एमालेको पारा तात्ने उद्योगमन्त्री दिलेन्द्र बडुको त्यो सम्बोधन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एमालेको पारा तात्ने उद्योगमन्त्री दिलेन्द्र बडुको त्यो सम्बोधन



काठमाडौं–उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले शुक्रबार प्रतिनिधिसभा बैठकमा बोलेको विषयलाई लिएर एमाले सांसदहरुले पुनः बैठक अवरुद्ध गरे।

सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बडुलाई विशेष समय दिए। बडुले आयल निगमबारे उठेका भ्रम चिर्न भन्दै निगमका घाटाका फेहरिस्त प्रस्तुत गरे। निगम सुधार्न र पेट्रोलियम पदार्थको आपूर्तिका लागि बनेको कार्यदलका विषयमा बोले।

यहीक्रममा उनले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै प्रमुख प्रतिपक्षी दलका नेताले रोष्ट्रम प्रयोग गर्दे आधारहीन, भ्रामक र स्तरहीन टिप्पणी खेदजनक भएको उल्लेख गरे। बडुले रोष्ट्रम प्रयोग गर्दै जनतालाई झुट्टा सन्देशहरु सम्प्रेषण गरिएको भन्दै ती आरोप पुष्टि गर्न चुनौती दिए। ओलीले निगम खारेज गरेर आधा कमिसन खाएको भनेर बोलेको कुराप्रति बडुको आपत्ति थियो।

यसप्रति एमाले सांसद खगराज अधिकारीले उठेर विरोध जनाए। उनले संसदीय नियमावलीले गालीगलोज र स्तरहीन शब्दावली प्रयोग गर्न नपाउने व्यवस्था भएकाले प्रमुख प्रतिपक्षी दलका नेताले बोलेको कुराको रेकर्ड हेर्न चुनौती दिए।

त्यसपछि पुनः बोलेका बडुले ‘जनताको हितमा हुने हरेक कार्यमा कमिसनमात्र देख्ने कुराले साउनका महिनामा दृष्टिविहीन भएको गोरुले सधैं हरियोमात्रै देख्छ भन्ने स्मरण गराउँछु,’भनेका थिए।

बडु अझै रोकिएनन्। उनले ओलीप्रति लक्षित गर्दै ‘आफू प्रधानमन्त्री हुँदा कमिसनै–कमिसनको चास्नीमा रमाइरहेको अवस्थामा सत्ता गुमाउन पुगगेकाले कमिसनबाहेक के नै देख्न सक्छ र, यसटिप्पणीले पूर्वप्रधानमन्त्रीकै गरिमालाई क्षति पुर्‍याएको छ’ भने।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मन्त्री बडुले असंसदीय रुपमा जथाभावी बोलेको भन्दै रेकर्डबाट हटाउन र शब्द फिर्ता नलिएसम्म संसदमा अवरोध जारी रहने बताएका थिए। भट्टराईले बडुले भनेको कुरा प्रमाणित गर्न समिति गठन गर्नसमेत माग गरेका थिए।

सभामुख अग्निप्रसाद सापकोटाले संसदको रेकर्ड हेरेर हटाउने प्रतिबद्धता जनाए पनि एमाले सांसहरुले अवरोध जारी राखेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो।