परदेश भर्सेस स्वदेश « Himal Post | Online News Revolution
Logo

परदेश भर्सेस स्वदेश



प्रिय काठमाडौँ,

केही दिन अघि दश दिनकै लागि भए पनि मातृभूमि टेक्ने सौभाग्य मिल्यो । मलाई स्वागत र बिदाइ गर्ने दुवै पलको एक मात्र साक्षी तिमीले मेरो खुसीको धड़कन त पक्कै नाप्यौ होला । मातृभूमिको अनुभूति नै अलोकिक हुन्छ,अपनत्व नै बेग्लै हुन्छ । हजार बाध्यता हरू लाई पर धकेलेर स्वदेशमै रमाउँ रमाऊँ जस्तो अभिलाषा उत्पन्न हुन्छ, परदेश नै नफ़र्किऊँ जस्तो जस्तो भावावेग उत्पन्न हुन्छ । हरेक नेपाली जसको देब्रे छाती भित्र देश बसेको हुन्छ,उसका प्रत्येक चाहाना र सपनाले देशलाई अंगालिरहेक़ा हुन्छन्,फरक यत्ति हो,परिस्थिति सधैँ अनुकूल हुँदैन । पासपोर्टमा लागेका छापहरुले,पासपोर्टमा तोकिएका मितिहरुले ती प्यारा अनुभूतिहरुलाई पराजित गरिहाल्छन,अनि दुनियाँलाई आँसु देखाउन नसकी मनभरि आँधी र भुमरि बोकेर नेपाल आमाका सन्तान बोइंग चढ़छन,आफ्नै घरमा केही दिनका पाहुना बनेर फर्किन्छन । मैले पनि यसपालि त्यही नियति भोगें, प्रिय काठमाडौँ ।

जहाज़का क्याप्टेनले ‘काठमाडौँ अब केही समयमा काठमाडौँ अवतरण गर्देछौं,सिट बेल्ट बाँध्नुहोस’ भनेर उद्घोष गर्दाको क्षणको अनुभूति बयान गरी साध्य हुँदैन । देश प्रति माया देखाउने वा लुकाउने हरेक नेपालीको मुटु त्यो क्षण आकाशमा उसै गरी धड़किन्छ । त्यो धड़कन भित्र आफ्नोपन हुन्छ,रोमान्चकता हुन्छ अनि आफ्नो वात्सल्यमयी वासनादार माटो टेक्ने प्रेमिल ब्यग्रता हुन्छ । तर प्रिय काठमाडौँ,ती सबै रोमान्चक अनुभूतिहरु एयरपोर्टबाट बाहिरिंदा सम्म थला परिसक्छन,अवस्था त्यस्तै छ,व्यवहार त्यस्तै छन् । आफ्नो हो भनेर सबथोक ढाकछोप गर्ने मेरो बानी छैन । म आफ्नो देशको हरेक चीज़ उत्कृष्ठ भएको हेर्न चाहने नागरिक हुँ । आफ्नो देशको व्यवस्था उत्कृष्ठ होस भन्ने सदीक्षा राख्छु । आफ्ना कमी कमजोरी लुकाएर गर्व गर्नु भन्दा,आफ्ना समस्या फुकाएर समाधान खोजिनुपर्छ भन्ने मान्यता राख्छु । त्यसैले त लेख्छु । नलेखी कतै कुनामा थन्किए पनि मेरो के बिग्रिन्थ्यो र ? देश र सिस्टम नबिग्रोस भन्नका लागि कोही त बोल्नै पर्छ,कसैले त लेख्नै पर्छ । हरेक आलोचनात्मक लेखनीहरु देशप्रेमका अभिव्यक्ति नै हुन काठमाडौँ । इतिहास रट्ने,गर्व मात्र गर्ने र आफूलाई पुगे सब पुग्यो भन्ठान्ने केही स्वार्थी मान्छेको जमातलाई मात्र हो सुधारको अपेक्षा सहितका आलोचना हरू बिझाउने ।

हाम्रो एअरपोर्टका साना मसिना व्यवहारले हाम्रो देशकै गरिमा निर्धारण गरिरहेका हुँदा रैछन,मैले त्यो प्रत्यक्ष महसुस गरेँ । हामी नेपाली त सबथोक सहने र पचाउने बानी परिसकेका,तर विदेशी पाहुनाले सायद आत्मीय आतिथ्यको अपेक्षा गरेका हुन्छन् होला । मैले बोइंगबाट उत्रेपछि इमिग्रेसन पुग्दा सम्म त्यस्तो न्यानो स्वागतका शब्द र आत्मीय आतिथ्यता केही देखिन हाम्रो विमानस्थलमा । हुन त म जापानबाट फर्केको परदेशी,जहाँ प्रत्येक संवादमा झुकेर अभिवादन र शिष्टाचार व्यक्त गरिन्छ,त्यसैसंग तुलना गरेर बढ़ी अपेक्षा पनि गरेँ होला तर सामान्य शिष्टाचार पनि नदेखेकोले तिमी सँग गुनासो गर्दैछु । बिमानस्थल हरेक देशको स्वागत-द्वार हो,अझ पर्यटनमै आफ्नो विकास ख़ोज़्ने हाम्रो देशले त झन् विशेष संवेदनशीलता देखाउनै पर्छ,तर मैले त्यस्तो केही देखिन त्याहाँ । भित्र छिर्ने गेटको छेउमा एक जना कर्मचारी भाइ कम्प्युटरमा गेम खेल्दै थिए वा फेसबुक चलाउँदै थिए,बेप्रवाह भई आफै भित्र मुस्कुराउँदै थिए,उनलाई आगंतुक प्रति वास्ता नै थिएन भन्दा पनि हुन्छ । विमानस्थल भवन भित्र देखिएको उक्त पहिलो कर्मचारीले ‘वेलकम सर/मेडम’ भनेको भए के बिग्रन्थ्यो र ? मलाई होइन,म सँगैका विदेशीलाई । इमिग्रेसनको लाइन बताइदिने कार्ड झुन्ड़्याएका केही कर्मचारीमा पनि शिष्टता शून्य,खाली जागिरको लागि जागिर खाए जस्तो । बड़ी ल्यान्ग्वेज नै त्यस्तै ! कन्भेअर बेल्टमा लगेज बुझ्दाको क्षणको त के बयान गरूँ र । फलानो फ़्लाइटको लगेज फलानो नं बेल्टमा आउँछ रे,त्यो पनि कार्ड धारी व्यक्तिले भन्नु पर्ने,माईकिंग छैन,कति जनाले सुन्नु ? त्याहाँ गएर अन्तिम सम्म कुर्यो नआए पछि सोध्दा ‘फलानो फ़्लाइटको त उता आउँछ,तपाईँ किन यता?’ भनेर उल्टै झप्क़ी ! एक चाइनीज़ महिलाले र मैले लगेजको साझा झमेला भोगेर त्याहाँ बाट बाहिरियौं ।

मलाई त समस्या थिएन,त्यो मेरो देश थियो, देश टेक्नूको खुसीको अगाडी त्यो झमेला धेरै सानो कुरा थियो । तर विदेशी पाहूनाले त्यस्ता व्यवहारलाई कसरी लिंदा हुन ? विकसित देशहरूमा जस्तो लिफ़्ट भएन,एलिभेटर भएन,भेंटिलेटर,ए.सी. भएन,कंप्यूटराइज्ड सिस्टम भएन भन्दिन काठमाडौँ मैले,कम्तीमा शिष्टाचार,हार्दिकता अनि मुस्कान सहितका सेवा र सहयोग लगायतका औपचारिकता त अनिवार्य सर्त हुनु पर्ने हो नि पर्यटन व्यवसायले अर्थतन्त्र धानिएको देशको प्रवेशद्वारमा । होइन र काठमाडौँ ?

गुनासो आफ्नो ठाउँमा,खुसी हुने कारण पनि थियो । मेरो प्यारो काठमाडौँ झिलिमिली थियो । लोडसेडिंग हटेको कुरा साँचो रहेछ । तर सडकमा उड़ेको धुलोले सडक बत्ती बादल भित्रका तारा जस्ता देखिन्थे । सोचें, देशमा विकास निर्माणका काम हुँदै छन् । यो बेला जनताले सामान्य सास्ती खेप्नु स्वभाविक हो । रेस्टूरेंट,भोजनालयहरू छिटै बन्द हुने गरेका रहेछन् । त्यो रात भोकै सुतिन्थ्यो होला, सडक पेटीको ठेला पसलमा म: म: बेच्ने दिदीले पेट ख़ाली रहन दिइनन । हामीले म:म: खाँदै गर्दा टन्न पिएर आएका दुई जनालाई कालो चिया पनि खुवाइन दिदीले । लट्ठिएको एक जनाले अर्को सँग भन्दै थियो,’म त थोत्रा फलाम प्लास्टिक टिप्ने मान्छे,बिहारी,धोंती,तिमी त साहू जी,पैसा तिमी तिर..यस्तै यस्तै ‘ । संवाद सुनेर बिमल र म हाँस्यौं । अनौठो के लाग्यो भने उसको पहाड़ी साथीले जवाफ फर्काएन, पैसा तिर्यो अनि उनीहरू नारिएरै हिंडे त्याहाँबाट । कुनै समय यस्तो पनि थियो, स्कुल पढ्ने हामी फुच्चेहरु बुटवलमा रिक्सा चढ़नु पर्‍यो भने मधेसी मूलको रिक्सावाला खोजेर मात्र चढ़थ्यौं,भाडाको कुरा नमिले थर्काएर घटाउन पाइन्छ भनेर । त्यो म: म: पसलको दृश्य देख्दा बिस्तारै समानताका आवाज़ले ठाउँ पाउँदै गएको अनुभूति चाहिँ भयो । उनीहरू गए पछि पसले दिदीले भनिन,’मलाई यो जाँड खाएर धेरै बोल्ने मान्छे पसलमा आएकै मन पर्दैन’ । हुन सक्छ,ती दुई युवा उनका नियमित ग्राहक हुँदा हुन । उनले केवल हामी सँग शिष्टाचार निभाउन त्यसो भनिन होला भनेर अड़कल लगाउन हामीलाई अफ़्टेरो भएन । अहिले सोंच्छु, सडकपेटीमा मध्य रातमा म: म: र चिया बेच्ने दिदीले निभाउन जानेको शिष्टाचार र औपचारिकता देशको एकमात्र अन्तर्राष्ट्रिय विमान स्थलमा काम गर्ने शिक्षित कर्मचारीले निभाउन किन नजानेका होलान् ? यस्तो लाग्छ प्रिय काठमाडौँ,मान्छेलाई ज्ञान पढ़ाईले मात्र दिन नसक्दो रैछ ।

स्वदेशको छोंटो बसाई । चोकमा निस्केर गफ गर्ने फुर्सद भएन यसपालि,चिया पसलमा बसेर समुद्र पारिका फ़ाइंफूट्टा लगाउने पनि फुर्सद भएन । सायद त्यसो गर्ने समय पाएको भए धेरै कुरा थाहा पनि पाइन्थ्यो होला । तर केही कुराहरू खुब सूक्ष्म रूपमा अवलोकन चाहिँ गरेँ । नेपालमा सामान्य गाडी किन्न पनि चौध पन्ध्र लाख रुपैयाँ चाहिन्छ । प्रायः धेरै जसो युवाहरू गाडी चढेको देखेँ । मोटर बाइक,स्कूटर त एकदम सामान्य । कमाई नभएको भए सम्भव थियो होला त ? थिएन । कमाई केबाट ? जग्गा बाट । जग्गाको कारोबार क़सले गर्ने ? जसले पनि गर्ने । फलानो ठाउँमा फलानोको जग्गा छ भनेर देखाइदिए मात्रै मनग्ये आम्दानी हुने रे । परारका जग्गा अहिले तीन गुणा महँगा । जग्गाको उत्पादकत्व के ? मूल्याँकनका आधार के ? सरकारी मूल्याङ्कन कति ? प्रश्न अनुत्तरित । बुटवल,भरतपूरका जग्गा किन महँगा त भन्दा राजधानीमा भूकम्पको भयले रे ! त्यसो भए राजधानीका चाहिँ किन महँगा त भन्दा राजधानी भएकोले रे ! समथर भूभागमा कंक्रिटले ढाकिंदै,रूख सकिंदै,हरियाली नासिंदै । जो पनि पक्की घरवाला,जग्गावाला,गाडीवाला । खेतीयोग्य ज़मीन बाँझा,सडकमा ठुला ठुला खाडल,धुलो र धुँवा चारैतिर तर सबै जनता धनी सबै समृद्ध जस्ता । बढ़ो अनौठो दृश्य छ मेरो देशको, प्रिय काठमाडौँ !

फर्किदै गर्दा बाटोभरि सोचें,म कता जाँदै छु ? अनि मेरो देश कता जाँदैछ ? के म पनि यहीँ बसेर पलट्टिंग गरेर गाडी चढ़े हुन्न ? वा यहीँ बसेर हाम्रा प्रवृत्ति सुधारका आवाज़ लेख्ने बोल्ने गरे हुन्न ? फेरि मेरा कुरा कति जनाले सुन्लान ? सजिलो बाटो हिँड्ने बानी परेका नेपालीलाई अफ़्टेरो बाटो हिंडेर देश बन्न सघाउन कन्भिन्स गर्न सकिएला ? कति युवाहरू होलान् जो यस्तै सोंच्दै थानकोट पार गर्दा हुन अनि हराऊँदा हुन न्यु योर्क,लंडन,सिड्नी र टोकियोका रंगीन सपनाहरुमा ? कति युवाहरू होलान् जो बिदेशीएका दाजुभाइलाई धिक्कार्दै गाली गर्दै आफूलाई मात्र देशप्रेमी दाबी गर्दै लुकीलुकी पासपोर्ट बनाउँदै होलान् ? कति होलान् जो गाडी चढ़ने आसमा कलेज हापेर आना,धुर र कट्ठा नाप्दै होलान् ? कति युवाहरू होलान् जो आफ्ना स्वतन्त्र विचार र विवेकको हत्या गरेर राजनीतिक आडमा आफ्नो अभीष्ट पूरा गर्न नेताहरूको पाउ मोल्दै होलान् ? अनि कति युवा होलान् जो वास्तवमै देशलाई माया गर्दै देशमै श्रम गर्दा होलान् वा परदेशमा भए देश फ़र्किने चाहना राख्दा होलान् ?

मैले केही विदेश भोगेर देश फर्किएका अनुभवी युवाहरुका कुरा पनि सुनें । उनीहरू मध्ये धेरैजसोले देशको मायाले फर्कें भनेर दाबी गर्ने गरेको पाएँ । तर उनीहरू त्यति कुराले मात्र फर्केका हुँदैनन काठमाडौँ । कुरा नचपाई,नलुकाई भन्ने हो भने त परदेशमा गर्नु परेको दुःखको सामना गर्न नसकेर फर्किन्छन धेरै जसो । किनकि स्वदेशमा जीवन धान्ने उपायहरू तुलनात्मक रूपमा सजिला छन् परदेशमा भन्दा । नियम क़ानून खुकूलो छ,भ्रम बढ़ी बिक्छ,अनुशासन पालना नगरे पनि पुग्छ,इमानदारी ननिभाए पनि चल्छ । एउटा नेपाली युवालाई विदेशी जीवन कष्टकर लाग्नूको प्रमुख कारण स्वदेशमा उसले हिंडेको सजिलो बाटो र त्यो बाटोमा उसलाई लागेको बानीले हो । त्यसपछि बल्ल आऊंछन अरू कुराहरू- भाषा,कठोर श्रम,अनि विदेशमै नेपालीबाट ठगिनू परेका कारणहरू आदि इत्यादि । शारीरिक वा मानसिक श्रम नगरी कुनै पनि देशले प्रगति गरेको छैन । तर हाम्रो बानी कस्तो छ भने,भनिहाल्छौं-‘विदेशमा दुःख छ’ । भन्न छुटाउँछौं-‘दुःख छ,त्यसैले त समृद्धि पनि छ’ । हामीले दुःख भन्ने शब्दलाई श्रम सँग जोडेर डरलाग्दो बनाएका छौँ । श्रम दुःख होइन,श्रम ज्ञान हो । हामीलाई श्रम गर्ने संस्कार सानै देखि नसिकाइएकोले त्यो दुःख हो भन्ने लागेको मात्र हो । मलाई एक जना भाइले यसपालि पनि भने, ‘दाइ यहीँ गाडी चढ़ने मान्छे विदेश दुःख गर्न जानु भो’ । त्यो भाइलाई भन्न मन लागेको छ ‘केही वासलात मिलाउन केही समयको लागि परदेशी भएको हुँ भाइ । मलाई पनि आफ्नो देशमा गाडी चढ़ने रहर छ तर प्लट्टिंगको होइन,पसिनाको कमाइमा । म गाडी चढ़दा देश समृद्ध बनिसकेको होस, बाटो चिल्लो होस,खाडल नहोऊन । त्यसको लागि तिमीले टायर नबालिदिनु,बन्द हड़ताल नगरिदिनू । पहिले देशको घाउ पुरियोस अनि बल्ल मलाई गाडी चढ़ेको सुहाउला !’

एउटा साह्रै बिझेको कुरा छ,लेखिहाल्छु । परदेश फ़र्किने समयमा इमिग्रेसनको औपचारिकता पूरा गरिसके पछि फ़ाइनल चेक जाँच हुने ठाउँका सुरक्षाकर्मी सँग मलाई सबै भन्दा ठुलो गुनासो छ । उनीहरूले प्रयोग गरेको तल्लो स्तरको भाषाले यसपालिको यात्रामा पनि म छियाछिया भएँ । व्यक्तिगत रूपमा मलाई नराम्रो गरेनन उनीहरूले तर म सँगै लाइनमा भएका एअर अरेबियाका नेपाली यात्रु प्रतिको उनीहरूको व्यवहार साह्रै बिझाउने खालको थियो । उनीहरूले वर्ण,वस्त्र र गन्तव्य हेरेर व्यवहार गरिरहेक़ा थिए,हप्की दप्की गरिरहेक़ा थिए । मलाई मेरो गोरो वर्ण र सुकिलो आवरणमा ग्लानि नै यस्तैबेला हुन्छ काठमाडौँ,जुनबेला उस्तै वेदना बोकेर देश छोड़दै गरेका दुई नागरिक बिचमा नै विभेद गरिन्छ । म अर्को पटक मातृभूमि टेक्दा तिम्रो छातीमा बिराजमान मेरो देशको विमानस्थल समानता,शिष्टता र व्यवहारिकताको प्रतीक बनोस है,काठमाडौँ !

कसैको मान्यता हुन्छ स्वदेश र परदेशको तुलना गर्नु हुँदैन । ‘देश देश हो,जे जस्तो भए पनि आफ्नो देश हो अनि परदेश परदेश हो जति राम्रो भए पनि अर्काको देश हो’ भनेर कोही कोहीले देश प्रति टिका टिप्पणी गर्नुलाई अपराध क़रार नै दिने गरेको पनि पाउँछु मैले । टिप्पणी देश वा माटो प्रति किमार्थ होइन काठमाडौँ,केवल त्यो माटो माथि मौलाएको प्रवृत्ति प्रति हो अनि त्यो माटोको पहिचान र स्वभिमानलाई धूमिल बनाउने व्यवस्था प्रति हो । शिंहदरबार र बालुवाटार बस्नेलाई मात्र गाली गरेर देश बन्ने भए त हामीले पूर्ण अभिव्यक्ति स्वतंत्रता पाएकै सत्ताइस वर्ष भइसक्यो नि,खोइ त सुधार भएको ? त्यसैले मेरो कलमको सधैँ एउटै आह्वान हुने गर्छ देश सुध्रिन नागरिक सुध्रिनु पहिलो र अनिवार्य सर्त हो,नागरिकले आफ्ना आनी बानी सुधार्नु पहिलो आवश्यकता हो । सायद कैयौँ वर्षका पढ़ाई र कैयौँ महिनाका अभिमुखीकरण तालीमले पनि एयरपोर्ट कर्मचारीलाई शिष्टता र सभ्यता सिकाउन नसक्लान जब सम्म उनीहरूले भित्रैबाट ‘देशप्रतिको मेरो ज़िम्मेवारी यो हो’ भनेर महसुस नगर्लान,जब सम्म ‘मेरो दुई मिठो वचनले देशको प्रतिष्ठा संसार भर कायम रहला’ भन्ने कुरा अनुभूत नगर्लान ।

परदेश र स्वदेशको तुलना गर्दा मैले कहिल्यै पनि प्रविधि र विकासको तुलना गरेको छैन काठमाडौँ,गरेको छु त केवल सोंच र व्यवहारका कुरा हरुमा । सत्य तितो लाग्ला काठमाडौँ,हामी नेपाली शब्दमा देश प्रेम निभाउँछौं विकसित देशका नागरिक हरू व्यवहारमा निभाउँछन । त्यसैले ती देशहरू विकसित भएका छन् । विश्वास गर्छु, जुन दिन प्रत्येक नागरिकले आफ्ना अहंको बढ़ाईचढ़ाई र कमजोरीको ढाकछोप नगरी नागरिक कर्तव्य र ज़िम्मेवारी निभाउने छन्,त्यो दिन देखि मेरो देशले काँचुली फ़ेर्न थाल्ने छ । परदेश प्रत्यक्ष देखेर लेख्ने हामी परदेशीका यी सुझावका हस्ताक्षर समृद्ध देशका नागरिक बनेका हाम्रा सन्ततिले त्यतिबेलाको अभिलेखमा पढेर गर्व गर्दा हाम्रो आत्माले शान्ति पाउनेछ ।

सुव्यवस्था सहितको स्वदेश हेर्ने अभिलाषा सहित आजलाई बीट मारें ।

– तिम्रो अनुरागी हेमन्त गिरी,टोकियोबाट

[email protected]

लेखकका अन्य लेख

प्रिय काठमाडौं ३

प्रिय काठमाडौंप्रिय काठमाडौं २

प्रिय काठमाडौं

‘प्रष्टोक्ती’….अनि म कायर भागेर विदेश आएँ !

आऊनोस,प्रचण्डको मृत्युको कामना गरौं

ट्रम्पलाई चिठ्ठी