गणतन्त्र उल्ट्याउने ओलीको त्यो षड्यन्त्रबारे बोले प्रचण्ड - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गणतन्त्र उल्ट्याउने ओलीको त्यो षड्यन्त्रबारे बोले प्रचण्ड



काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई पटक संसद् विघटन गर्ने तत्कालीन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संविधानसँगै गणतान्त्रिक व्यवस्था उल्ट्याउने षड्यन्त्रको अंगका रूपमा अगाडि आएको बताएका छन् ।

माओवादीको पालिका अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै दाहालले ओली देशभित्र र बाहिरका शक्तिसँग मिलेर षड्यन्त्रमा लागेको बताए । ‘प्रतिनिधिसभा विघटन गरेर संविधानसँगै गणतन्त्र, संघीयता, समावेशिता र समानुपातिक व्यवस्था उल्ट्याउने षड्यन्त्र थियो । यो ओली गुटको मात्रै थिएन उनलाई देशभित्र र बाहिरका प्रतिक्रियावादीले साथ दिएका थिए । संसद् विघटन संविधान उल्ट्याउने षड्यन्त्रको अंग थियो,’ उनले भने ।

ओलीले तत्कालीन नेकपामा अल्पमतमा परेपछि विदेशी शक्तिका साथै मुलुकका संवैधानिक निकायहरूको दुरुपयोग गरेको दाहालको भनाइ थियो । ‘वैदेशिक शक्तिका साथै देशभित्रका संवैधानिक निकायहरूको दुरुपयोग गरेर पार्टी विभाजनको कृत्रिम नाटक गरियो । दुईवटा पार्टी फेरि पुरानै ठाउँमा गएको भनियो,’ दाहालको भनाइ थियो ।

२०७५ सालमा माओवादी र एमालेबीच एकता हुँदाका बखतको समझदारी ओलीले अस्वीकार गर्दा समस्या उत्पन्न भएको पनि दाहालले बताए । ‘दुवै अध्यक्षले देश र पार्टीको नेतृत्व आधा-आधा हुने समझदारी गरिएको थियो । त्यो सहमतिबाट ओली गुट बाहिर गएपछि समस्या भएको हो,’ दाहालले भने ।