रघुजी पन्तले मागे माफी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रघुजी पन्तले मागे माफी



काठमाडौं- एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले माफी मागेका छन् । उनले आफूहरू जनताले चाहेजस्तो हुन नसकेको भन्दै आत्माआलोचित हुँदै माफी मागेका हुन् ।

उनले अहिलेका गतिविधिले गर्दा लामो समयसम्म जनसमक्ष रातो मुख लगाउनु पर्ने बताएका छन् । त्यतिमात्र होइन यी गतिविधिप्रति आफू अहिले नै आत्मआलोचित हुन चाहेको उनले बताएका छन् ।

नेता पन्तले ओली समुहप्रति पार्टी फुटाउन लागिपरेको आरोप समेत लगाएका छन् ।उनले वरिष्ठ नेता माधव नेपालबिरुद्ध नारा लगाएर, २४ घण्टे स्पष्टीकरण सोधेर र पुतला जलाएर पार्टी जुटाउन खोजेको कि फुटाउन भन्दै अध्यक्ष केपी ओलीसँग प्रश्न गरेका छन् ।

पार्टी अध्यक्ष आफैले जथाभावी गाली गर्ने अनि वार्ता गर्न मान्छे पनि खटाउने दोहोरो चरित्र र व्यवहार नदेखाउन आग्रह गर्दै उनले भने, ‘मनदेखि नै एकता चाहेको हो भने त्यही अनुसार ब्यवहार गरौं । सबै संयमित र जिम्मेवार बनौं ।’

सर्बोच्च अदालतको फैसलाबिरुद्ध नारा जुलुश गर्ने र प्रधानन्यायाधीशको पुत्ला जलाउने काम गर्न दुईपटक प्रधानमन्त्री भएका केपी ओली, न्याय, कानून र संसदीय व्यवस्था मन्त्री भइसकेका सुवास नेम्बाङ र अग्नि खरेलले कसरी आफ्ना कार्यकर्तालाई अनुमति दिनसकेका भन्दै उनले प्रश्न गरेका छन् ।

‘आफ्ना युवा कार्यकर्तालाई राम्रो संस्कार र संस्कृति सिकाउनु पो राम्रो होला । सडकमा अहिले जेजस्ता रमिता देखाएर पुतला जलाउने र नारा लगाउने काम भइरहेको छ, त्यसले नेकपा (एमाले) को मान, नेतृत्वको योग्यता, क्षमता र परिपक्वतामाथि नै गम्भीर प्रश्नचिन्ह खडा गरेको छ’ नेता पन्तले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘लामो समयसम्म हामीले यी गतिविधिका कारण जनसमक्ष रातो मुख लगाउनु पर्नेछ । यी गतिविधिप्रति म अहिले नै आत्मआलोचित हुन चाहन्छु । हामी तपाईंहरूले अपेक्षा गरेजस्तो हुन सकेनौं, माफ गर्नुहोला जनता जनार्दन ।’