म भौगोलिकताले पछि परेको विद्यार्थी - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

म भौगोलिकताले पछि परेको विद्यार्थी



ओम प्रकाश वस्ती

म विद्यार्थी
म दुर्गम हिमाली क्षेत्रको विद्यार्थी
म दुर्गम पहाडी क्षेत्रको विद्यार्थी
म भौगोलिकता ले पिछडिएको विद्यार्थी
विद्यार्थी जीवन उकाली र ओराली गर्दै काटिरहेको विद्यार्थी ।
पुस्तकमा भएका विभिन्न विद्वान् र दार्शनिक का जीवनी पढ्दै
आफ्ना लक्ष, उद्देश्य र सपना बुनिरहेको विद्यार्थी ।

म कमै झोला बोक्ने विद्यार्थी ।
कहिले झोला नभएर झोला नबोक्ने त कहिले पुस्तक नभएर ।
जब म सँग कुनै संस्थाले दिएको झोला अनि पुस्तक दुवै हुन्छ ।
त्यो दिन त्यो छिन मेरो झोला पनि
मेरा हरेक पाइला सङ्गै पिठिउँ मा माचिदै रमाए झैँ लाग्छ ।
तर उकाली, ओराली, खोलानाला हिँड्नु पर्दा धेरै दिन चल्दैथ्यो झोला पनि ।
मेरा बाध्यताले प्राय हातमा पुस्तक अनि खल्तीमा कलम बोक्दै ।
उकाली चढ्दै ओराली झर्दै खोलानाला तर्दै
विद्यालय जाने र आउने प्रक्रिया समय सँगै चलिरहन्थ्यो ।

कहिलेकाहीँ म खोला तर्दै गर्दा
मेरा पैताला चिप्लिएर मैले मुस्किल ले पाएका पुस्तक बगाइदिन्थ्यो ।
त्यसपछि म अलि सानो हुँदा रुँदै घर फर्कन्थें
तर अचेल अलि ठुलो भएको छु
अब पुस्तक बग्यो भने दुखी हुँदै कल्पना गर्छु
त्यो बगेको पुस्तक जस्तै मेरो सरकारले पानी जहाज बगाइ दिए त !
म पनि त्यो पानी जहाजमा चढेर त..ल सहर तिर पढ्न पाउँथे होला ।
त्यो नदीको स्वाँ स्वाँ आवाज त चलिरह्यो तर मेरो कल्पनामा बगिरहेको आवाज रोकियो ।
अनि म कल्पना न हो भन्दै घर सरासर फर्किएं।

सहरी क्षेत्रका विद्यार्थीहरूले त शिक्षा लिन
परीक्षा उत्तीर्ण भएपछि मात्रै उकालो चढ्नुपर्छ होला ।
म त दिनै पिच्छे शिक्षा लिन उकालो चढ्ने विद्यार्थी ।।
कसैको दृष्टि नपुगेको दुर्गम क्षेत्र को विद्यार्थी ।
अँ.. अचेल सरकारले अनलाइन पठन पाठनमा जोड दिने कुरा गर्दैछ रे ।
मैले मेरा लाहुर गएका `बा´ लाई खबर सोध्न त
त..ल सहर गएर टावर टिपाउनु पर्छ ।

कयौँ दिन पुस्तक नभएर विद्यालय जान नपाउने म त्यो दुर्गम हिमालको विद्यार्थी ।
कयौँ दिन कापी, कलम नभएर विद्यालय जान नपाउने म त्यो दुर्गम पहाडको विद्यार्थी ।
मेरो सरकारले भनेको अनलाइन शिक्षा मैले पाउँछु होला त ?
सायद सरकारले हेर्ने विद्यार्थी र विद्यार्थीको क्षेत्रको सुचीमा
मेरो क्षेत्र भौगोलिकताले भित्र लुकेझैँ त्यो सुचीमा पनि भित्र लुकेछ ।
कसैको दृष्टि नै नपुग्ने गरी ।
सुगम, दुर्गम, सहरी, गाउँले सबै क्षेत्रका विद्यार्थीलाई
समान प्रश्न पत्र दिन सकिन्छ ।
तर किन समान शिक्षा दिन सकिँदैन सरकार ?
अझ म त विद्यालय जान २/३ घण्टा अनि
परीक्षा दिन हिउँ पन्छाउँदै ३/४ घण्टा हिँड्नु पर्ने विद्यार्थी ।
म त दुर्गम पहाडको विद्यार्थी म त दुर्गम हिमालको विद्यार्थी ।

सहरी क्षेत्रका विद्यार्थीहरूले त शिक्षा लिन
परीक्षा उत्तीर्ण भएपछि मात्रै उकालो चढ्नुपर्छ होला ।
म त दिनै पिच्छे शिक्षा लिन उकालो चढ्ने विद्यार्थी ।।
सहर पढ्ने रहर मा दशक बित्यो ।
रहर अझै जिउँदै छ ।
म त भौगोलिकता ले पिछडिएको विद्यार्थी ||

ओम प्रकाश वस्ती
घोडाघोडी नगरपालिका सुखड , कैलाली