अब प्रधानमन्त्री ओलीको मूल्याङ्कन कसले गर्ने ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अब प्रधानमन्त्री ओलीको मूल्याङ्कन कसले गर्ने ?



-एमआर खनाल

काठमाडौँ- पछिल्लो साता मन्त्रीमण्डल परिवर्तनको चर्चाले निकै उचाइ लियो । मिडिया, सामाजिक सञ्जालदेखि चिया पसलसम्म तताएको विषयको परिणाम आउँदासम्म भने जनताको मनमा बढेको प्रधानमन्त्री ओली प्रतिको विश्वास लगभग शून्यमा झरेको छ ।

बुधवार बिहान सचिवालय बैठक चलिरहँदासम्म पनि प्रधानमन्त्री ओलीले केही नयाँ र अहिले सम्मकै उत्कृष्ट कम गर्न लागेको भन्दै वाह वाही भयो । तर, जब जब साँझ पर्दै गयो रातिको अँध्यारो जस्तै ओली र नेकपाको नेतृत्वप्रति एकाएक विश्वासको अँध्यारो छायो । दिउसो प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई पार्टीको कार्यभार सुम्पेपछि ओलीले पाएको भाव साँझसम्म पनि टिक्न सकेन । जब परिवर्तन गरिएका मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाइयो तब सामाजिक सञ्जाल एकाएक ओलीको शैली नसुध्रेको र फेरी लज्जास्पद काम गरेको भन्दै खेदो खन्न सुरु गरियो ।

कार्यसम्पादनकै आधारमा मन्त्रीमण्डल परिवर्तन गरिने हल्ला पिटिएको बेला समेत कतिपयले ओलीले आफै मन्त्रीहरूको काम गर्ने क्षमता र मन्त्रालयको काम प्रभावित गराएको बहस भने नचलेको होइन । तर, राम्रै गर्लान् भन्ने आशाको मुना पालेको बेला न राम्रो भनिएकालाई अवसर नै दिन सके न त राम्रो कामम गरिरहेकाहरूलाई राख्न नै सके ।

बहसकर्ताहरूले मन्त्रिमण्डलको मात्रै कुरा उठाएनन् उनीहरूले ओलीको नियत र नेतृत्वको पुरानै शैलीले लज्जास्पद बनाएको सम्मको कुरा उठाए । बुधवार दिउसोसम्म अनुमान गरिएका एकाध मान्छे बाहेक राम्रा नेताले स्थान नपाएको र सरकारकै इज्जत बँचाउने काम गरेका केही मन्त्रीहरू पनि हटाएकोप्रति विपक्षीले मात्रै विरोध गरेनन्, आफ्नै पार्टीका नेता कार्यकर्ताले समेत नेतृत्वप्रति गम्भीर प्रश्न उठाए ।

ओली र पार्टी नेतृत्व माफियाको प्रलोभनमा परेको, सही निर्णय गर्न नसकेको, पूर्वाग्रही बनेको, राम्रा भन्दा हाम्रालाई काखी च्यापेको लगायतका दर्जनौँ आरोपसहित यति बेला सामाजिक सञ्जाल तातेको छ ।

पछिल्लो समय अस्वस्थ बनेका प्रधानमन्त्री ओलीले केही नयाँ निर्णय देखि ब्रेकथ्रू गर्न लागेको हौवा पिटिएको बेला परिवर्तन गरिएका मन्त्रीको सूची सार्वजनिक भएपछि “हात्ती आयो हात्ती आयो फुस्स” भएको जन आक्रोश छ ।

प्रधानमन्त्री ओलीको मूल्याङ्कन कसले गर्ने ?

प्रधानमन्त्रीको पछिल्लो कदमले उनीप्रति बढेको विश्वास कायम गर्न नसकेको आरोप छ । विगतमा राम्रो काम गरेका देखि नयाँ आशा लाग्दा नेताहरूले देश हाँक्ने र देश समृद्धिको दिशामा अगाडी बढ्ने आशा पालेका धेरैजसोले प्रधानमन्त्री ओली परिवर्तन हुन नसकेको आरोप लगाएका छन् ।

आफ्नालाई काखी च्याप्ने, गुटगत राजनीति गर्ने र विरोधीलाई हेप्ने जस्ता आरोप लाग्ने गरेका ओलीले यस पटक आफूलाई साबित गर्ने सुनौलो अवसर गुमाएको कतिपयको आरोप छ । नेकपाका एक स्थायी समिति सदस्यले प्रधानमन्त्री ओली कहिल्यै परिवर्तन हुन नसक्ने प्रमाण यो भन्दा अरू हुन नसक्ने बताउँछन् । उनले भने, ‘उहाँ न आफ्नो सही निर्णय गर्न सक्नु भो, न त अरूले गलत सल्लाह दिए भनेर ठम्याउन सक्नुभो, खासमा उहाँ परिवर्तन हुन सक्नुहुन्न भन्ने यो सबैभन्दा ठुलो प्रमाण हो ।’

उनका अनुसार प्रधानमन्त्री ओली पछिल्लो समय देशको सीमा मिचिएको विषयमा अडान कायम गर्न नसकेको, मन्त्रिमण्डल आफैले अस्थिर बनाएको र दलदलमा फसेको अवस्था छ । उनले थपे, ‘ओलीजीले परिस्थिति बुझ्नु भएन, उहाँलाई असफल बनाउन चालिएको चालमा आफै पर्नुभो । माफियाले उहाँलाई फनफनी घुमाए ।’

अहिले मूल्याङ्कनको सुई गोकर्ण विष्ट, बिना मगर, गोकुल बास्कोटा र उपेन्द्र यादवतर्फ घुमेको छ । कतिपयले उनीहरूलाई मूल्याङ्कन गर्ने प्रधानमन्त्रीको मूल्याङ्कन चाहिँ कसले गर्ने भन्दै आलोचना भइरहेको छ