ओलीले भने: संसद विघटन गर्ने हो भने देउवालाई साथ दिन्छु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ओलीले भने: संसद विघटन गर्ने हो भने देउवालाई साथ दिन्छु



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभालाई विघटन गरेर चुनाव घोषणा गर्नुपर्ने बताएका छन् । उनले संसद प्रभावकारी हुन नसकेको भन्दै ताजा जनादेशमा जान प्रस्ताव गरेका छन् ।

आफू प्रधानमन्त्री हुँदा दुई पटक संसद विघटन गरेका ओलीले अहिले पनि आफू संसद विघटनको पक्षमा रहेको र यसमा गठबन्धनलाई साथ् दिने बताएका छन् । उनले भने, ‘यो संसद चलिराखेको छैन, ताजा जनादेशमा जान जरुरी छ।’

मंगलबार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा ओलीले संसद विघटन गर्नको लागि आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिने संकेत समेत गरेका छन् । अहिलेको गठबन्धनले नै चुनाव गराए पनि आफ्नो पार्टीलाई मान्य हुने ओलीले बताए ।

ओलीले अहिलेको राजनीतिक अकर्मण्यताको स्थितिमा ताजा जनादेशमा गएर देशलाई गतिशील बनाउनुपर्ने धारणा समेत राखेका छन् । ओलीले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेपनि दुबै पटक सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो । तर ओलीले अहिलेको संसदले ठीकसँग काम गर्न नसकेको भन्दै ताजा जनादेशमा जानुको विकल्प नभएको दावी गर्दै आएका छन् ।

एमालेले सभामुख अग्नि सापकोटाले एमालेलाई फरक ब्यबहार गरेको भन्दै निरन्तर संसद अवरुद्ध गर्दै आएका छन् । कतिपयले ओलीले संसद देख्ने नचाहेको समेत बताएका छन् । संसद अवरुद्ध गरिरहेकै बेलामा उनको यस्तो अभिव्यक्ति आएको हो ।

अर्को प्रसंगमा ओलीले जेट दुईजना पाइलटले चलाउने भएपनि पार्टी नचल्ने रहेछ भन्ने पाठ सिकिएको भन्दै अब चुनाव जितेर एउटै पाइलटले ५ वर्षसम्म सरकार चलाउने बताए । ‘जेट दुई जना पाइलटले चलाउँछन् । तर पार्टी दुई पाइलटले चलाउँदा चल्दैन रहेछ’, ओलीले भने, ‘सरकार ५ वर्ष चलेन अब चुनाव जितेर एउटैले चलाइन्छ ।’