ओलीलाई महेश बस्नेतको सुझाव: एक गोल 'मिस' भो, नयाँ गोल हान्नुस - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ओलीलाई महेश बस्नेतको सुझाव: एक गोल ‘मिस’ भो, नयाँ गोल हान्नुस



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसद महेश बस्नेतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला अनपेक्षित भएपनि सम्मान गर्ने प्रतिक्रिया दिएका छन् ।

सर्वोच्च अदालतको अनपेक्षित फैसलाको सम्मान गर्दछु । ०५२ सालको मनमोहन अधिकारीको सरकारको संसद विघठन गरी निर्वाचनमा गएको प्रक्रिया विघठन गरेको फैसलाले राजनीति १ दशकसम्म अस्थिरता र विकृतीतर्फ फसेको थियो,’ सामाजिक सञ्जाल फेसबुकमा नेता बस्नेतले लेखेका छन् ।

अझै पनि राजनीति ओलीके वरिपरी घुम्ने बस्नेतको दाबी छ । उनले ओलीलाई सुझबुझपूर्ण कदम चाल्न पनि सुझाव दिएका छन् ।

‘जिम्मेवार नेतृत्वले त्यो कुरा धान दिएर सुझबुझपूर्ण कदम चाल्नुहुनेछ । सुखी नेपाली र समृद्ध नेपालका परिकल्पनाकार राजनेता के पी ओलीको वरिपरी आज पनि नेपालको राजनीति घुमिरहेको छ । एक गोल पोलमा लागेर फर्केको छ । नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा छ । मुलुकलाई समीकरणको दिशाबाट एकीकरणको दिशामा लग्नुहोस्,’ उनले अगाडि भनेका छन्, ‘विभाजनकारीहरूलाई एकताको प्रक्रियामा फर्काउनुस् । पद, पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्नेलाई सदाचारको बाटोमा हिडाउनुहोस् । राजनीतिलाई विकृती र विसंगती मुक्त बनाउनुहोस् । हामी सबैको सशक्त र दरो समर्थन तपाईंलाई रहनेछ ।’

ओलीको प्रतिनिधिसभा विघटन गर्ने पुस ५ को सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीको घोषणालाई सर्वोच्च अदालतले मंगलबार असंवैधानिक ठहर गर्दै बदर गरेको छ । अब प्रतिनिधिसभा बैठक १३ दिनभित्र अर्थात् फागुन २४ गतेभित्र बोलाउन पनि परमादेश दिएको छ ।