कोरोनाका कारण प्रदुषण जिरो, ओजोन तहको प्वाल टालिँदै - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कोरोनाका कारण प्रदुषण जिरो, ओजोन तहको प्वाल टालिँदै



एजेन्सी- विश्वभर कोरोनभाइरसको महामारीपछि धेरै स्थानमा पूरै वा आंशिक लकडाउनबीच खुसीको खबर छ– ओजोन सतहको प्वाल सुधारोन्मुख छ।

न्यु साइन्टिस्टले जनाएअनुसार अन्टाक्र्टिकामाथिको ओजोनको प्वाल टालिँदै छ। यससँगै वायुमण्डलमा बहावमा परिवर्तन भएको जनाइएको छ।

दक्षिणी गोलाद्र्धको वायुमण्डलमा सुधार भएपछि नराम्रो परिवर्तन रोकिएको साइन्स एलर्टले जनाएको छ।

सन् १९८० को अन्त्यतिर ओजोन सतहमा क्षतिसँगै दक्षिणी वायु दक्षिणी ध्रुवतर्फ धकेलिएको थियो। यसले गर्दा वर्षा र समुद्री हावाको बहावको ढाँचा पनि परिणत भएको अध्ययनले देखाएको थियो।

सन् १९८७ को मोन्ट्रियल प्रोटोकलले भनेअनुसार ओजोन सतहमा क्षति पुर्‍याउने उत्पादन निषेध गरेको थियो। विश्वभरको यस्तो लकडाउनका कारण भएको वायुमण्डलीय परिवर्तनले काम गर्न थालेको उक्त अध्ययनमा बताइएको छ।

साइन्स डेलीको अनुसन्धान प्रतिवेदनअनुसार भू–उपग्रहबाट गरिएको नयाँ अनुसन्धान र हावापानीको तथ्याङ्क विश्लेषणबाट ओजोन सतह सुधारोन्मुख हुँदै गएको बताइएको छ। कोलोराडो–बल्डर विश्वविद्यालयका लागि अन्तरा बेनर्जी र उनको समूहले यो अनुसन्धान गरेको हो।

बेनर्जीका अनुसार १९८० कोजस्तै ओजोन सतह पूरै भरिन उत्तरी गोलाद्र्धमा सन् २०३० सम्म पर्खिनुपर्नेछ भने दक्षिणी गोलाद्र्धमा यो सन् २०५० मा मात्र सम्भव हुनेछ। अध्ययनमा समावेश गरिएको अन्टाक्र्टिकाको एउटा प्वाल भने सन् २०६० मा मात्र पूर्णतः सुधारिने उनी बताउँछिन्।

न्यु साइन्टिस्टले ओजोन सतहमा क्षति पुर्‍याउने चीजहरूको जीवनकाल लामो हुने बताएको छ। अर्थात्, ओजोन तहको पूर्णः सुधार अर्को दशकसम्म हुनेछैन।

यो प्रक्रिया पूर्णतः कोभिड–१९ महामारीका कारण उद्योग–कारखान बन्द भएकोले मात्र भएको होइन, तर विश्वभर वायुमण्डलमा हानिकारक चीज छोडिने प्रक्रिया रोकिएपछि यसले सकारात्मक वातावरणीय सुधार भने ल्याएको हो।

कोभिड–१९ लाई नियन्त्रण गर्ने प्रयासमा यसरी सबै उद्योग–कलकारखाना बन्द भएपछि कार्बन डाइअक्साइडको उत्पादन घटेको विश्व मौसम विज्ञान संगठनले जनाएको छ। उक्त संगठनले भने यसरी हानिकारक ग्यासको उत्पादन कमी हुनु भनेको जलवायु परिवर्तनविरुद्ध लड्न छोड्नु नभएको जनाएको छ।

सिभर वेडर युरोपले गरेको एक अध्ययनमा उत्तरी गोलाद्र्धमा विशेषतः चिसो मौसममा बढी कार्बन डाइअक्साइड उत्पादन हुने बताइएको छ। तर यसपटक भने यस्तो भएन।

‘हामीले एउटा रोचक विकास देखेका छौँ,’ अध्ययनकर्ताहरूले लेखेका छन्, ‘कार्बन डाइअक्साइडको मात्रा अन्य समयभन्दा बिस्तारै वृद्धि भएको देखिएको छ।’

‘अमेरिकाको हवाइस्थित माउना लाओ प्रयोगशालाबाट प्राप्त गत १२ महिनाको कार्बन डाइअक्साइडको तथ्याङ्क हेर्दा गत वर्ष यसै समय धेरै कार्बन डाइअक्साइड उत्पादन भएको थियो,’ उनीहरूले लेखेका छन्, ‘तर यस वर्ष वृद्धि पहिलेभन्दा बिस्तारै छ।’

ट्वीटरमार्फत् कोलोराडो बोल्डर विश्वविद्यालयका हावापानी वैज्ञानिक क्रिस करनौस्कसका अनुसार यसरी कार्बन डाइअक्साइडको उत्पादन घट्नु उद्योग–कलकारखाना रोकिँदा भएको हुनसक्छ। तर यही मात्र कारण हो भन्ने निश्चित प्रमाण नभएको उनी बताउँछन्।

सन् १९७५ देखि यसरी कार्बन डाइअक्साइडको उत्पादन न्यून भएको यो दोस्रोपटक भएको उनी बताउँछन्।

कोभिड–१९ महामारीपछि लकडाउन भएका इटाली र चीनजस्ता देशहरूमा वायु प्रदूषण पनि घटेको देखिएको छ।

ग्लोबल न्युजबाट