पहाडी र मधेसीबीच द्वन्द्व सृजना गरेर देशलाई टुक्राउने षड्यन्त्र : देउवा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पहाडी र मधेसीबीच द्वन्द्व सृजना गरेर देशलाई टुक्राउने षड्यन्त्र : देउवा



३० चैत, पोखरा ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहाडी र मधेसीबीच द्वन्द्व सृजना गरेर देशलाई टुक्राउने षड्यन्त्र भइरहेको बताएका छन् ।

पोखराको चिप्लेढुंगामा बुधबार ४ नम्बर प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर ४ मा एमालेले जत्रो सभा कसैले गर्न सक्दैन भनेको भन्दै सम्बोधन सुरु गरेका देउवाले पोखरा आएर कांग्रेसको सभा हेर्न चुनौती दिए ।

देउवाले कांग्रेसलाई विदेशीले पत्याउने र पैसा जुटाउन सक्ने दाबी गरे । माओवादीलाई कसले पैसा दिन्छ भन्दै उनले अघि भने, ‘बृद्धि भत्ता दोब्बर हुन्छ, हुन्छ, हुन्छ ।’

देउवाले स्थानीय चुनावका लागि जिल्लाबाटै उम्मेदवारको नाम पठाउन आग्रह गरे । साथै उनले यो चुनावमा विद्रोह र अन्तरघात गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिए ।

नगर र गाउँपालिकाको निर्वाचनका लागि उमेदवारीको टिकट दिन योग्य प्रतिनिधि चयनको अधिकार क्षेत्र र जिल्ला कार्यसमितिलाई दिइएको बताए । ‘पार्टीको क्षेत्रीय र जिल्ला समितिले मात्रै आफ्ना ठाउँबाट को योग्य हो भन्ने थाहा पाउन सक्छ, केन्द्रमा नामावली पठाएर सही मान्छे चिन्न सकिँदैन,’ उनले भने, ‘चुनावमा पार्टी हार्छ भने त्यो अरुका कारण नभएर आफ्नै पार्टीका अन्तर्घातीको कारण हुन्छ ।

कांग्रेस अरुसँग हार्दैन, हारे कांग्रेससँगै हार्छ । त्यस्तालाई छाडिँदैन ।’ स्थानीय निकाय निर्वाचनलाई संविधान कार्यान्वयनको महत्वपूर्ण अवसर भएको बताउँदै उनले जिल्ला जिल्लाबाट आएका नेता–कार्यकर्तालाई टिकटका लागि योग्य उमेदवार चयन गर्न आग्रह गरे । उनले भने ‘को योग्य छ भनेर हामीले केन्द्रमा बसेर थाहा पाउने होइनौं, तपाईंहरूले नै जान्नु हुन्छ ।’

पार्टीबाट उमेदवारीको टिकट पाउनेलाई सबैले सघाउनुपर्ने उनले बताए । २०१५ सालको वीपी कोइरालाको प्रधानमन्त्रित्वको सरकारको स्मरण गर्दै उनले मुलुकमा समावेशी अधिकारका अवसरको अभ्यासमा आफ्नो पार्टी अग्रणी रहेको दाबी गरे । ‘कर्णाली, महिला, मधेसी, आदिवासी जनजाति, दलित, समाजमा पछि परेकाहरूले अधिकार पाउनुपर्छ भन्ने कांग्रेसको मान्यता हो,’ उनले भने, ‘पृथ्वीनारायण शाहले देश एकीकरण गर्दा पनि त्यो बेला लडाइँको अग्रमोर्चामा हुने आदिवासी जनजाति हुन्, देश सबैको हो ।’

अधिकार माग्दा एमालेले मधेसीलाई भड्काएको आरोप लगाएका उनले वृद्धभत्ताको व्यवस्था गरिनुको पछाडि सरकारको दिनसक्ने आर्थिक हैसियत बनाउने काम आफ्नो पार्टीले गरेको दाबी गरे । ‘पैसा हामीले ल्याएको हो, विदेशीले कांग्रेसलाई पत्याउँछ,’ उनले भने, ‘हाम्रो पार्टीले जिते वृद्धभत्ता दोब्बर बनाइदिन्छौं ।’

सभामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइरालाले पनि पार्टीको जितका लागि विद्रोही उठ्ने र अन्तर्घात गर्ने काम हुन नहुने भनाइ राखेका थिए ।

कोइरालाले स्व. गिरिजाप्रसादको सम्झना गर्दै भने ‘गिरिजाबाबु भन्नु हुन्थ्यो मलाई कसैको डर लाग्छ भने त्यो आफ्नै छायाँसँग लाग्छ ।

त्यो भनेको कांग्रेस हार्‍यो भने हराउने कांग्रेस नै हुन्छ ।’ पार्टीले उमेदवारी चयनको अधिकार स्थानीय नेतृत्वका लागि स्थानीय तहलाई नै दिएकाले समझदारीमा टिकट लिन योग्य छानेर जित्न सघाउनुपर्ने उनले बताएका थिए ।

नेता पौडेलले मधेसवादी दलहरूलाई स्थानीय निकाय निर्वाचनको अभ्यासबाट नभाग्न आग्रह गरेका थिए । ‘उहाँहरू अधिकारका लागि लड्नु भएको हो, संविधानले प्रदेश र स्थानीय निकायलाई दिएको अधिकार अब चुनावबाट नेतृत्व हातमा लिएर अभ्यास गर्नुपर्छ,’ उनले भने, ‘प्रदेशलाई अधिकार दिँदा जनतालाई स्थानीय तहमा अधिकार सम्पन्न बनाउनु पनि हाम्रो दायित्व हो ।’ एमालेलाई गाली गर्न करिब पाँच मिनेट खर्चेका उनले समस्या उब्जाउने काममात्रै एमालेले गर्दै आएको बताए ।

सभालाई नेताहरू कृष्ण सिटौला, गृहमन्त्री विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, तारानाथ रानाभाट, शारदा पौडेल, उमा अधिकारी, जीतजंग बस्नेत र नयनसिंह महरलगायतले सम्बोधन गरेका थिए ।