पद्मश्री साहित्य पुरस्कार पाण्डे र शर्मालाई प्रदान - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

पद्मश्री साहित्य पुरस्कार पाण्डे र शर्मालाई प्रदान



काठमाडौं : यस वर्षको पद्मश्री साहित्य पुरस्कार नयनराज पाण्डेको कृति “यार’लाई प्रदान गरिएको छ भने लामो समयदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिमा अमूल्य योगदान पुर्‍याएका डा. तारानाथ शर्मालाई पद्मश्री साधना सम्मान प्रदान गरिएको छ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष यी पुरस्कार र सम्मान प्रदान गर्ने गर्छ। वि.सं. २०६३ देखि वर्षभरि प्रकाशित पुस्तकमध्ये विशिष्ट कृतिलाई र २०६७ सालदेखि साहित्य, कलामा दीर्घ साधना गरेका साधकलाई प्रतिष्ठानले सम्मान गर्दै आएको छ।

दुवै पुरस्कारको राशि दुई/दुई लाख रुपैयाँ रहेको छ। गत वर्षसम्म पाँचवटा कृति मनोनयन गरी सार्वजनिक गरे पनि यस वर्षदेखि १० वटा कृति मनोनयन गर्ने योजना बनाइएको तर ‘प्राविधिक कारणवस’ भन्दै सूची घोषणा गर्ने योजना स्थगित भएको थियो।

पुरस्कार वितरण कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष जीवा लामीछानेले सिर्जनामा कुनै प्रतिस्पर्धा नहुने र सबै सिर्जनाको महत्त्व विशेष किसिमको हुने बताए। उनले पुरस्कृत नभएका कृतिप्रति पनि प्रतिष्ठानको उस्तै सम्मान रहेको धारणा व्यक्त गरे। सम्मान ग्रहणपश्चात डा. शर्माले पद्मश्री साधना सम्मानबाट आफू सम्मानित हुन पाउँदा आफ्ना सारा आलश्यहरू बिलाएर गएको धारणा व्यक्त गरे। उमेरले आफू ८० काटेको भन्दै लेखनमा उत्साह घट्दै गएको दुखेसो पोखे। ‘उमेरले असी काटेपछि आलश्यले सताउँदोरहेछ। रचनाकारितामा चाख घट्दै जाँदोरहेछ’, उनले भने, ‘तर सहृदयी पाठकहरूको प्रेरणाले भने लेखनमा झनझन प्रोत्साहन गरेको छ।’

यस्तै, पद्मश्री साहित्य पुरस्कार ग्रहणपश्चात पाण्डेले पुरस्कार पाउनु लेखकको जीवनको सबैभन्दा सुन्दर घटना नभएको तर एउटा असल कृतिको सिर्जना गर्न सक्नु लेखकको जीवनको सर्वाधिक सुन्दर घटना भएको बताए। लेखकले इमान्दार र जिम्मेवार भएर लेखेको कृतिलाई जब कसैले सुन्दर या सार्थक भनेर सम्मानित गरिदिन्छ, त्यो क्षण भने लेखकको जीवनको सुखद क्षण हुने उनले बताए। उनले भने, ‘यो पुरस्कारबाट सम्मानित हुन पाउँदा सुखद क्षणको बोध मलाई भइरहेको छ।’