ओलीको पेलानपछि मध्यमार्गी नेता र माधव नेपालबीच निरन्तर छलफल - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

ओलीको पेलानपछि मध्यमार्गी नेता र माधव नेपालबीच निरन्तर छलफल



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पेलानमा परेका तेस्रो धारका दश नेताहरू नेकपा एकीकृत समाज्वादीका अध्यक्ष माधवकुमार नेपालसँग निरन्तर छलफलमा रहेका छन् ।

गत असार २७ गते गरिएको दश बुँदे सहमति कार्यान्वयन हुन नसक्ने ओलीको टिप्पणीपछि घनश्याम भुसाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम आचार्य र अमृत बोहरालाई ‘फेस सेभिङ’ गर्नै मुश्किल परेको छ ।

केही दिनअघि आफूनिकट नेता कार्यकर्तासँग बालकोटमा भएको छलफलमा ओलीले भनेका थिए – ‘भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री मैले बनाइदिएको हो, टिक्ने काम उनीहरूकै हो ।’

बागमती र प्रदेश १ का दुवै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र भीम आचार्य अल्पमतमा छन् । उनीहरूविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने तयारी सत्तारूढ गठबन्धनका सांसदहरूले गरिरहेका छन् । पार्टी जसरी पनि विभाजन हुने नै भएपछि ओलीनिकट दुवै मुख्यमन्त्रीहरूलाई राजीनामा दिन लगाएर नेपालनिकट नेताहरूलाई मुख्यमन्त्री बनाइएको थियो ।

नवौं महाधिवेशनदेखि निरन्तर एमालेका तत्कालीन नेता माधवकुमार नेपाललाई साथ दिएका दश नेताहरू पार्टी विभाजनपछि ओली नेतृत्वकै एमालेमा छोडिएका थिए । ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा पनि नेपाललाई साथ दिएकै नेताहरूले अस्थीरता सिर्जना गरेको, एमालेलाई सरकारबाट हटाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै आलोचनासमेत गरेका छन् ।

ओलीले कुनै हालतमा एमालेलाई २०७५ जेठ २ मा फर्काउने लक्षण नदेखेपछि एमालेको तेस्रो धार तनावमा परेको छ । नेपाल नेतृत्वको नेकपा एसका एक नेता भन्छन् – ‘उहाँहरूलाई फेस सेभिङ गर्न पनि गाह्रो भइरहेको अवस्था छ । नेकपा एसमा आउन दल त्यागसम्बन्धी कानूनले रोक्छ, त्यहाँ ओलीको बुहार्तन सहेर बस्ने स्थिति छैन ।’

उनले एमालेका दश भाइका तर्फबाट केही नेताहरू अध्यक्ष माधवकुमार नेपालसँग निरन्तर छलफलमा रहेको खुलासा गरे । ‘अहिले पनि हाम्रो सम्बन्ध उस्तै छ । कहिले-कहिले भीम रावललगायतका नेताहरू कोटेश्वर आउनुहुन्छ । हामी चेपुवामा पर्यौं, नयाँ पार्टी रोज्न पनि सकिएन, एमालेमै रहन सक्ने स्थिति पनि अहिलेसम्म बनेको छैन भनेर भन्नुहुन्छ ।’

जवाफमा नेता नेपालले अन्तिम अवस्थामा आएर धोका नदिएको भए उचित हुने भन्दै प्रायश्चित गर्न लगाउने गरेका छन् । ‘ल ठीकै छ, तपाईंहरू त्यहीं ओली प्रवृत्तिविरुद्ध लड्नुहोस, हामी अर्को पार्टीमार्फत लड्ने छौं,’ अध्यक्ष नेपालको भनाई उदृत गर्दै ती नेताले भने ।

असोजको दोस्रो सातामा हुने भनिएको विधान महाधिवेशनका लागि ओलीका तर्फबाट आएको राजनीतिक प्रतिवेदनप्रति पनि दश भाइ सन्तुष्ट छैनन् । सुदूरपश्चिमको इन्चार्ज नपाएपछि भीम रावल ओलीसँग चिढिएका छन् भने यसअघि बागमती प्रदेशकी इन्चार्ज रहेकी अष्टलक्ष्मी शाक्य पनि ओलीसँग खुसी छैनन् ।

दल विभाजनसम्बन्धी अध्यादेश कार्यान्वयन रहेकै अवस्थामा २० प्रतिशत सांसदले एमालेबाट थप विद्रोह गर्ने अवस्था रहन्छ । तर त्यसका लागि संख्या पुग्ने देखिन्न । महाधिवेशनसम्म ओलीकै साथमा रहने र महाधिवेशनपछाडि कुनै बोल्ड निर्णय लिन सकिनेबारे दश भाइ नेताहरू छलफलमा देखिन्छन् ।