पक्लिहवा कपको उपाधि तिलोत्तमा र लिलारामलाई - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

पक्लिहवा कपको उपाधि तिलोत्तमा र लिलारामलाई



भैरहवा । ‘राष्ट्र निर्माणमा कृषिको आवश्यकता, खेलकुदमा युवाको सहभागिता’ भन्ने मूल नाराका साथ कृषि र पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा क्याम्पसमा जिल्ला स्तरिय अन्तर कलेज सुपर सिक्स क्रिकेट र भलिबल प्रतियोगिताको समापन गरिएको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा भलिबल तर्फ सेन्ट जोसेफलाई ३–२ को सेटमा पराजित गर्दै तिलोत्तमा मा.वि. फर्साटिकरले पक्लिहवा कपको उपाधि प्राप्त गर्न सफल भएको छ । त्यस्तै क्रिकेट तर्फ लिलाराम न्यौपाने मा.वि.ले सेन्ट जोसेफलाई पराजित गर्दै पक्लिहवा कपको उपाधि प्राप्त गर्न सफल भएको खेल संयोजक अनिल यादवले बताए ।

टस जितेर ब्याटिङ रोजेको सेन्ट जोसेफले निर्धारित ५ ओभरमा ५ विकेटको क्षतिमा ७३ रन जोडेको थियो भने ७४ रनको लक्ष्य पाएको लिलारामले ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्न सफल भएको थियो ।

२०७० साल देखी प्रत्येक वर्ष हुँदै आएको “पक्लिहवा कप“ को यो पाचौँ संस्करण हो । प्रतियोगितामा जिल्ला स्तरीय अन्तर कलेज सुपर सिक्स क्रिकेट र भलिबल खेल भएको थियो ।

जसमा क्रिकेट तर्फ २४ र भलिबल तर्फ १४ टिमको सहभागिता रहेको अनेरास्ववियु (क्रान्तिकारी) मूल इकाइ समिति पक्लिहवा कृषि क्याम्पसका अध्यक्ष राजीव रमन न्यौपानेले जानकारी दिए ।

जिल्ला खेलकुद विकास समिति रुपन्देहीको सह–आयोजना रहेको प्रतियोगिताको मुख्य प्रायोजक स्टेन्डर्ड टेलरिङ् सेन्टर रहको थियो । प्रतियोगितामा क्रिकेटको विजेता टिमलाई २० हजार र भलिबलको विजेतालाई १० हजार नगद सहित सिल्ड र मेडल पुरस्कार राखिएको थियो ।
पक्लिहवा कपको समापन गर्दै प्रमुख अतिथि एवं अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय उपमहासचिव मिलन एम.सी.ले क्याम्पस प्रशासन र राज्यले विद्यार्र्थीको अतिरिक्त क्रियाकलाप क्याम्पसले सञ्चालन गर्नुपर्ने भए पनि विद्यार्र्थी संगठनले त्यस्ता कार्यक्रम गर्नु परेकोमा खेद प्रकट गरे । प्रतियोगितामा मिडिया पार्टनरको रुपमा गौतमबुद्ध सन्देश दैनिक, रुपन्देही एफ.एम. र तिनाउ एफ.एम. रहेका थिए ।