नेकपा विवादको नयाँ मोड: ओलीले उल्टै प्रचण्डको राजिनामा मागे - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेकपा विवादको नयाँ मोड: ओलीले उल्टै प्रचण्डको राजिनामा मागे



काठमाडौं- आइतबार र सोमबार बालुवाटारमा विवाद समाधानको लागि भनिएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको बैठकले झनै विवाद थपेको छ । दुई अध्यक्षबीचको आजको छलफल अहिलेसम्मकै तिक्ततापूर्ण रहेको स्रोतले बतायो ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पहिले भन्दा आज फरक र उत्तेजित मुद्रामा देखिएपछि बैठकमा भानाभनकै अवस्था सृजना भएको बताइएको छ । स्रोतले बताएअनुसार ओलीले घुमाउरो पारामा प्रचण्डकै राजिनामा मागेका थिए । ‘म आफ्नो अडानमा टसमस हुन्न, राजिनामा नै दिनुपर्ने हो भने तपाईंले किन नदिने’ ओलीको भनाई उद्घृत गर्दै स्रोतले बतायो ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली हिजोभन्दा आज झन् कडा रूपमा प्रस्तुत भएका थिए । उनले ‘मैले छाड्ने कुरा केही छैन, छोड्न मन छ भने तपाईंहरूले छाड्दा हुन्छ’ भनेका थिए । छलफल एकाएक चर्काचर्कीमा परिणत भएपछि प्रचण्ड ‘झगडा गर्नुभन्दा निस्केर हिँड्नु उचित’ भन्दै बालुवाटारबाट बाहिरिएका थिए ।

बालुवाटारबाट खुमलटार पुगेका प्रचण्डले आजको बैठकले टाउको दुखेको बताएका थिए । खुमलटारमा आफू निकटहरूलाई छलफलको ब्रिफिङ गर्दै यत्तिको तनाव अहिलेसम्म नभएको बताएका थिए ।

प्रधानमन्त्रीको पछिल्लो प्रवृत्तिलाई दाहालले ‘घमण्डी, हेपाहा, अहंकारी भन्दै नेताहरूलाई बताएका थिए । प्रधानमन्त्रीले फेरि नयाँ पासा फ्याँकेको पनि प्रचण्डले संकेत गरेका थिए ।

प्रधानमन्त्रीले नयाँ पासाको रूपमा प्रचण्डपक्षले जनताको बहुदलीय जनवादलाई स्वीकार गर्नैपर्ने, त्यसो नभए अबका कदम फरक हुने संकेत दमेत दिएका थिए । महाधिवेशन र जबजको एकोहोरो दवावमा बालुवाटारको अर्को चालबाजी लुकेको प्रचण्डको दाबी छ ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले आफ्ना समुहका केहि नेताहरूले ओलीसंग सम्झौता गरिसकेको छनक पाएका छन् । विगतमा भन्दा फरक र उत्तेजित शैलीमा प्रधानमन्त्री ओलीले प्रचण्डमाथि नै राजीनामाको तरवार देखाउनुले पनि त्यो पुष्टि गर्छ ।