एमालेमा महासचिवको रोचक प्रतिस्पर्धा: पाँच नेताको भिडन्त - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एमालेमा महासचिवको रोचक प्रतिस्पर्धा: पाँच नेताको भिडन्त



काठमाडौं : एमालेको १० औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा अब को महासचिव बन्ला भन्ने चासो बढेको छ। अध्यक्ष केपी शर्मा ओलीले संकेत नगरेका कारण महासचिव पदका आकांक्षी नेता खुलेका छैनन्। तर, चार नेताले भित्रभित्रै महासचिव पदका लागि गृहकार्य गरिरहेका छन्।

अध्यक्षपछि दोस्रो कार्यकारी र शक्तिशाली पद मानिन्छ, महासचिव। उपमहासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य शंकर पोखरेल यो पदमा मुख्य दाबेदार मानिएका छन्। स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, सचिव पृथ्वीसुब्बा गुरुङ र उपमहासचिव घनश्याम भुसाल पनि आकांक्षी रहेको नेताहरू बताउँछन्।

उम्मेदवारी घोषणा नगरे पनि आकांक्षीहरूले आफू निकटमार्फत प्रचार थालेका छन्। स्थायी समिति सदस्य पोखरेलनिकट कार्यकर्ताले सामाजिक सञ्जालमार्फत पोखरेलका पक्षमा ‘लबिङ’ सुरु गरेका छन्। पौडेलनिकट नेता/कार्यकर्ता पनि सामाजिक सञ्जालमा उनका पक्षमा प्रचार गरिरहेका छन्।

राजनीतिक वृत्तले अब बन्ने महासचिवलाई अध्यक्ष ओलीको उत्तराधिकारीका रूपमा पनि हेर्ने गरेको छ। त्यही भएर ओलीको समर्थनले मात्र आकांक्षीमध्ये जो कोही पनि महासचिव बन्ने पक्कापक्की छ। पौडेल र पोखरेल दुवै जना लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्छन्। पौडेल रुपन्देहीका हुन् भने पोखरेल दाङका। उपमहासचिव पौडेल एमाले र माओवादी एकतापछि बनेको नेकपाका महासचिव बनेका थिए। सर्वोच्च अदालतले एकता भंग गरिदिएपछि पौडेल एमालेको साविककै पद उपमहासचिवको जिम्मेवारीमा छन्।

उनी नेता, कार्यकर्ताबीच समन्वयकारी भूमिकामा अब्बल मानिन्छन्। उनले नेकपा हुँदा तत्कालीन अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच समन्वयकारी भूमिका निर्वाह गरेका थिए। पार्टी एकीकरणमा उनको सक्रिय सहभागिता थियो। संगठन विभाग प्रमुख रहेका पौडेलको पार्टीमा राम्रै पकड मानिन्छ।

स्थायी समिति सदस्य पोखरेल एमालेको मार्गदर्शन सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)का व्याख्याताका रूपमा चिनिन्छन्। वैचारिक नेताका रूपमा चिनिने पोखरेललाई पछिल्लो समय ओलीले साथमा लिएर कार्यक्रममा हिँड्ने गरेका छन्। धनकुटाको छिन्ताङदेखि नेपालगन्जसम्मका सभामा ओलीले पोखरेललाई नै साथमा लिएका थिए।

ओलीले असोज १५ देखि १७ सम्म गोदावरीमा भएको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन वाचन गर्न पनि पोखरेललाई नै दिएका थिए। पोखरेल यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री थिए।

स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे पनि महासचिवका दाबेदार हुन्। नवौं महाधिवेशनमा ईश्वर पोखरेलसँग ६ मतले मात्रै महासचिव पदमा पराजित भएका थिए। पदाधिकारीसम्म सर्वसम्मत हुनुपर्ने पाण्डेको भनाइ छ। नवौं महाधिवेशनमा झिनो मतले पराजित भएका कारण यसपटक आफूलाई महासचिव बनाउनुपर्ने उनको तर्क छ। ‘महासचिवमा झिनो मतले हारेको हुँ’, उनी भन्छन्, ‘त्योभन्दा तल जाने कुरा भएन।’
विगतमा माधवकुमार नेपालनिकट पाण्डे १० बुँदे सहमतिपछि एमालेमै सक्रिय छन्। महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक छन्। आफू उम्मेदवारीभन्दा पनि महाधिवेशन व्यवस्थापनमा व्यस्त भएको उनी बताउँछन्। चितवन पाण्डेको गृहजिल्ला हो। रामबहादुर थापा संयोजक भए पनि पाण्डे नै सबैभन्दा धेरै व्यवस्थापन सक्रिय देखिन्छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री भइसकेका नेता हुन् सचिव पृथ्वीसुब्बा गुरुङ। सचिव भइसकेका कारण आफू महासचिवको स्वतः दावेदार भएको गुरुङ बताउँछन्। ‘सचिव भइसकेकाले महासचिव बन्ने चाहना छ’, उनी भन्छन्, ‘तर पार्टी अध्यक्षको सहमतिमा मात्र अघि बढ्ने हो।’

१० बुँदे सहमति गरेर एमालेमै सक्रिय उपमहासचिव भुसाललाई महासचिव बनाउनुपर्ने भन्दै उनी पक्षधर नेता लागिपरेका छन। भुसालले भने मुख खोलिसकेका छैनन्। जबजलाई समयानुकूल सुधार गर्दैै जानुपर्ने धारणा भुसालले राख्दै आएका छन्। सालिन र भद्र स्वभाव भएका नेता भने चिनिने पार्टी सचिव प्रदीप ज्ञवालीलाई महासचिव बनाउनुपर्ने भन्दै एकथरि दोस्रो तहका नेता सक्रिय छन्। तर, महासचिव नभए ज्ञवाली उपहासचिव बन्ने नेताहरू बताउँछन्।

अध्यक्षमा रावलको उम्मेदवारी घोषणा
एमाले उपाध्यक्ष भीम रावलले १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने संस्थापन पक्षको तयारी रहेका बेला आइतबार उपाध्यक्ष रावलले उम्मेदवार बन्ने बताएका हुन्। पदाधिकारीमा उम्मेदवारी घोषणा गर्ने रावल पहिलो हुन्।

ओलीले फेरि अध्यक्ष नबन्ने भनेर गरेको घोषणाको ‘सम्मानका लागि’ आफू अघि सरेको रावलले बताए। नेताहरूले महाधिवेशनलाई सहमतिको बनाउने बताइरहेका बेला रावलको कदमले निर्वाचन हुने टिप्पणी हुन थालेको छ। महाधिवेशन आउन पाँच दिन बाँकी छ।

प्रवक्ता प्रदीप ज्ञवाली अझै सहमतिको गृहकार्य भइरहेको बताउँछन्। भन्छन्, ‘सहमतिका आधारमा नेतृत्व चयन गर्ने अधिकतम कोसिस हुन्छ। सम्भव भएन भने पनि उच्चतम समझदारी कायम हुनेछ।’

रावलले भने ओली अध्यक्ष र प्रधानमन्त्री भइसकेकाले आफूलाई अध्यक्ष बनाउनुपर्ने तर्क गरेका छन्। ‘ओलीले ७० वर्षको उमेरसम्म आइपुग्दा पार्टीको अध्यक्ष र प्रधानमन्त्रीसमेत भई महत्वपूर्ण जिम्मेवारी वहन गरिसक्नुभएको छ’, उनले पत्रकार सम्मेलनमा भने, ‘उहाँले गर्न सक्ने गरिसक्नुभएको छ। नेतृत्व हस्तान्तरण गर्ने र अध्यक्ष पदमा नदोहोरिने घोषणा सम्झनुपर्छ।’