३१ वर्षिय पारसको १० वर्षे सफल कप्तानी र किर्तिमान - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

३१ वर्षिय पारसको १० वर्षे सफल कप्तानी र किर्तिमान



काठमाडौं । नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्याउन १० वर्ष सफल कप्तानी गरेका पारस खड्काले एकाएक कप्तानबाट राजीनामा दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरबाट राजीनामाको घोषणा गरेका कप्तान खड्काले त्यसको कारण भने स्पष्ट रुपमा खुलाएका छैनन् । राजीनामा घोषणासँगै पारसले फेसबुकमा लेखेका छन्– नेपाल क्रिकेट संघ (क्यान) निलम्बनबाट फुकुवा भएको खबर सुनेर निकै खुसी लागेको छ । नयाँ आएको कार्यसमितिले नेपाली क्रिकेटका लागि राम्रो कार्य गरोस् भन्ने चाहन्छु । मैले आजैका दिनदेखि नेपाली क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।

खड्काले नेपाललाई डिभिजन पाँचबाट एकदिवसीय मान्यतासम्म पुर्याउन महत्वपूर्ण योगदान गरेका छन् । केही समयअघिमात्र उनले कप्तानको जिम्मेवारी सम्हाल्ने खेलाडी तयार भए आफूले राजीनामा दिने बताएका थिए ।

खड्काले निलम्बन फुकुवाको स्वागत गर्दै क्रिकेटमा नयाँ सुरुआतका लागि पदबाट राजीनामा दिएको बताएका छन् । उमेर समूह हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेका पारस सन् २००९ मा राष्ट्रिय टोलीको कप्तान भएका थिए । विनोद दासपछि कप्तानको जिम्मेवारी सम्हालेका पारसले १० वर्ष नेपाली क्रिकेटको कप्तानी सम्हाले ।

३१ वर्षिय पारसले नेपाललाई एकदिवसीय मान्यतासम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । अभिभावक संस्था क्यान नभएको अवस्थामा विभिन्न बाधा अवरोधसँग जुझ्दै नेपालले गतवर्ष एकदिवसीय मान्यता पाएको थियो ।

केही साताअघिमात्र टि–ट्वान्टी क्रिकेटमा शतक बनाएका पारसले एकदिवसीय क्रिकेटमा पनि शतक बनाएका छन् । उनी नेपालका लागि टि–ट्वान्टी र एकदिवसीय क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी हुन् । पारसकै कप्तानीमा नेपालले २०१४ मा पहिलो पटक टि–ट्वान्टी विश्वकप क्रिकेट खेलेको थियो ।

पारसले २००२ मा पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएका थिए, जतिबेला उनले युएईमा यू–१५ प्रतियोगिता खेलेका थिए । २००५ मा उनी यू–१९ टोलीको उपकप्तान भएका थिए ।

पारसले २२ वर्षको उमेरमा नै कप्तानीको जिम्मेवारी पाएका थिए । पारसले सन् २००४ मा इन्टरकन्टिनेन्टल खेलमार्फत् नेपालको राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन् ।

पारसले नेपालका लागि ६ एकदिवसीय खेल खेलेका छन् भने २७ टि–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् । उनी नेपाली क्रिकेट टोलीका लागि एकदिवसीय क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी पनि हुन् । त्यस्तै उनले २ फर्स्ट क्लास, ४० लिस्ट ए र ५० टी–ट्वान्टी खेलेका छन् ।