घर रंगाउँदै हुनुहुन्छ ‘होशियार’ ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

घर रंगाउँदै हुनुहुन्छ ‘होशियार’ !



 

काठमाडौं, ११ कात्तिक ।

हरेक मानिसले एउटा मिठो सपना बुनेको हुन्छ । की एउटा राम्रो चिटिक्क परेको बगैँचासहितको आँगन भएको घर वा बंगला बनाउने र आकर्षित रंगले घर सजाउने । पक्कै पनि हो घर जस्तोसुकै आकार प्रकारमा बनाए पनि त्यसको साजसज्जालाई थप आकर्षित बनाउने भनेको बजारमा पाउने विभिन्न ब्राण्डका रङ्गहरू नै हुन् । त्यसमाथी चाडबाडका बेला घरमा पाहुनाहरू बोलाउँदा आफ्नो नयाँ घरमा बोलाउन पाउँदाको खुसी बेग्लै हुन्छ । जसले गर्दा मानिसहरू हत्तारमा बजारमा रङ्गरोगनका लागि राम्रो नराम्रो भन्दा पनि सस्तो बलियो र टिकाऊ हुने रङ्ग पाउँ भनेर बजारमा गएर किन्ने गरेको पाइन्छ । त्यसले आफ्नो परिवार र कामदारको स्वास्थ्यमा कत्तिसम्मको असर गर्दछ त्यसको मेसो कसैले पाउँदैन यहाँसम्म की त्यो रङ्गले स्वास्थ्यलाई असर गर्छ वा गर्दैनसमेत थाहाँ पाएको हुँदैन । त्योभन्दा बरु होलीका दिन खेलिने रङ्गले असर गर्छ भनेर मानिसहरू आफू, परिवार र अरूलाई सचेत गराउनतिर लाग्छ तर घर सजाउनलाई भनेर बजारबाट ल्याइने विभिन्न कम्पनीका रङ्गले स्वास्थ्यमा असर गर्छ वा गर्दैन कुनै ख्याल गरेको पाइँदैन ।

नेपालीहरूको ठूलो चाड दशैँ सकिसकेको छ अहिले दोश्रो ठूलो चाडपर्वका रूपमा शुभ–दीपावली अर्थात तिहार र छठ पर्व नजिकिँदै छ । यहीँ चाडपर्वलाई लक्षित गरेर विभिन्न ब्राण्डका रङ्ग उत्पादन गर्ने कम्पनीहरूले प्रचार प्रसार गर्नका लागि भन्दै राजधानीलगायत देशका विभिन्न स्थानमा होर्डिङ्ग बोर्ड, टिभी, रेडियो, पत्रपत्रिकालगायतमा करोडौं खर्च गरेर विज्ञापन गरिरहेका छन् । एउटा उखानै छ ‘बोल्नेको पिठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन’ भने जस्तै ग्राहकहरूलाई आकर्षित गर्न विज्ञापनका लागि करोडौं खर्च गरिरहेका छन् । यहाँसम्म की चिठ्ठासमेत दिएर आकर्षित पारिरहेका छन् । कसैलाई विदेश भ्रमणको टूर, कसैलाई कार, कसैलाई बाईक, अपार्टमेन्टलगायत थुप्रै प्रलोभन दिएर आफ्नो ब्राण्डको पेन्ट्सहरू बिकाउन सबै एकसे एक तम्सिएका छन् ।

अर्कोतिर मानिसहरू विज्ञापन र आकर्षक रूपमा राखिएका चिठ्ठाको पछाडि लागेर बजारमा पाइने विभिन्न ब्राण्डका रङ्ग अर्थात पेन्ट्सहरू ल्याएर आफ्नो घर सजाउने कार्यहरू गरिरहेका छन् । तर त्यसको क्वालिटी, त्यसको मापदण्ड, त्यसले आफ्नो घर–परिवारलाई पार्ने असर बारे अधिकांश मानिसहरू अनभिज्ञ नै छन् । हेरिन्छ र सोधिन्छ त मात्र यो कति वर्ष टिक्छ ? रङ्ग खुइलिन्छ की नाइँ !

तर अब होशियार हुनुहोस् । सबैलाई सचेत गराउनुहोस् । आफ्नो स्वास्थ्य रहे सबैथोक पाइन्छ । आफ्नो स्वास्थ्य नै कमजोर भएपछि भोलि के होला आफैँ अनुमान लगाउन सकिन्छ ।

हामी प्रसङ्ग उठाउँदै छौं । बजारमा अहिले पाउने विभिन्न ब्राण्डका घरमा रङ्गाउने पेन्ट्सहरूका बारेमा । भर्खरै जनस्वास्थ्य तथा वातावरण प्रबद्र्धन केन्द्र (सीफेड)ले गरेको एक अध्ययनकाअनुसार आकर्षक र रङ्ग चम्किलो देखाउन अधिकतम रूपमा लिड अर्थात सिसा राखिएका पेन्ट्सहरू बजारमा अधिक मात्रामा बिक्री भइरहेका छन् ।

सीफेडका कार्यकारी निर्देशक रामचरित्र शाहले बताएअनुसार अहिले बजारमा केही कम्पनीका पेन्ट्समा सिसाको प्रयोग घटे पनि त्यो अझै बढी मात्रामा पाइएको छ । सीफेडले २१ कम्पनीका ४९ वटा नमूना परीक्षण गरिएकोमा बर्जर, एशिएन, कन्साई, पशुपति, नेरोल्याक, शालिमारलगायत पेन्ट्समा बढी सिसा भेटिएको हो ।

सन् २०१२ मा सीफेडले गरेको एक अध्ययनका क्रममा पेन्ट्समा ९० पीपीएम सिसा मात्र हुनुपर्नेमा एक लाख ३० हजारसम्म पीपीएम भेटिएको थियो भने त्यसको एक वर्ष अगाडि गरिएको अनुसन्धानका क्रममा अझ बढी अर्थात दुई लाख १२ हजारसम्म पीपीएम सिसा भएका पेन्ट्सहरू बजारमा खुला रूपमा बिक्री भएका थिए ।

नेपालमा त्यसको मापदण्ड नभएका कारणले पनि पेन्ट्स उत्पादक कम्पनीहरूले मानिसको जीवनमाथी नै खेलवाड गर्दै सिसा मिसाउँदै आएका छन् । बहुराष्ट्रिय कम्पनीहरूले सिसाको प्रयोगलाई घटाउँदै लगेका छन् भने नेपाली कम्पनीहरूमा अझै पनि बढी रहेको सीफेडका कार्यकारी निर्देशक शाहले बताए ।

नेपालमा आयात तथा उत्पादन भएका पेन्ट्समा सिसाका साथै पारो, आर्सनिक, क्याटोमियुक जस्ता घातक रसायनहरू मिसाइएको हुन्छ । जसले मानिसको स्वाथ्यमा प्रत्यक्ष असर पार्दछ । र पछि गएर शरीरमा सिसाको मात्रा बढ्दै जाँदा पाचन प्रणाली, मस्तिष्क, मेरुदण्ड र नसामासमेत गम्भीर असर पार्दछ । लिडले रक्तअल्पतासँगै मिर्गौलालाई पनि असर गर्छ ।

शरीरमा क्याल्सियम र आइरन कम हुँदा हाडमा जाने रगतमा रहेको सिसाले मृत्युसमेत गराउँछ । बालबच्चाको रगतमा १,५०० मिलीग्राम सिसा जम्मा हुँदा मृत्यु समेत हुन सक्छ । लिडले वयश्ककोसमेत रातो रक्तकोषिकालाई मार्दै जान्छ ।

त्यत्ति मात्र नभई मानिसको शरीरमा हावा, खाना र पानीको माध्यमबाट सिसा प्रवेश गर्दछ । पेन्ट्समा हुने सिसा नेपालका बालबालिकामा समेत भेटिएको छ । सिसाले बौद्धिक क्षमता, मानसिक क्षमतालाई कमजोर बनाउँछ भने आँखाको दृष्टि क्षमता पनि घटाउने, अनिन्द्रा हुने, छाडे रोग लाग्ने, अचेत हुने, मृगौलाले काम गर्न छाड्ने, बाँझोपन र नपुंसक हुने हुन्छ । यो कुराको पनि यहाँ जानकारी गराऊँ की सिसा संसारकै प्रमुख ६ विषमध्ये पहिलो नम्बरमा पर्दछ । यसका कारण विश्वका १ दशमलव ८ देखि २ दशलव २ करोड मानिस प्रभावित रहेको विश्व स्वाथ्य संगठनको तथ्याङ्क रहेको छ ।

अमेरिकामा ९० पीपीयम सिसा मिसाउन सकिने मापदण्ड छ भने भारतमा एक हजार, श्रीलंकामा ६ सय पीपीएम रहेको छ । नेपाल र बंगलादेशमा यसको मापदण्डसमेत बनिसकेको छैन ।

source:mediadabali