ओलीको बोली 'अल्बर्ट आइस्टाइन नेपाल नै नआई कसरी बैज्ञानिक भए' ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

ओलीको बोली ‘अल्बर्ट आइस्टाइन नेपाल नै नआई कसरी बैज्ञानिक भए’ ?



मंसिर ६ /काठमाडौं

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले ठूला दलका नेताहरुलाई बोलाएर आर्थिक विकासमा प्रतिवद्धता जनाउन लगाउने कार्यक्रमको आयोजना गरेको थियो, सोल्टी होटलमा ।

कार्यक्रम साढे ११ बजे हुने भनिएको थियो । तर, चुनाबमा भोट माग्न अस्तव्यस्त रहेका नेताहरु ढिलो आइपुगेपछि कार्यक्रम पौने १ बजेमात्रै सुरु भयो ।

कार्यक्रममा उपस्थित थिए पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली, उपप्रधानमन्त्री एवं माओवादी नेता कृष्णबहादुर महरा र पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता डा. रामशरण महत ।

कार्यक्रमको सुरुमै माोवादी नेता महरा बोले । उद्घोषकले १० मिनेट समय दिएपनि महरा आपूmले दाङ जाने प्लेन टिक काटिसकेकाले प्लेन छुट्छ भन्दै ७ मिनेट बोलेर हिँडे ।

त्यसपछि बोले कांग्रेस नेता महत । उनले ठ्याक्कै १३ मिनेट बोले ।

तेस्रो तथा अन्तिम बक्ता थिए, केपी ओली ।

ओली बोल्न थाले । उनले केही मिनेट बोलेपछि कांग्रेस नेता डा. महत घडी हेर्दै हतारिएको भन्दै केही प्रश्नको जवाफ दिएर वा नदिइकनै भएपनि जान सक्ने बताए ।

‘महतजी अघिदेखि घडी हेर्दै हतारिँदै हुनुहुन्छ, केही प्रश्नको जवाफ दिएर गए हुन्छ, भोट माग्न जान हतार नै भएको हो भने अहिले नै गए पनि हुन्छ,’ ओलीले भने ।

डा. महतले नुवाकोटमा आफ्नो चुनाबी सभा भएकाले जसरी भए पनि जानुपर्ने भएकाले छिटो गर्न आग्रह गरे ।

‘२ बजेको कार्यक्रम हो, अघि पनि उँडेर आएको, अब पनि उडेरै जाने हो, माफ गर्नुहोला १०/१५ मिनेटमात्रै बस्नसक्छु,’ महतले भने ।

त्यसपछि ओलीले बोल्न थाले । भाषणका लागि १० मिनेटको समय भएपनि ओलीले करिब २३ मिनेट भाषण गरे ।

मञ्चमै बसेका महत अतालिएको देखेर कार्यक्रम मोडोरेटरले थप कुरा प्रश्नउत्तरको कार्यक्रममा गरौंला, अहिले डा. महतलाई ढिला भयो भने ।

‘डा. महत तपाई धेरैपटक गृहमन्त्री हुनुभयो, गृहमन्त्री त पछि बन्नुहोला भनेर भनेको अर्थमन्त्री बन्नुभयो भन्दै फ्लोरबाट आएको प्रश्न प्रस्तु गरे । कार्यक्रम प्रस्तोताले महतलाई गृहमन्त्री भएको भन्दा फ्लोरमा उपस्थित सबै ग्लालल हाँसे ।

महत २ वटा प्रश्नको जवाफ दिए । र, हिँडे ।

त्यसपछि कार्यक्रममा वक्ताको रुपमा ओलीमात्रै रहे ।

एमालेले ५ वर्षमा ५० लाख पर्यटक भित्र्याउँछु भन्ने महत्वकांक्षी घोषणापत्र सार्वजानिक गरेको छ, यो कसरी संभव छ ? भनेर ओलीमाथि फ्लोरबाट प्रश्न आयो ।

जब यस्तो प्रश्न आयो । तब ओलीले नेपालमा पर्यटनको संभावनाबारे ब्याख्या गर्न थाले । नेपाल नै संसारको सबैभन्दा उत्कृष्ट पर्यटकीय गन्तब्य भएको ओलीले दाबी गरे ।

नेपालमा अन्तर्राष्ट्रिय खोज अनुसन्धानका ठाउँहरु भएको र जहाँ ऋषिमूनिहरुले खोला किनारमा बसेर बेदका ऋचाहरु तयार गरेको कुरा ओलीले सुनाए ।

‘यो भूमि ज्ञानको उत्पति भएको ठाउँ हो । यहाँ आएर संसारका पर्यटकहरुले ज्ञान कसरी प्राप्त हुँदो रहेछ भनेर बिचार गरुन्,’ ओलीले भने, ‘अल्बर्ट आइस्टाइनलगायतका बैज्ञानिकहरु नेपाल नआइकन कसरी बैज्ञानिक भए ? मलाई अचम्म लागिरहेको छ । ज्ञान प्राप्त गर्न त यही ठाउँमा आउनुपर्ने हो ।’

ओलीको यो बोली सुनेपछि फ्लोरमा उपस्थितहरु पेट मिचिमिचि हाँसे । तर, उनी डगमगाएनन् ।

‘भिजिटिङ प्रोफेसरहरु यहाँ आएर फर्किएपछि फिलिङमा केही भिन्नता आयो कि आएन भनेर सोध्नुपर्ने हो । तर हाम्रा पत्रकारहरु अरु अरु कुरा चैं सोध्छन् । यो त तपोभूमि हो, वुद्ध भूमि हो, तपोभूमि हो । यहाँ आएर एकछिन पलेटी मारेर आँखा चिम्लेर तपस्या गरेपछि ज्ञान प्राप्त हुनुपर्ने हो ।’

संसारका सबै कुराको अध्ययन गर्न नेपाल आए पुग्ने दाबी गर्दै ओलीले भने,– माछाको अध्ययन गर्न यहीँ आए पुग्छ, पुतलीको अध्ययन गर्न यहीँ आए पुग्छ । गुराँसको अध्ययन गर्न पनि यहीँ आए पुग्छ । त्यसैले नेपाल भनेको पर्यटकका लागि अति आकर्षक देश हो । हामीले पर्यटक आउने आधार तयार पार्नुपर्छ ।’

कसैले लण्डनबाट, वासिङटनबाट, टोकियोबाट वा मेक्सिकोबाट हेर्यो नेपालमा कस्ता कस्ता होटल छन्, कति मूल्य पर्छ ? भनेर हेर्न खोज्यो भने हेर्न नमिल्ने ओलीले सुनाए ।

‘पर्यटकहरु एयरपोर्टमा आएपछि हात मसाज गर्नुपर्छ, त्यो पनि ड्राइभरले तानेर । यस्तो अवस्थामा टुरिस्ट कसरी आउँछन् ?’ उनले भने ।

बैंकले बढी ब्याज लिएको विषयमा अर्को प्रश्न आयो । त्यसपछि ओलीले भने, ‘बैंकहरु नाफाखोर साहुजी जस्ता भए ।

बैंकको विषयमा आफूले २ वटा विषय मात्रै भन्न चाहएको भन्दै उनले थपे,- बैंक प्रोजेक्ट र संभाव्यतातिर जाँदैन । धितोमा जान्छ । त्यो परिपाटी मैले उपयुक्त ठानेको छैन ।’

आफूहरुले युवाहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने भनेपनि बैंकहरुले नदिएको भन्दै ओलीले आक्रोश व्यक्त गरे ।

‘कसैसँग राम्रो भिजन छ भने हाम्रा बैंकले ऋण दिँदैनन्,’ ओलीले भने, ‘यस्ता राम्रो भिजन भएकालाई प्रोजेक्ट धितो हुनेगरी सरकारले बैंकबाट ऋण किन उपलब्ध गराउन सक्दैन ?

ऋण धितोलाई नभई प्रोजेक्टलाई दिनुपर्ने उनको भनाई थियो । अहिले बैंकहरुको प्रवृत्ति गाउँघरतिरका साहुजीले दायाँबायाँ साक्षी राखेर, ल्याप्चे लगाएर ऋण दिएजस्तो भएको उनको टिप्पणी थियो ।

‘त्यसैले गर्दा खोलाका बगर धितो हुने र बैंकहरुको प्रवाह गर्ने कर्जा खराब कर्जामा परिणत भएको हो,’ उनले सुनाए, ‘त्यहाँभित्र करप्सन हुन्छ । हामी करप्सन रोकेर साँच्चिकै उद्यमी बन्नेलाई परियोजना धितोमै ऋण दिन चाहन्छौं ।’

बैंकहरुले रोजगारीमूलक र उत्पादक क्षेत्रमा बढी ऋण दिनुपर्ने ओलीको भनाई छ ।

‘गाडीको ब्यापारमा धेरै नाफा हुँदैन, त्यसैले सस्तो ब्याजमै ऋण दिने, उद्योग खोलेपछि धेरै नाफा हुन्छ त्यसैले किन सस्तोमा ऋण दिने भन्ने पनि हुनसक्छ,’ ओलीले सुनाए ।

क्लिकमान्डुबाट