ओलीको चिन्ता- मध्यमार्गी केटाहरूले बिताउँछन् कि क्या हो ? - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

ओलीको चिन्ता- मध्यमार्गी केटाहरूले बिताउँछन् कि क्या हो ?



काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरूलाई केटाहरू भन्ने गरेका छन् । एक कार्यक्रममा त तत्कालिन पार्टी प्रवक्ता योगेश भट्टराईलाई ‘बैगुनी केटो’ सम्म भन्न भ्याए । दोस्रो तहका नेताहरूलाई ओलीले केटाहरू भन्ने गरेका तमाम उदाहरणहरू छन् । तर अहिले भने उनलाई तेस्रो धारका केटाहरूले बिताउने पो हुन् कि भन्ने खुब चिन्ता लाग्ने गरेको छ ।

पार्टीका पूर्व नेता माधवकुमार नेपालले अध्यादेश प्रयोग गरेर नयाँ पार्टी गठन गरेपछि सन्तुष्ट छैनन् । बाहिर कार्यक्रमहरुमा जति नै नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी)को बारेमा छुद्र अभिव्यक्ति दिंदै हिँडेपनि आन्तरिक रुपमा भने उनी झन् कमजोर देखिएका छन् ।

ओलीको लागि सबैभन्दा नराम्रो कुरा हो फुट्नु र अर्को नराम्रो कुरा हो एमाले विभाजन हुने बेलामा आफ्नो विरोधमा लागेका नेताहरु एमाले विभाजन भएपछि माधवकुमार नेपालको साथ छाडेर आफ्नै समूहमा आउनु । ओलीलाई पार्टी फुटेको तनाव त हुने नै भयो यस्तै ती नेताहरु आफ्नो साथमा आएपछि उनी सुरुकै दिनदेखि तनावमा रहेका छन् ।

एमाले विभाजनको असर प्रदेशहरुमा खासै देखिएको छैन । ओलीको लागि यो सुखद कुरा हो तर आजको मितिसम्म आउँदा विभाजनको असर प्रदेशमा खासै नदेखिए पनि केन्द्रकै नेताहरुले साथ छाड्ने हुन् कि भन्ने चिन्ताले ओली धेरै तनावमा रहेका छन् ।

ओलीको सबैभन्दा ठुलो चुनौती हो एमालेमा तेस्रो धार मानिएका नेताहरुको व्यवस्थापन । ओलीको व्यवस्थापन शैली कस्तो प्रकारको हुन्छ भन्ने कुराले उनीहरु एमालेमा बस्ने या नबस्ने भन्ने कुराको टुंगो लाग्नेछ । तर अहिले तेस्रो धार नमिलेको कारण तितरबितर हुने सम्भावना देखिएको नेताहरुले बताउँदै आएका छन् ।

एमाले विभाजन नहुँदै ओलीको कट्टर विरोधी बनेका नेताहरूका कारण ओलीको तनाव कम भएको छैन । उनीहरुले ओलीलाई थप अप्ठ्यारोमा पर्ने संकेत देखिन थालेको छ । तत्काल माधवकुमार नेपाल नेतृत्वको नेकपा एसमा नलागेका नेताहरुले ओलीलाई नै सामना गर्न सक्ने सम्भावना अलिकति पनि देखिएको छैन ।

तेस्रो धारका नेताहरु विभिन्न विषयलाई लिएर ओलीसँग असन्तुष्टि व्यक्त गरिरहेका छन् । पदको रुपमा हेर्ने हो भने अहिले सचिव योगेश भट्टराई र उपाध्यक्ष भीम रावल ओलीसँग सन्तुष्ट छैनन् । अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट नै हो भनेपछि रावल र ओलीबीचको सम्बन्ध बलियो छैन ।

भीम रावल एक गुट खडा गर्न सक्ने नेताको रुपमा चिनिएका छन् । चाहे भने उनले क्षणभरमानै एमालेलाई फेरी विभाजन गरिदिन सक्छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको राजनीतिक दलको अध्यादेश ताजा नै छ ।

रावलले सुदूरपश्चिम नै गएर आफूले एमाले छाड्ने या नछाड्ने भन्ने विषयमा निकट नेताहरुसंग परामर्श थालिसकेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुरा नमिलेपछि पार्टी छाड्ने मूडमा पुगेका रावलले त्यहाँका नेताहरुसँग पार्टी छाड्ने या नछाड्ने भन्ने विषयमा छलफल गरिरहेको एक नेताले जानकारी दिए ।

छलफलमा सहभागी एक नेताले रावल एमाले छोड्ने मूडमा रहेको बताए । रावलको भनाइ उदृत गर्दै उनले भने – ओलीले दस बुँदे कार्यान्वयन नगरेपछि हामीलाई अप्ठेरो परेको छ । तपाईहरूले सल्लाह दिनुपर्यो, एमाले छोडौं कि नछोडौं भनेर ।

यता योगेश भट्टराई र प्रदीप ज्ञवालीबीच पनि पदको टसल चल्न थालेको छ । सुरुमा पार्टी प्रवक्ताको रुपमा जिम्मेवारी पाउन लागेका योगेश भट्टराई पनि पदको विषयलाई लिएर ओलीसंग सन्तुष्ट नरहेको उनीनिकट नेताहरु बताउँछन् ।

ओलीको पक्षमा रहेका प्रदेशका मुख्यमन्त्रीहरु पनि विस्तारै ओलीसँग टाढिने योजना बनाउने तयारी गरेको चर्चा चल्न थालेको छ । आफ्नो मुख्यमन्त्री पद असुरक्षित भएपछि ओलीको समर्थन गर्दै अगाडी जाने सम्भावना उनीहरुको न्यून छ । मुख्यमन्त्रीहरुले पद गएपनि माधव नेतृत्वको समूहमा नलाग्ने भनेका छन् तर उनीहरुको भनाई र गराईमा भिन्नता हुनसक्ने सम्भावना देखिएको छ ।

ओलीले बैठकहरु आजकल कम बोलाएका छन् । चलिराख्ने स्थायी कमिटी बैठक पनि धेरैसमय देखि बस्न सकेको छैन । तेस्रो धार मानिएका नेताहरु विविध कुरामा असन्तुष्ट रहेका कारण बैठक बस्न नचाहेको एक नेताले जानकारी दिए ।

एमालेमा अझै पनि समाधान नभएको अर्को कुरा हो १० बुँदे सहमति । नेताहरुले यसको कार्यान्वयनमा जोड दिँदै आएको भए पनि अध्यक्ष केपी शर्मा ओली उनीहरूले भनेबमोजिम अघि नबढ्ने संकेत देखापरेको छ । पार्टी एकताका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दबाब दिँदै आएका तेस्रो धारका नेताहरूले १० बुँदे कार्यान्वयन नभए पार्टीभित्र ठूलो विद्रोह हुने चेतावनी दिँदै आएका छन् ।

एमाले विभाजन नहुने बेलासम्म नेपालको पक्षमा वकालत गर्दै आएका र विभाजन भएपछि आफ्नो पक्षमा लागेका नेताहरुको व्यवस्थापन ओलीका लागि सजिलो छैन । आज पनि ओली एउटा कुराले चिन्तित छन्, उनीहरुले बिताउँछन् कि क्या हो ?’