पाल्पामा पनि ‘लोडसेडिङ’ - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

पाल्पामा पनि ‘लोडसेडिङ’



पाल्पा, २९ भदौ ।
तानसेनमा केही दिनयता विद्युत््को गडबडी अनौठो देखिएको छ । विद्युत्् आउने र जानेको कुनै टुंगो छैन । जसले गर्दा यहाँका व्यापारी, व्यवसायी, मिडिया संचालकलगायत सर्वसाधारण मर्कामा परेका छन् ।
बुटवलमै भएको ‘फल्ट’ पत्ता नलाग्दा यस्तो समस्या भएको नेपाल विद्युत्् प्राधिकरण पाल्पा वितरण केन्द्रको भनाइ छ । तर पानी पर्दा भने मस्याम र दोभान जंगलमा ‘फल्ट’ पत्ता लाग्न सक्दैन । केही दिनअघि १२ घण्टा विद्युत्् अवरुद्ध भयो । १५ मिनेट बलेको बिजुली पुनः अवरुद्ध हुन्छ । घण्टौं आउँदैन । बुटवलबाट तानसेन ल्याउने हाइटेन्सन लाइन घना जंगलबाट ल्याइएको छ । त्यहाँ बिग्रेर पत्ता नलाग्दा लामै समय अन्धकारमा बस्नुपर्ने अवस्था भने यहाँ नौलो होइन । यस्तो सास्ती खेप्ने यहाँका बासिन्दाको बानी परिसकेको छ । कोही बोल्दैन । सबै चुपचाप सहिरहन्छन् ।

प्राधिकरणका कर्मचारीको लापरवाहीले यस्तो समस्या बेहोर्नु परेको आरोप सर्वसाधारणले लगाए । तर कोही पनि अहिलेसम्म विद्युत्् कार्यालयमा पुगेर कुनै गुनासो गरेका छैनन् । यहाँका राजनीतिक दलहरूसमेत कुनै वास्ता गर्दैनन् । कर्मचारीले जहिले नि बुटवलबाट बिग्रेको भनिदिन्छन् । कहिल्यै उपभोक्ता सन्तुष्ट पार्न उनीहरू सक्दैनन् । ‘झुम्सासम्म लाइन लाग्यो भने मस्याम डाँडा र जंगल उक्लिनु बाध्यता छ,’ केही दिनअघि मात्रै सरुवा भएर आएका वितरण केन्द्र प्रमुख रामु श्रेष्ठले भने । यसपटक बुटवलबाटै बिग्रेको उनले दाबी गरे ।

बुटवल गोलपार्कदेखि जोगीकुटीसम्मकोको ‘फल्ट’ पत्ता नलाग्दा समस्या भएको हो । उनले राजमार्ग चौराहा क्षेत्रमा भएको समस्याको समाधान निस्केकाले अब केही आशा पलाएको बताए । उनले बुटवलदेखि बसन्तपुर, झुम्सा, मस्यामको डाँडामा आउने ‘फल्ट’ मुख्य रहेको सुनाए ।

प्राधिकरणको लापरवाही र अघोषित लोडसेडिङ्गले उपभोक्ताले हैरानी खेप्नु परेको छ । उनीहरूलाई प्राधिकरणका कर्मचारीले खेप्ने समस्या थाहा हँुदैन । ‘सर्वसाधारणलाई हाम्रो दुःख कहाँ छ भन्ने थाहा नहुँदा गाली गरेका हुन्छन्,’ कार्यालयका एक कर्मचारीले पीडा पोखे । तर, सर्वसाधारण भने यो पीडालाई सुन्न चाहन्नन् । छिनमै आउने र छिनमै जाने विद्युत्् लाइनप्रति सधै आक्रोस नै पोख्छन् । रूपन्देहीको बुटवलबाट घना जंगल भएर विद्युत््का पोल र तार तानसेन ल्याइएको छ । त्यही पोलमा आउने समस्या पत्ता लगाउन नसक्दा कर्मचारी र उपभोक्ताले हैरानी खेप्नु परेको हो ।

‘पहाडी जिल्ला र औद्योगिक क्षेत्र नभएकाले लोडसेडिङ्ग कम छ । तर, जंगलमा बिग्रने समस्या समाधान हुन नसक्दा उपभोक्ताले विद्युत्् उपभोग गर्न पाएका छैनन् । एभरेष्ट कम्प्युटरका गुराँस आत्रेयले अघोषित लोडसेडिङ्ले हैरानी खेप्नु परेको बताए ।
बुटवलबाट तानसेन हुँदै गुल्मी तम्घास लगेको प्रशारण लाइनमा २० किलोमिटर क्षेत्र जंगल र डाँडा (ठाडो उकालो) क्षेत्र पर्छ । ३५ वर्षअघि बिस्तार भएको विद्युत्् लाइन अहिलेसम्म सोही स्थानबाटै छ । तत्कालीन अवस्थामा छिटो बिजुली ल्याउनुपर्ने भएकाले जंगल क्षेत्रबाट सोझो दुरीमा पोल गाडिएको हो ।
‘त्यतिबेला अहिलेको जस्तो समस्या आउला भन्ने सोचिएन होला,’ विद्युत्् वितरण केन्द्र प्रमुख श्रेष्ठले भने । उनका अनुसार झुम्सादेखि डुम्रेसम्मको लाइन राजमार्ग भएर ल्याउन तार टाङ्ग्ने काम भइरहेको छ । तर, झुम्सादेखि जंगलबाट बुटवल जानुपर्दा भने समस्या नै छ । पर्याप्त रकम विनियोजन भए सडक छेउबाटै पोल गाडेर तानसेनसम्म प्रशारण लाइन बिस्तार गर्न सकिन्थ्यो । यसअघिका कार्यालय प्रमुख कपिलदेव पाण्डेयले यो काम अघि बढाएका छन् । ‘सडक छेउबाट ल्याउन सकियो भने अहिलेजस्तो लामो समय विद्युत्् अवरुद्ध हुँदैन,’ यसअघिका प्रमुख पाण्डेयले भने । मन्त्री, सांसद, दलका नेता गाउँमा विद्युत्् बिस्तार गर्न जिविस र प्राधिकरणमा पुग्छन् । प्रशारण लाइन परिवर्तन गर्न अहिलेसम्म आवाज उठाउन सकेका थिएनन् ।
हावाहुरी, चर्कोघाम र वर्षाले विद्युत््मा समस्या आउने गरेको छ । डिस्क, पिन र इन्सुलेटर बिग्रने समस्यामा कमी आउने विश्वास छ । दीर्घकालीन समस्याको समाधान भने कालीगण्डकीको १३२ केभी प्रशारण लाइनमा सवस्टेशन बनाएर जोड्नु नै हो । वर्षा लाग्नासाथ पाल्पा, गुल्मी र अर्घाखाँची (साविकका दुई गाविस) का बासिन्दाले विद्युत्् अवरूद्ध हुँदा हैरानी खेप्न बाध्य छन् ।
विद्युत््कै कारण सदरमुकाम तानसेनका धारामा पानी तान्न समस्या छ । लिफ्टिङ गरेर पानी तान्नु पर्ने तानसनेका उपभोक्ताले वर्षैभरि सास्ती खेप्न बाध्य छन् । ग्रामीण भेगका बासिन्दासमेत लिफ्टिङ प्रविधिबाट पानी तान्नुपर्ने भएकालाई हैरानी भएको बताए । जिल्लाका एफएम रेडियो विद्युत्् अनियमितताले समस्यामा छन् । मुक्तिनाथ एफएमका समाचार प्रमुख मिलन विकले विद्युत्् अनियमितता हुँदा रेडियो नै बन्द गर्न बाध्य हुनु परेको गुनासो गरे । ‘एक दिन बिराएर यस्तो सास्ती खेप्नु परेको छ,’ उनले भने, ‘जसले गर्दा समस्या नै हुने गरेको छ ।’
विगतमा वर्षायाम र हावाहुरी लाग्दा विद्युत्् अवरूद्ध हुने गरे पनि केही महिनायता जुनसुकै समयमा समस्या आउने गरेको छ । ‘सोध्यो भने बुटवलबाट बिग्रेको भन्ने जवाफ आउँछ,’ उनले भने । २०२८ सालमा सिद्धार्थ राजमार्ग बनेपछि मात्र विद्युत्् लाईन बिस्तार भएको हो । फल्ट पत्ता लगाउन समय लागेपछि दुई÷तीन दिनसम्म विद्युत्् नहुने समस्या सधैको हो । जंगल क्षेत्र र उकालो बाटो हिड्नु पर्ने भएकाले कहाँबाट बिग्रेको छ भन्ने पत्ता लगाउनै लामो समय लाग्छ । विद्युत्् अनियमित हुँदा जिल्लामा ठूला उद्योगधन्दा नभए पनि एफएम, दुध डेरी, मासु उद्योग, पत्रपत्रिका प्रकाशन हुन नसक्ने समस्या हुन्छ । विद्युत््कै कारण रेडियोको प्रशारण रोकिन्छन् । मोबाइलका बिटिएस टावर, प्रहरीका रेडियो सेट विद्युत््कै कारण समस्यामा परेका छन् ।
कम्प्युटर इन्स्टिच्युट, उद्योग, कलकारखाना, व्यापारी, व्यवसायीलाई पनि विद्युत्् आपूर्ति नहुँदा समस्या हुने गरेको व्यवसायीले बताए । विद्युत्् अभावले सर्वसाधारणले प्रशासनिक काम गर्नसमेत चर्को शुल्क तिर्न बाध्य भएको उपभोक्ताको गुनासो छ । पटक पटक विद्युत् लाईन कटौती हुने र जसका कारण व्यापारी, व्यावसायी तथा सर्वसाधारणले नोक्सानी बेहोर्नु परेको भन्दै दुई व्यवसायिक संगठनले विद्युत् कार्यालयमा डेलिगेशन गएका छन । अघोषित विद्युत् कटौतीले व्यवसायलाई नोक्सानी व्यहोर्नु परेको भन्दै उद्योग वाणिज्य संघ र कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघ संयुक्त रूपमा डेलिगेशनमा गएका हुन् । सो क्रममा विद्युत्् प्राधिकरणका वितरण प्रमुख रामु श्रेष्ठले बुटवलबाट लाइन आउने भएको कारणले गर्दा समस्या भोग्नु परेको बताए ।
यसको केही हदसम्म भए पनि समाधान गर्न पहल गर्ने उनले बताउँदै ठूला उद्योगकालागि पहल नगरेसम्म यस्तो समस्या भोगिरहने बताएका थिए । उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले सबैलाई समस्या भएकाले यस विषयमा ध्यानाकर्षण गराएको बताए । ‘विना जानकारी तथा सामान्य मौसम परिवर्तन हुँदासमेत विद्युत्ीय समस्या आइरहेको र विद्युत्् नहुनाले आईटी सम्बन्धी कुनै कार्य नहुने हुनाले यसप्रति गम्भीर हुन आग्रह गरेका छौं,’ उनले भने । क्यान महासंघका अध्इक्ष महेश शर्मा आचार्यले सबै काम ठप्प हुने भएकाले यस विषयमा सम्बन्धित निकाय गम्भीर हुन आग्रह गरे । उनका अनुसार कम्प्युटर व्यवसायी मात्र नभएर अन्य उद्योग संचालनमा समेत समस्या हुने गर्छ ।

विद्युत् समस्या समाधान गर्न तीनदिने अल्टीमेटम
संयुक्त विद्यार्थी संघर्ष समिति पाल्पाले जिल्लाको विद्युत्् अनियमितालाई सुधार गर्न ३ दिने अल्टीमेटमसहितको आन्दोलनका कार्यक्रम सुरु गरेको छ । विद्यार्थी नेता राजकुमार पन्थीको नेतृत्वमा गएको विद्यार्थीहरूले पाल्पामा विद्युत् आपूूर्तिमा भएको अनियमितता तथा चरम लापरवाही, विद्युत् क्षेत्रीय कार्यालय देखि जिल्लासम्मको आर्थिक चलखेल, कमिसन, कमसल उपकरण, अवैज्ञानिक वितरण प्रणाली, प्रशारण लाइन सेटिङ्गमा भएको चलखेल, न्यून भोल्टेज जस्ता कारणले दैनिक पचासौं पटक विद्युत् आउने जाने गरेको ठहरसहित ध्यानाकर्षण पत्र बुझाएको हो ।
लोडसेडिङ्गमुक्त जिल्ला पाल्पामा यसरी गरिने अघोषित लोडसेडिङ्गले गर्दा आम सर्वसाधारण, व्यवसायी, विद्यार्थीलाई असहज परिस्थिति सिर्जना भएको विद्यार्थी नेता पन्थीले बताए ।
विद्युत् आपूर्तिमा भएको पटक पटकको समस्याले जिल्लामा प्रत्यक्ष रूपमा खानेपानी उपभोक्ता, व्यवसायी, उद्योगीहरू समेत प्रत्यक्ष मारमा परी जनजीविकामा प्रभाव पारेको छ नेविसंघका केन्द्रीय सदस्य हरीबोल भट्टराईले भने यो समस्या ३ दिनभित्र समाधान नभए कडा संघर्षमा उत्रिने छौं ।
पाल्पा जिल्ला लगायतका पहाडी क्षेत्रका विद्युत् प्रशारण लाइनमा भएको यसखाले अयिमितता लाप्रवाही पूर्ण विद्युत् कटौती अघोषित लोडसेडिङ्ग नै हो क्रान्तिकारीका पूर्वकेन्द्रीय सदस्य बलु गैरेले भने यसलाई सुधार गर्न पाल्पा प्राधिकरण र प्रशासन जिम्मेवार बन्नु पर्दछ ।

विद्यार्थी संगठनले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ– यस्तो गैरजिम्मेवारपूर्ण हर्कत नेपाल सरकारको लोडसेडिङ्गमुक्त उज्यालो नेपाल निर्माण अभियानको मर्म र भावना विरुद्धको षड्यन्त्र हो भन्ने आभाष आम जनतालाई भएको छ । त्यसैले यि सम्पूर्ण समस्या समाधानसहित नियमित विद्युत् आपूर्तिको तत्काल पहल कदमीको लागि ध्यानाकर्षण गर्दै पाल्पा क्षेत्रमा विद्युत् आपूर्तिको समस्या ३ दिनभित्र समाधान नगरिए हामी क्रियाशील विद्यार्थी संगठनहरू चरणवद्ध शसक्त आन्दोलन गर्न बाध्य हुनेछौं । यो आन्दोलनबाट उत्पन्न हुने परिस्थिततिको सामना सम्बन्धित पक्ष हुनेछ ।
ध्यानाकर्षण पत्र नेपाल विद्यार्थी संघका केस हरीबोल भट्टराई, माओवादी केन्द्र निकटको क्रान्तिकारीका जिल्ला अध्यक्ष पदम सोमै, अखिल छैठौंका जिल्ला अध्यक्ष पुरन पोख्रेल, नेपाल कम्यूनिष्ट पार्टी निकटको अखिल क्रान्तिकारीका संयोजक लंकबहादुर रानाले संयुक्त हस्ताक्षर गरी विद्यार्थी नेता ज्योति पाण्डेलगायत पत्रकारको रोहवरमा बुझाइएको हो ।
ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी, प्राधिकरण क्षेत्रीय र केन्द्रीय कार्यालयमा समेत बुझाएको विद्यार्थी संगठनले जनाएका छन् । ध्यानाकर्षण पत्र बुझ्दै पाल्पा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले आफू पाल्पामा नयाँ भएको र पाल्पाको समस्या समाधानका लागि विशेष पहलकदमी लिएको बताए । पहाडी भूभाग र लामो दुरी भएकाले पाल्पाको विद्युत् पानी र हावाहुरी आउना साथ जाने गरेको श्रेष्ठले बताए ।