पारस र सन्दीपको भिडन्त - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पारस र सन्दीपको भिडन्त



अबुधाबी : यूएईमा जारी टी–१० लिगमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का आवद्ध टिम अबुधाबी र लेग स्पीनर सन्दीप लामिछाने आवद्ध कर्नाटक तुस्कर्स शुक्रबार आमने सामने हुँदैछन्। खेल नेपाली समयअनुसार साँझ ९:४५ बजे अबुधाबीस्थित शेख जायद रंगशालामा सुरु हुनेछ।

जारी तेस्रो सिजनको टी–१० लिगमा यी दुबै टिमले सुखद प्रदर्शन भने गर्न सकेका छैनन्। समान ५ खेल खेलिसकेका दुबै टिमले १/१ जित हात पारेका छन्। एक खेल टाइड खेलेको टिम अबुधाबीको ४ अंक रहेको छ भने कर्नाटक तुस्कर्सले ३ अंक जोडेर समूहको पुच्छारमा रहेको छ।

सुरुवाती दुई खेलमा टिममा पर्न सफल भएका पारसले त्यसपछिका खेलमा भने स्थान बनाउन सकेका छैनन्। उनले पहिलो खेलमा ३ बलको सामना गर्दै ३ रनमा अविजित रहेका थिए भने दोस्रो खेलमा १ बलको मात्र सामना गरेर नटआउट १ रन जोडेका थिए।

पारसले पाचौँ नम्बरमा ब्याटिङ गरेका थिए। छोटो फम्र्याटको क्रिकेट भएकाले उनले त्यति धेरै मौका भने पाएनन्। तर सामना गर्न पाएको बलमा उनले ठूलो शट हान्न सकेनन्। त्यसैले लगातार सुरुवाती दुई खेलमा खेलाइएका उनलाई अन्य खेलमा खेलाइएन।

उनको स्थानमा ल्याइएका इङल्यान्डका अलराउन्डर लेविस ग्रेगोरीले १४ बलको सामना गर्दा नटआउट २३ रन जोडे। यसकारण पछिल्ला खेलमा उनैले स्थान बनाए। उनले पहिलो खेलमा जस्तै दोस्रो खेलमा प्रदर्शन गर्न नसके पनि तेस्रो खेलमा भने उत्कृष्ट प्रदर्शन गरे। त्यसैले पारसले प्लेइङ ११ मा स्थान बनाउन गाह्रो देखिन्छ। यद्दपि सुपर लिगको अन्तिम खेलमा मौकाको रूपमा भने उनी प्लेइङ ११ मा पर्न सक्नेछन्।

यता सन्दीपले भने लगातार टिममा स्थान बनाउँदै आइरहेका छन्। उनले ५ खेलमा ६ विकेट लिएका छन्। एक खेलमा बाहेक उनी विकेट विहीन भएका छैनन्। उनले टिमलाई निर्णायक जित दिलाउन नसके पनि उत्कृष्ट प्रदर्शन गरेका छन्।