वैदेशिक रोजगारी र पारिवारिक विखन्डन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

वैदेशिक रोजगारी र पारिवारिक विखन्डन



—रामदेव पाण्डे

‘लाहुरको धन पाहुर’ यो पुरानो उखान हो तर आज पनि असान्दर्भिक भैसकेको भने छैन । पहिले यातायातका साधनहरूको न्युन उपलब्धताका कारण आम नेपालीहरूको गन्तव्य धेरै टाढाको थिएन । रोजगारी या तीर्थाटनका लागि भारत नै प्रमुख गन्तव्य थियो । केही मानिसहरू अलि पर म्यान्मा(त्यसबेलाको बर्मा)सम्म पुग्थे । रोजगारीका लागि यसरी विदेसिने कामलाई लाहुर जाने र त्यस्ता व्यक्तिलाई लाहुरे भनिन्थ्यो जुन अद्यपि भनिन्छ ।

बृटिस सेनाको गोर्खा रेजिमेन्टका लागि छानिएर जानेहरूलाई बृटिस लाहुरे, मलायाको लाहुरे, ठुलो लाहुरे आदि भन्ने गरिन्थ्यो र छ पनि । त्यतिबेलैदेखि चलेको उखान हो लाहुरको धन पाहुर । त्यस समयमा निश्चित समय वैदेशिक रोजगारीबाट आउँदा बचाएको पैसा बोकेर आउने र रिन तिर्ने, अन्य काम गर्ने गरिन्थ्यो त्यस पैसाबाट । गाह्रोसाह्रो गरेर ल्याएको धन यसो उसो गर्दा सकिइहाल्ने र खासै ठुलो काम गर्न नसकिने भएकाले र उसले दुख गरी ल्याएको पैसालाई सित्तैमा ल्याएको जस्तो गरेर आफन्तजन तथा छरछिमेकले खर्च गराउन खोज्ने भएर नै यो उखान चलेको थियो ।

आज लाहुरको दुरी र दायरा बढेको छ । भारत जानुलाई तुच्छ लाहुर मान्न थालिएको छ । कतार, साउदी, मलेसियासमेत साना तथा मझौला लाहुर हुन थालेका छन् । अहिले कोरिया, जापान, अस्ट्रेलिया र अमेरिका जस्ता विकसित र सम्पन्न देशहरू ठुला लाहुर बनेका छन् । तर आज पनि ठुलो लाहुरमा जापान बाहेक अन्यत्रको तुलनामा साना तथा मझ्यौला लाहुरमा जानेको संख्या नै अत्यधिक रहेको छ ।

जे होस्, आज पनि लाहुरको धन पाहुर नै भइरहेको छ । पहिले आफन्त र छरछिमेकीले लाहुरको धनलाई पाहुर बनाइदिने प्रचलन अलि फेरिएर गएको छ । अहिले घर परिवार र अझ त्यसमा पनि लाहुर गएकाका जोडी (पति या पत्नी) र उसका अस्थायी र छद्य हितैषीबाट लाहुरको धन पाहुर बनाइन थालेको छ जुन पछिल्ला दिनहरूमा पारीवारिक विखण्डनको एक कारण बन्न थालेको छ ।

सहरी जीवनको त यहाँ चर्चा नै गरिँदै छैन, पछिल्ला दिनहरूमा गाउँमा सामाजिक विकृति र पारीवारिक विखण्डन बढ्दो छ । बेथिति यतिसम्म बढेर गएको छ कि विदेशमा रहेका पुरुष वा महिलाका श्रीमती वा श्रीमान्माथि पारीवारिक एवं सामाजिक निगरानी गर्नु पर्ने आवश्यकता पर्ने हो कि भन्ने देखिन थालेको छ । यसका प्रमुख कारणहरूमा एक प्रविधिको दुरूपयोग त हो नै तर वैदेशिक रोजगारको भूमिका अझ बढी रहेको देखिन्छ ।

यसलाई लैंगिक विभेदका कुरा नमान्न अनुरोध गर्दै के भन्नु पर्ने भएको छ भने, हालको अवस्थामा गाउँमा रहेका महिला भन्दा पुरुष बढी बदमास देखिन थालेका छन् । विदेश जानेमा महिलाको भन्दा पुरुषको सङ्ख्या एकदम ठुलो छ । पति विदेशमा रहेर गाउँमा बस्नुभएका महिलामाथि गिद्धे नजर राखेर नियतबस नै विदेशमा रगत पसिना बगाएर कमाएको पैसा लुट्ने, महिलाका छोराछोरी अलपत्र पारिदिने र महिलालाई भगाएर लगेपछि ती भगाइएकी महिलालाई समेत अलपत्र पार्ने विकृति बढेर गएको देखिन्छ ।

यसबाट उक्त पुरुषको आफ्नै र लाहुरेनीको परिवारसमेत अलपत्र पर्ने गरेको छ । पैसा र यौनको लोभमा परी पतिबिना गाउँमा बसेका सोझा सिधा महिलाहरूलाई फकाएर या ब्ल्याकमेल गरेर आफूले चाहेअनुसार गराउने पुरुषहरूका कारण आज समाज नै विकृत बन्दै गएको छ । यसबाट एक हैन दुई परिवारको विचल्ली हुँदै आएको छ ।

यसो भनिरहँदा सहरी क्षेत्रमा जिगोलो (पुरुष यौनकर्मी)को सेवा लिने एक्लै बस्ने महिलाहरूको बढ्दो उपस्थितिलाई भने नजरअन्दाज गर्न सकिँदैन । यसमा सम्पन्न, पढेलेखेका महिलाहरू नै बढी सक्रिय देखिन्छन् । तर, यहाँ उठाउन खोजिएको विषय भने रोजगारीका लागि देशबाहिर रहेका मानिसका परिवारको ग्रामिण परिवेशको कुरा हो ।

बज्यै मरिन् भन्दा पनि काल पल्क्यो भन्ने डर ! यस भयावह परिस्थितिलाई रोक्नका लागि गाउँमा रहनुभएका सामाजिक सुव्यवस्था चाहने समाजसेवी र सच्चरित्र मानिसहरू सचेत, सजग र सक्रिय रहनु पर्ने अवस्था आएको छ । एक हातले ताली नबज्ने भए पनि यो परिस्थितिका लागि पति विदेश रहेका सिधा सोझा महिलाभन्दा आफूलाई टाठाबाठा र सहयोगीका रूपमा (तर स्वार्थपूर्ण) प्रस्तुत गर्दै नजिकिने र बिस्तारै आफ्नो दुष्टपनको नाङ्गोरूप देखाउने पुरुषहरूको नै बदमासी र गल्ती बढी रहने गरेको छ ।

घटना घटिसकेपछि यो त मलाई पहिल्यै थाहा थियो, उनीहरू दुईजनालाई त मैले फलानो खेतमा, फलानो बाटोमा या फलानो ठाउँमा आपत्तिजनक अवस्थामा पनि देखेको थिएँ भन्ने मान्छेले पहिले नै त्यस्ता पुरुषका परिवारलाई जानकारी गराउने र महिलाका आफन्तलाई पनि सचेत गराउने हो भने पक्कै पनि समाजमा बढ्दो विकृति र परिवारहरूको विखण्डन रोक्न सकिन्छ ।

गाउँमा यसप्रकारका कैयौँ घटनाहरू भैसक्दा पनि चेत नखानु मूर्खता ठहरिन्छ । अहिलेसम्मको अनुभवले के देखाउँछ भने गाडीमा या कुनै एक मानिसका बाइकमा पटकपटक साथसाथै हिडिरहेको अवस्थालाई सामान्य मानिरहनु धोका हुनसक्छ । कामै नभए पनि पटकपटक त्यस्ता महिलाका घरमा छुत्त छुत्त पुग्ने र सहयोग गरेजस्तो गर्ने र अझ मध्य दिन, राति या बिहानको झिसमिसेमा त्यस्ता महिलाका घरमा र आसपास पटकपटक देखिने गरेमा त्यस्ता पुरुषको नियत खराब छ भनेर शङ्का गर्न सकिने हुन्छ ।

गाउँमा पटकपटक घट्ने गरेका यस्तै प्रकारका घटनाबाट पाठ सिक्दै यहाँ माथि सङ्केत गरिएका अवाञ्छित प्रकारका कैयौं कृयाकलापहरू वर्तमानमा पनि भैरहेको पाइएकाले सामाजिक सचेतता अपनाइनु आवश्यक छ ।

अहिले पुरुष नै बढी विदेशिएकाले तिनका महिला साथी, श्रीमतीहरूले बढी धोका दिएको भन्ने देखिन्छ । यदि विदेशिने महिलाको संख्या धेरै हुने हो भने पुरुषहरूले गर्ने बदमासी झनै डरलाग्दो हुन सक्ने कुरा केही घटनाहरूले देखाएका छन् । विदेसमा मरीमरी काम गरेर पैसा पठाएर घर आउँदा पतिसँग अर्कै महिला रहेको, छोराछोरी अलपत्र परेको र उसले पठाएको पैसा सबै स्वाहा भैसकेको अवस्था उत्पन्न भएका कतिपय घटनाहरूले यस कुराको सङ्केत मिल्दछ ।

पुरुषले आफै जोड गरेर विदेश पठाए पनि केही वर्ष विदेस बसेर फर्कंदा श्रीमतीमाथि शङ्का र घृणा गर्ने र बदचलनको आरोप लगाएर नस्विकार्नेसम्मका कार्यहरूबाट भोलिका दिनमा विदेसिने महिलाको सङ्ख्या बढ्यो भने यस्ता समस्याहरूको सङ्ख्या पनि बढ्ने नै देखिन्छ । यी कुराहरूको अर्को नराम्रो पक्ष भनेको बदमासी गर्ने महिलाका कारण इमान्दार महिलामाथि समेत शंका गर्ने र अपमानित गर्ने काम पनि हुँदै आएको पाइन्छ । यसो हुनु सर्वथा गलत सोचको उपज हो ।

हालको बढी चिन्ताको विषय भने विदेसमा रहेका पुरुषका श्रीमतीहरूबाट हुने या उनीहरूमार्फत् गराइने धोका र बेइमानी हो । वर्षौंसम्म मरीमरी दुःख गरेर घरमा आउँदा न श्रीमती, न सम्पत्ति (त्यसैगरी न श्रीमान् न सम्पत्ति पनि) भएपछि अड्डाअदालतमा गुहार माग्न जानेहरूको सङ्ख्या ठुलो हुँदै जानु चिन्ताको विषय हो ।

माथि नै भनिसकिएको छ, विदेसिएका पुरुषहरूले यसरी धोका खानुमा प्रमुख दोष गाउँमा रहेका केही टाठाबाठा भनाउँदा बदमास पुरुषहरूको नै रहेको छ । विदेशबाट पैसा पठाउँदा बाआमालाई थाहै नदिई श्रीमतीलाई मात्र पठाउने र घरजग्गा किन्दा श्रीमतीको मात्र नाममा किन्ने गर्नाले लाहुरेहरू र तिनका लालाबाला बढी असुरक्षित हुने गरेका छन् ।

यस्ता कुराको केही हदसम्म समाधानका लागि घर जग्गा किन्दा संयुक्त नाममा किन्ने, पैसा पठाउँदा बाआमा, दाजु भाइ या अरु नजिकका आफ्ना विश्वासिला मानिसलाई समेत जानकारी गराई पठाउँदा केही हदसम्म सुरक्षित हुन सकिन्छ । यसका साथै सो पैसा कति र केमा लगाउने भन्ने कुरा दम्पतिले सल्लाह गरेर तय गर्ने र समय समयमा सोअनुसार भए नभएको जानकारी लिने गर्नु उपयुक्त हुन्छ ।

विदेसबाट श्रीमान या श्रीमतीलाई मात्र फोन गरेर हालखबर सोध्ने बानीमा परिवर्तन गरी फोनमा कुरा गर्दा बाआमा भएको खण्डमा उनीहरूसँग र कुरा गर्नसक्ने उमेरका भए छोराछोरीसँग पनि समय समयमा कुरा गर्दै ग¥यो भने केही हदसम्म समस्यालाई न्युनिकरण गर्न सकिने देखिन्छ । अथवा आफ्नो घरनजिकका आफन्त या विश्वासिला छिमेकीसँगको सम्पर्कलाई अलि बाक्लो बनाउने, आत्मीयता साट्ने गर्दा पनि दुर्घटनाको सम्भावना कम हुन्छ । यसमा पनि रक्षक नै भक्षक भएका केही उदाहरणहरूलाई स्मरण गर्दै सावधानी भने अपनाउनै पर्ने हुन्छ ।

अर्कोतिर समाजमा बसेपछि कसैप्रति विश्वास नगरी त सुखै छैन, कामै चल्दैन र सबै ठाउँमा खराबी छ नै भन्ने पनि हैन । अविश्वासमात्र गर्दा पनि व्यवहार त चल्दैन नै, झन् परिवार विखण्डन हुने सम्भावना बढेर नै जान्छ । पति विदेशिएका महिलालाई सहयोग गर्न जाने पुरुषकी श्रीमतीलाई त्यसरी सहयोग गर्न जाँदाको समय आदिको हेक्का राख्न लगाउँदा या जानकारीमात्र गराउँदा पनि दुवैतिरका परिवारको विखण्डनको जोखिम कम गर्न सघाउ पुग्दछ । समाजमा यसरी …….. क्रमशः अर्को भागमा

(लेखक कुरीति, कुसंस्कार र अन्धविश्वास विरुद्धका तर्कवादी अभियन्ता हुन् ।)