एमालेसँग एक्लै लड्ने आँट कसैको छैन भन्ने विश्वले विश्लेषण गर्‍यो: केपी ओली - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एमालेसँग एक्लै लड्ने आँट कसैको छैन भन्ने विश्वले विश्लेषण गर्‍यो: केपी ओली



नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनबाट प्राप्त सिट तलमाथि भए पनि मुलुकमा एमाले नै ठूलो पार्टी भएको बताएका छन्।

एमाले मोरङले शुक्रबार विराटनगरस्थित कञ्चनजंगा ब्याङ्केटमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेविरुद्ध एक्लै चुनाव लड्ने आँट कसैको पनि नभएको विश्लेषण विपक्षी र विश्वले नै गरेको बताए। ‘एमालेविरुद्ध सबै दलले धूरा कसेर चुनाव लडे। तर पनि प्रतिस्पर्धा गर्नसक्ने असाधारण क्षमता एमालेसँग रहेको चुनावबाट पुष्टि भयो,’ उनले भने, ‘केही सिट तलमाथि भए पनि एमाले नै पहिलो पार्टी हो। प्राप्त भएको लोकप्रिय मतले एमालेसँग कसैले पनि सक्दैनन् भन्ने विश्लेषण धेरै कोणबाट भएको छ।’

गठबन्धनले प्राप्त गरेको मत एउटा दलको मात्रै नभएको उनको कथन छ। ‘गठबन्धनको भोट एउटा दलको मात्रै हैन। त्यो थालमा जुठा गाँसहरु पनि परेका छन्। एमालेले आफ्नै भोट पाएको हो,’ ओलीले भने। गठबन्धन टुटफुट भएर चुनावमा जाँदा धुलोपिठो हुने उनले जिकिर गरे।

‘बहुदलीय र लोकतान्त्रिक संसदीय प्रणालीमा सबै दलहरु एकातिर हुँदा पनि एमाले एक्लैले चुनाव लडेको दुनियाले देखेको छ। एउटा शक्तिविरुद्ध सबै धूरा पसेर लड्ने युद्धको नियम कही छैन। कायरले मात्रै त्यसो गर्छन्,’ ओलीले भने, ‘अहिले गठबन्धन एकातिर र जनता एकातिर गरेर मुलुकमा दुईवटा शक्ति बनेका छन्। गठबन्धन फुटेमा त्यसमा रहेका दलहरु सकिन्छन्। त्यही भएकाले गठबन्धन टुटाउन उनीहरु चाहँदैनन्।’ उनले अन्य दलसँग तुलना नै गर्न नसक्ने गरी एमाले मजबुत भएको पनि बताए।

ओलीले फुटाउनेभन्दा पनि गठबन्धनलाई एकमुष्ठ हराउनेबाहेक अर्को विकल्प नभएको पनि बताए। ‘समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यमा पुग्नु छ। राष्ट्रियता र सुशासनका लागि लड्नु छ। एमाले मुलुक बनाउने कुरामा प्रतिस्पर्धा गर्छ,’ उनले भने, ‘एमालेले त्यो सामर्थ्य देखाएको छ। हामी आगामी तयारीमा पनि जुटिसकेका छौँ। देश बचाउने र विकासको अभियान चलाउने नायकका रूपमा एमाले स्थापित भइसकेको छ।’ उनले उच्च मनोवलका साथ आगामी चुनावको तयारीमा जुट्न कार्यकर्तालाई दिर्नेशन दिए।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै उनले कांग्रेसलाई एमालेको हालत बनाइदिने भनेर धम्की दिएको बताए। ‘कोही नेताले गरेको भाषण सुनियो। यसो नाप्दा त उचाई एमालेको कम्मरकम्मर पनि छैन। मुस्किलले घुँडासम्मको उचाइ रहेछ,’ अध्यक्ष ओलीले प्रचण्डप्रति ब्यंग्य गर्दै भने, ‘एमाले जत्तिको भएको भए त झन् के गर्थे होलान्? मान्छे कुट्दै हिँड्थे। पहिले त मारेका पनि हुन्।’

प्रचण्डले हालै एक सार्वजनिक कार्यक्रममा कांग्रेसमा दम्भ देखिए एमालेकोजस्तो हालत बनाउने चेतावनी दिएका थिए। ओलीले भने, ‘आफ्नो हालत र हैसियत के छ भनेर पत्तो नपाउनेले एमालेसँग जोडेर यस्तो धाक लगाएछन्।’ उनले अरु पार्टीसँग एमालेको तुलनै हुन नसक्ने बताए।

आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्‍याउने भाषण अर्थमन्त्रीले गर्नु हावादारी कुरा भएको ओलीको टिप्पणी छ। ‘यो हावादारी कुराभन्दा अरु केही हैन। अर्थशास्त्रीलाई सोध्दा थाहा भइहाल्छ,’ उनले भने, ‘अर्थमन्त्रीजस्तो व्यक्तिलाई यस्तो कुरा थाहा हुनुपर्ने हो। असम्भव कुरा कहाँबाट आयो थाहा छैन।’

आफूले चुनावको मिति तोकेर संसद विघटन गर्दासमेत प्रतिगमन भनिएको भन्दै ओलीले शेरबहादुर देउवाले संसद विघटन गरेर चुनाव नगराउँदा चैँ प्रतिगमन भएको बताए। ‘शेरबहादुर देउवाले संसद विघटन गरेर चुनाव नगराउँदा चैँ प्रतिगमन भएकै हो। शेरबहादुरजी त संसद विघटन गरेर ज्ञानेन्द्रको पाउमा परिसक्नु भएको थियो,’ उनले भने, ‘हामीले आन्दोलन गरेर त्यसलाई बचायौँ। संसदीय व्यवस्था कायम गर्न सक्यौं।’

उनले प्रतिगमन भन्ने शब्द सुनेर चुप नलाग्न कार्यकर्तालाई निर्देशनसमेत दिए। प्रतिगमन भन्ने शब्द सुनेर चुप नलाग्न र औंला उठाएर प्रतिवाद गर्न उनले निर्देशन दिए। ‘आवधिक निर्वाचन कही प्रतिगमन हुन्छ?’ उनले प्रश्न गरे, ‘प्रतिगमन भनेको कुरा सुनेर चुप लाग्ने होइन, नाकमा औंलो ठड्याएर प्रतिगमन के हो भनेर सोध्नुपर्छ।’

देउवाले संसद भंग गरी तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई सत्ता हस्तान्तरण गर्ने प्रक्रिया र तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले पहिलो संविधानसभा भंग गर्नु प्रतिगमन भएको ओलीको आरोप छ। ‘हामीले त निर्वाचनको मिति तोकेर संसद भंग गरेको हो। त्यसलाई प्रतिगमन भन्न मिल्दैन,’ उनले भने, ‘अहिलेकोजस्तो सरकार नरहोस भनेर सुदृढ सरकारका लागि संसद भंग गरिएको हो। लोकतन्त्रमा ताजा जनादेशका लागि निर्वाचन भइरहन्छ।’

मजबुत, जनआधारित र देश बचाउने पार्टी एमाले नै भएको उनको भनाइ छ। पार्टीको नीति र निर्देशनलाई मानेर उत्साह एवं आत्मसातका साथ जनभावनाअनुसार अघि बढ्न उनले एमालेका जनप्रतिनिधिलाई आग्रह गरे। ‘तपाईंहरु पार्टीको नीति र निर्देशन मानेर अघि बढ्नुस्। पार्टीले अन्याय गर्दैन, रक्षा गर्छ,’ ओलीले भने, ‘म पार्टीका लागि हुँ भन्ने भावना तपाईंहरुमा हुनुपर्छ। पार्टी भनेको देश र जनताका लागि हो भन्ने सबैले बुझ्नु पर्छ।’

मानवीय समाज बनाउनुपर्नेमा जोड दिँदै उनले मुलुकमा सामाजिक न्याय र समानतासहितको समृद्धिको खोजी भइरहेको उल्लेख गरे। ‘देश बचाउन सकिएन भने दुनियाबाट अपहेलित होइन्छ। गठबन्धनले असंलग्न परराष्ट्र नीतिलाई ध्वस्त बनाइसक्यो,’ ओलीले भने, ‘सामाजिक सद्भाव र साम्प्रदायिकतालाई ध्वस्त बनायो। अहिले मुलुकमा भँडुवा, एकता र सुशासन विरोधी एवं धाँधलीवाद सरकार छ।’

गठबन्धन देश, राष्ट्रियता र लोकतन्त्रका लागि अभिसाफ रहेको ओलीको आरोप छ। देउवा नेतृत्वको सरकार विचारहीन र देश भँडुवा भएको आरोप उनले लगाए। गठबन्धनबाट बनेको सरकारले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाएको ओलीले बताए। प्रतिक्रियावादीसँग बोली नमिलाउन र काँध नजोड्न उनले नेता कार्यकर्तालाई आग्रह गरे।

यसैबीच विराटनगरमै पत्रकारहरुसँग कुरा गर्दै ओलीले आफूले कुनै पनि पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने आश्वासन नदिएको स्पष्ट पारेका छन्। केही दिनअघि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्रीको आफर आएको बताएका थिए।

ओलीले समाजवादीका कार्यकर्ता एमालेमा आए समाहित गरिने पनि बताए। उनले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा एमालेलाई अधिक स्थानमा विजयी गराउने जिकिर गरेका छन्। अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै पार्टीसँग गठबन्धन नहुने स्पष्ट पारे। उनले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको जिकिर गर्दै अन्य पार्टीहरु वामपन्थी नभएको जिकिर गरे।