प्रधानमन्त्रीबाट ओलीलाई फिर्ता बोलाउनेबारे छलफल - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रधानमन्त्रीबाट ओलीलाई फिर्ता बोलाउनेबारे छलफल



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आएको समुहभित्र नै सरकारबाट फिर्ता गर्ने पार्टीगत निर्णय गर्ने नगर्नेबारे विवाद भएको छ । एउटा पक्षले ओलीलाई सरकारबाट फिर्ता बोलाउन स्थायी कमिटीबाट निर्णय गरेर जाने मत राखेको छ भने अर्को पक्षले अर्ली महाधिवेशनमा जाने गरी सहमति निकाल्नुपर्नेमा जोड दिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल ओलीलाई सरकारबाट फिर्ता बोलाउन अब बस्ने स्थायी कमिटी बैठकबाट निर्णय गरेर जानुपर्ने पक्षमा उभिएका छन् । १३ साउनमा बस्ने स्थायी कमिटि बैठकबाट नै निर्णय गरेर जानुपर्ने पक्षमा माधव नेपाल भएको बुझिएको छ । नेपालकै दबाबमा प्रचण्ड पनि राजीनामाको पक्षमा अगाडि बढेको चर्चा नेकपाभित्र छ ।

सरकारबाट फिर्ता बोलाउने गरी निर्णय गरेर जानेबारे ओलीइतरको समुहबीच छलफल समेत चलेको बुझिएको छ । तर, उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल राजीनामाको निर्णय पार्टीबाट गराएर जान ठिक नहुने पक्षमा उभिएका छन् । गौतमले आफू कसैको पक्षमा नभएको र पार्टी एकताको पक्षमा भएको जवाफ दिएर अर्ली महाधिवेशनमा जान आग्रह गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । बादल पनि त्यही लाइनमा उभिएका छन् ।

सचिवालयमा ओलीको पक्षमा उनीसहित ईश्वर पोखरेल र विष्णु पौडेल देखिएका छन् । ओलीइतरको पक्षमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ देखिएका छन् । तर, पछिल्लो समय बामदेव र बादल तटस्थ देखिएका छन् ।

टकरावमा भन्दा सहमतिमा जाने गरी अर्ली महाधिवेशनबाट कुरा मिलान दुवै पक्षका केही नेताहरु सक्रिय भएका थिए । जसमध्ये जर्नादन शर्मा, शंकर पोखरेल, योगेश भट्टराई, घनश्याम भुषाल लगायत दोस्रो पुस्ताका नेताहरु थिए ।

उनीहरुको पहलमा सहमतिको बिन्दु अर्ली महाधिवेशन हुनसक्ने गरी अवस्था सृजना गरेपनि फेरि कुरा बिग्रिएको छ । माधव नेपाल ओलीविरुद्ध प्रचण्डभन्दा पनि कडा रुपमा प्रस्तुत हुँदै गएका छन् । यसले नेकपाभित्र अब ओली र नेपालबीच झन् टकराव पेचिलो हुने देखिएको छ ।