प्रचण्ड र नेपाललाई ओलीको प्रस्ताव: 'हिजो गल्ती भैहाल्यो, अब मिलेर जाउँ' - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रचण्ड र नेपाललाई ओलीको प्रस्ताव: ‘हिजो गल्ती भैहाल्यो, अब मिलेर जाउँ’



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकतामा आउन कम्युनिस्टहरुलाई अपिल गरेका छन्।

काठमाडौंमा आयोजित नेपाल–चीन हिमालयमैत्री समाजको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सच्चा वामपन्थीहरु कांग्रेस नेतृत्वको गठबन्धन छोडेर वाम एकतामा आउनुपर्ने र मिलेर सरकार बनाउनुपर्नेमा जोड दिएका हुन्।

उनले चौँरीको पुच्छरजस्तो कांग्रेसको पछि लाग्ने पनि वामपन्थी हुन्छ? भन्दै प्रश्न गरेका थिए। कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम एकता र तालमेलका लागि आग्रह गरेपछि ओलीले जवाफमा भने, ‘यदि सच्चा वामपन्थी हुनुहुन्छ भने कांग्रेसका पछाडि नलाग्नुस्, गठबन्धनका पछाडि नलाग्नुस्। एसपीपी नगर्नुस्। वामपन्थी एकतामा आउन आह्वान गर्छु।’

कांग्रेसको नेतृत्वमा सरकार बनाउन अदालत जानेहरु वामपन्थी हुन भन्दै उनले प्रश्न दोहोर्‍याए। ‘सधै कांग्रेसको पुच्छर भएर हुँदैन। खोइ कम्युनिस्ट पार्टी? कम्युनिस्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन अदालत गएको होइन? संसदबाट सकिएन परमादेशबाट सरकार बनाइ पाउ भनेर जानेहरु वामपन्थी हुन्? कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्। गल्ती भइहाल्यो ल छोडौं। वामपन्थी हुनुहुन्छ भने आउनुस्। एमालेसँग मिलेर जाउ,’ उनले अपिल गरे।

ओलीले आफूहरु कांग्रेसविरोधी नभएको र देश, लोकतन्त्र, कानुनी राजको पक्षमा उभिने वाम सरकार बनाउन चाहेको बताए। ‘निष्पक्ष चुनाव गर्ने सरकार बनाउ। वामपन्थी कोही हुनुहुन्छ भने आउनुस्। रातो सेतो बर्को ओढ्ने बेग्लै कुरा हो। बर्को छोडौं। असली रुपमा आउ। वामपन्थी हुनुहुन्छ भने आउनुस्। राष्ट्रिय राजनीतिमा सहमतिका साथ जाउ,’ उनले भने।

त्यस्तै ओलीले वर्तमान सत्ता गठबन्धनले जति भौगोलिक अखण्डता, स्वाधिनता, सार्वभौम सत्ताको अपमान अरु कुनै सरकारले नगरेको बताएका छन्। कार्यक्रममा बोल्दै अध्यक्ष अ‍ेलीले यो सरकारले सार्वभौम सत्ता अपमान गरेका प्रमाणहरु प्रशस्त रहेको बताएका हुन्।

उनले भने, ‘दिग्गज हौं भन्ने नेताले भूभाग छोडे। भौगोलिक अखण्डता भनिरहने तर अखण्डताको कुरा नगर्ने काम भयो। चुच्चे नक्सा छापेपछि सौदावाजी हुन्छ। अपवित्र साँठगाँठ हुन्छ भन्ने मलाई थाह थियो। ६० वर्षदेखि हाम्रो भूभागमा भारतीय फौज छ।’

राष्ट्रियताका निम्ति कोही लड्यो भने त्योसँग सौदावाजी गर्ने काम हुने गरेको ओलीको आरोप छ। भारततर्फ संकेत गर्दै अध्यक्ष ओलीले भने, ‘उत्तरतिरबाट बाटो खोलेवापत मैले सरकार छोड्नुपरेको थियो। मेरो मनमा देश, नेपाल, स्वाधिनता बाहेक अरु केही छैन। राष्ट्रिय हितबाहेक चीनको भूमि मेरो हो भनेर दाबी गरेर जान सक्छौं होला र? हाम्रो चिन्ता हाम्रो भूमि हो भन्ने हिम्मत चाही गर्नुपर्‍यो। जसले नियन्त्रणमा लिएको छ फिर्ता गर्नुपर्‍यो।’