देउवाको दूत बनेर कार्की बालकोट पुगेपछि ओलीले देउवालाई पठाए यस्तो सन्देश - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

देउवाको दूत बनेर कार्की बालकोट पुगेपछि ओलीले देउवालाई पठाए यस्तो सन्देश



काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई भेट्न कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पुगेका छन् ।

विहान ओलीलाई भेट्न कार्की बालकोट पुगेका थिए । ओलीको सचिवालयका एक सदस्य रामशरण बजगाईँले पठाएको प्रेस नोटमा अध्यादेश खारेजीको ओलीले चर्को विरोध गरेका थिए ।

सो भेटमार्फत नै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई एक सन्देश पठाएको प्रेस नोटमा उल्लेख छ ।

यस्तो छ देउवालाई ओलीले पठाएको सन्देश

सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो । जुन बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको छ ।

चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधान विपरीत थियो ।

अहिले संसद् अधिवेशन चालु छ । त्यो अध्यादेश प्रतिस्थापन गर्न संसदलाई सरकारले सूचित गरिसकेको अवस्था छ । कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को हो । संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन सक्दैन ।

संसद्को अधिवेशन चालु नरहेको अवस्थामा तत्काल देशलाई आवश्यक परेको अवस्थामा मात्र सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश मार्फत कानुन सम्बन्धी काम हुन सक्ने हो । तर हाल संसद् अधिवेशन चालु रहेकै बेला संसद्मा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुःषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दल विरुद्ध लक्षित छ भन्ने कुरा प्रष्ट छ ।

यस्तो अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कानुन मन्त्रीसँगको भेटमा उहाँ मार्फत आफ्नो दलको गम्भीर आपत्ति र विरोध रहेको सन्देश प्रधानमन्त्री समक्ष पठाउनु भयो ।