मुख्यमन्त्री पाण्डेले आजै राजीनामा गर्ने, बोलाए बैठक - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मुख्यमन्त्री पाण्डेले आजै राजीनामा गर्ने, बोलाए बैठक



काठमाडौं- बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे सत्ता हस्तान्तरण गर्न तयार भएका छन्। पूर्वसहमति अनुसार उनले सत्ता हस्तान्तरण नगरेपछि तनावको अवस्था बनेको थियो ।

सत्ता साझेदार दलले सांसदको हस्ताक्षर सङ्कलन गर्ने तयारी गरेपछि उनले सत्ता छोड्न तयार भएको बताइएको छ । यसबारे निर्णय गर्न उनले शनिबार नेकपा (एकीकृत समाजवादी) संसदीय दलको बैठक बोलाएका छन्।

सत्ता साझेदार दलसँग पहिले नै भएको लिखित सहमति कार्यान्वयन नगरेको भन्दै नेपाली कांग्रेसले असन्तुष्टि जनाएको थियो । प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा बिहीबारसम्म असहमति जनाउँदै आएका पाण्डे शुक्रबार भने एकाएक सकारात्मक बनेका छन्।

सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का सांसदले हस्ताक्षर सङ्कलनको तयारी गरेपछि उनी सत्ता हस्तान्तरण गर्न तयार भएका हुन्। अब कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री हुनेछन्।

सत्ता हस्तान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएपछि मुख्यमन्त्री पाण्डेले संसदीय दलको बैठक बोलाएका छन्। मुख्यमन्त्री पाण्डेले शनिबार बिहान ११ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको एकीकृत समाजवादीका बागमती प्रदेश सांसद कुसुम कार्कीले बताइन्।

संसदीय दलको बैठकमा सरकारका विषयमा छलफल हुने एकीकृत समाजवादी संसदीय दलकी सचेतक मुनु सिग्देलले बताएकी छन् । संसदीय दलको बैठकमा सरकार फेरबदलको विषयमा छलफल हुने र अब बन्ने सरकारमा कति जना मन्त्री रहने भन्नेबारे पनि छलफल हुने उनले बताएकी छन् ।

गत कात्तिक ११ गते मुख्यमन्त्री बनेका पाण्डेको सरकारमा एकीकृत समाजवादीका चार जना मन्त्री छन्। सरकार फेरबदलको विषय केन्द्रबाटै टुङ्गिनुपर्नेमा एकीकृत समाजवादीको जोड छ।

पाण्डेको नेतृत्वमा सरकार गठन हुँदा एकीकृत समाजवादी, कांग्रेस र माओवादीबीच ६/६ महीना नेतृत्व गर्ने भद्र सहमति भएको थियो। सहमति कार्यान्वयन गर्न पाण्डे अनिच्छुक देखिएपछि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लगातार दबाब दिएका थिए।

मुख्यमन्त्री पाण्डेलाई बागमती प्रदेशका १०९ मध्ये ५९ सांसदको समर्थन रहेको छ। जसमा माओवादीका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका एक सांसद छन्।