरकार ढाल्ने भारत प्रचण्ड, माधव कुमार वा भारत कोही हैनन् हो त उनको सरकारका मन्त्रीहरूले गरेको भ्रष्टाचार, अनियमितता, उनको क्षुद्र बोली र उनको कुशासन हो ।

वर्तमान अवस्थामा नेपालको सार्वभौमसत्ता सम्पन्न संसद्ले बाहेक अरू कसैले नेपालको प्रधानमन्त्री हटाउन सक्दैन त्यो संसद्मा नेकपाको स्पष्ट बहुमत छ । प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेको व्यक्तिले गैर जिम्मेवार, बेतुकका कुरा गरेर राष्ट्रियता जस्तो संवेदनशील कुरामा जनताको सेन्टिमेन्ट माथि नखेलौँ ।

अहिले सरकार परिवर्तन गर्ने बेला होइन अहिलेको अवस्था भनेको ओलीको विकल्पमा सुध्रिएको ओली हुन, भ्रष्टाचारीको संरक्षक ओली होइन सदाचारी ओली हुन, अहङ्कारी ओली हैन शालीन र सभ्य ओली हुन त्यसैले अब सत्तामा रहने, प्रतिपक्षमा रहने र हामी सबै आम जनताले ओली सरकार हटाएर अर्को सरकार बनाउने भन्ने मानसिकता त्यागौं, यही सरकारलाई जिम्मेवार बनाउने तिर लागौं ।

अबका दिनमा पनि प्रधानमन्त्री नसुध्रिने हो, शालीन र सभ्य रूपमा प्रस्तुत नहुने हो भने यो व्यवस्थाविरुद्ध स्वतन्त्र जनविद्रोह सुरु हुन्छ त्यति बेला न दुई तिहाइ वाला रहन्छन् न एक तिहाइ वाला रहन्छन् । त्यो विद्रोहले नयाँ नेता जन्माउनेछ त्यसैले देशको नेतृत्व गर्नेछ ।