माधव नेपालहरू संसदमा उपस्थित हुँदासम्म संसद चल्न नदिने ओलीको घोषणा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

माधव नेपालहरू संसदमा उपस्थित हुँदासम्म संसद चल्न नदिने ओलीको घोषणा



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले कारबाही गरेका १४ सांसद प्रतिनिधिसभामा उपस्थित रहुन्जेल संसद्को अवरोध जारी रहने बताएका छन्। मंगलबार झापाको बिर्तामोडमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कारबाही गरेर हटाएका सांसद प्रतिनिधिसभा बैठकमा उपस्थित रहुन्जेल संसद् अवरोध जारी रहने बताएका हुन्।

एमाले फुटाउने आपराधिक तरिकाले सरकारले दल फुटाउने अध्यादेश ल्याएको र एमाले फुटाउन सभामुख षडयन्त्रकारीको मतियार बनेको ओलीले आरोप लगाए।उनले भने, ‘एमाले फुटाउने आपराधिक मानसिकताले सरकारले दल फुटाउने अध्यादेश ल्यायो।यो काममा सभामुख षडयन्त्रकारीको मतियार बने।’ उनले सभामुखले तथस्ट भूमिका नखेली कुनै एउटा दलको कार्यकर्ताको व्यवहार गरिरहेको आरोप लगाए।

सभामुखले संसद् चलाउन नसकेर गैर सांसदलाई सभामा उपस्थित गराइरहेको टिप्पणी गरे।एमालेले कारबाही गरेका सांसदलाई सभामा राखेकाले एमालेले विरोध गरेको बताउँदै उनले गैरसांसद राखेर सभा चलाउने बलमिच्याइँविरुद्ध एमालेले निरन्तर संसद्मा विरोध गरिरहने स्पष्ट पारे।

उनले नेकपा एमालेलाई सरकाबाट हटाउने काम एमाले भित्रैबाट माधवकुमार नेपालले गरेको बताए। के आधारले माधव नेपाललाई भोट दिने भन्दै उनले १४ महिनापछि भए पनि निर्वाचन हुने र त्यतिबेलै नेपालले आफ्नो हैसियत देख्ने बताए।‘माधवकुमार नेपालले आगामी चुनावमा आफ्नो हैसियत देख्छन्,’ओलीले भने, ‘माधव नेपालले वडाध्यक्ष त के वडा सदस्य पनि जिददैन्।’ नेपालले कहिल्यै पनि पार्टी हितमा काम नगरेको ओलीको टिप्पणी छ।

माधवकुमार नेपालले पहिले नेतृत्व लिँदा पनि पार्टीको हितमा काम नगरेको उनले आरोप लगाए।माधव नेपालले नेतृत्व गर्दा दुई सय ४० सिटमध्ये ३३ सिटमा एमालेलाई झारेको, १६ वर्ष एमालेको नेतृत्व गरे पनि पार्टीको हितमा काम नगरेकै कारण असक्षम भएर पार्टीको महासचिव र प्रधानमन्त्रीबाट राजीनामा दिएको आरोप लगाए।उनले भने, ‘माधव नेपालले सधैं पार्टीलाई रसातलमै पुर्‍याउनभूमिका खेलेका कारण माधव नेपाल चोइटिएर जाँदैमा पार्टीलाई कुनै असर गर्दैन।’

ओलीले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा विभाजन नभएको दाबी गर्दै प्रचण्ड एउटा गुट लिएर मात्रै गएको बताए। ‘प्रचण्ड एउटा गुट लिएर गएका हुन्। माधव नेपाल चोइटिएर गएका हुन्,’ उनले भने, ‘पार्टी फुटेको छैन।’ ओलीले प्रचण्डको मोहजालमा नपरी पार्टीमा फर्कन र एकताबद्ध हुन उनले सबै कार्यकर्तालाई आग्रह पनि गरे।कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा अधिकांश समय प्रचण्ड र माधव नेपालको आलोचनामा बिताएका ओलीले मान्छे भुल्याउन सिपालु प्रचण्ड जादुगर जस्तै भएको टिप्पणी गरे।

प्रचण्ड छट्टु, वेइमान र धोकेवाज नेता भए पनि असल बाउ, काका, मामा र ससुरो भएको ओलीको भनाइ छ। उनले भने, ‘प्रचण्ड असल बाबु, ससुरो, काका, मामा भए पनि नेताका रुपमा उनी धोकेवाज, वेइमान र छट्टु हुन्।’ ओलीले प्रचण्डको पछि लागेर जिन्दगी बर्बाद् नपार्न कार्यकर्तालाई आग्रह गरे। फुटेर, चोइटिएर पनि अझै नेकपा एमाले नै संसद्मा पहिलो ठूलो पार्टी रहेको बताउँदै उनले एमाले फुटेको मौका छोपेर चुनाव गरिहाल्न सरकारलाई सुझाव दिए।उनले भने, ‘एमाले फुटेको मौका छोपेर चुनाव गरिहाल त्यतिखेर थाहा पाउँछौं।

जनताले के भन्छन् ?’ एमालेलाई षडन्त्रपूर्वका फुटाए पनि सिंगो पार्टीले हिम्मत नहारेको र आगमी तीन तहकै निर्वाचनमा पनि एमालेकै जित हुने समेत उनले दाबी गरे। माधव नेपाल र प्रचण्डलाई लक्षित गर्दै उनले भने, ‘पिलो निचोरेर फाल्दैमा शरीरको तौल घट्दैन। पतकर झरेर खोला थुनिँदैन।’

एमालेको सरकारले तीन वर्षमा गरेका विकास निर्माणका काम स्मरण गर्दै उनले प्रतिक्रियावादीले विकास देख्न नसकेर पार्टीभित्रकै केही व्यक्तिलाई उचालेर सरकार ढाल्न लगाएको उनले बताए।जनदेशको सरकार हटाएर बनेको वर्तमान परमादेशको सरकार बनेको दुई महिना बित्दासमेत पूर्णता दिन नसकेर बहुमुल्य समय खेर फालिरहेको उनले बताए।परमादेशबाट आएको सरकार चुनावदेखि थरर भएको र चुनावपछि एमालेले मात्रै सरकार बनाउन सक्ने ओलीले दाबी गरे।