ज्ञानेन्द्र र पारसले भुटानलाई देखाए खेल: विशाल अन्तरले हार्‍यो भुटान - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ज्ञानेन्द्र र पारसले भुटानलाई देखाए खेल: विशाल अन्तरले हार्‍यो भुटान



काठमाडौँ । टी–२० क्रिकेटमा नेपालले भुटानमाथि शानदार जित हासिल गरेको छ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत खेलिएको खेलमा बिहिबार नेपालले जीत हासिल गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई १ सय ४१ रनको विशाल अन्तरले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले तीन विकेटको क्षतिमा २ सय ३६ रनको विशाल योगफल तयार पारेको थियो । अन्तर्राष्ट्रिय टी–२० म्याचमा यो १८ औँ उच्च स्कोर हो । जवाफी ब्याटिङमा उत्रिएको भुटानले ६ विकेटको क्षतिमा ९५ रनमात्र बनाउन सक्यो ।

नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्ल नायक रहे । उनले शतकीय पारी खेल्दै ५५ बलमा १०७ रन बनाए । विस्फोटक ब्याटिङ गर्नेक्रममा उनले ९ छक्का र ५ चौका प्रहार गरे ।

नेपालले पहिलो विकेटका लागि १०८ रनको साझेदारीमार्फत गतिलो सुरुवात गरेको थियो । पूर्वकप्तान पारस खड्काले अद्र्धशतकीय पारी खेल्दै २८ बलमा ५७ रन बनाए । उनले एक छक्का र ९ चौका प्रहार गरे ।

यस्तै, दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४५ रन बनाए ।

भुटानका लागि कर्मा दोर्जीले ४ ओभरमा ४५ रन खर्चिएर दुई विकेट लिए भने तोब्देन सिङ्ग्येले ४ ओभरमा ५३ रन दिएर एक विकेट हात पारे ।

भुटानका लागि रङजुङ्ग मिक्यो दोर्जीले सर्वाधिक २७ रन बनाए । यस्तै, सोनम तोब्गेले १५ र तोब्देन सिङ्ग्येले ११ रन बनाए ।

बलिङतर्फ नेपालका लागि पारस खड्काले दुई विकेट लिए भने करण केसी, ललित राजवंशी र पवन शर्राफले एक–एक विकेट लिए ।