किन सँगै बस्दैनन् पारस र हिमानी ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

किन सँगै बस्दैनन् पारस र हिमानी ?



काठमाडौं, ६ पुस । आफ्ना उद्दण्ड गतिविधि र पारिवारिक किचलोका कारण सधैँ चर्चा र विवादमा छाइरहने पूर्वयुवराज पारस शाह पछिल्ला दिनमा गुमनामझैँ छन् । कुनै वेला रक्सी, गाँजा, चरेस र झैझगडा उनको पर्यायझैँ मानिन्थ्यो । यिनै कारणले पारस सधैँ समाचारमा छाइरहन्थे । तर, पछिल्लो समय उनी समाचारका हेडलाइन पनि बन्न छाडेका छन् ।

पारसनिकट स्रोतका अनुसार पछिल्लो समय उनले मदिरा र लागुऔषधको लत त्यागेर ध्यान र योग गर्ने बानी बसालेका छन् । आध्यात्मिक बहस गर्न रुचाउँछन् । वेलावेलामा पुराना सहपाठी र साथीहरूसँग भेटघाट र छलफल गर्छन् । वेलावेला आफू पढेको बूढानीलकण्ठ स्कुल गएर फुटबल र गोकर्ण पुगेर गल्फ पनि खेल्छन् ।

पूर्वयुवराज पारस बैंककमा एक्लै लामो समय बसे । त्यहीँ उनी गम्भीर बिरामीसमेत भए । बैंककको रामरउसमा दिन कटाएका पारस बिग्रिएको स्वास्थ्य लिएर १९ चैत ०७१ मा थाई एयरबाट काठमाडौं ओर्लिए । यद्यपि, बैंककमा उनको उपचार गरिएको थियो ।

विमानस्थलमा पारसको स्वागतका लागि शिवसेनाको नेतृत्वमा ठूलो भीड जम्मा भएको थियो । बुबाआमा, पत्नी र छोराछोरी बसिरहेको निर्मलनिवास नगएर उनी पूर्वआइजिपी हेमबहादुर सिंहका छोरा प्रभञ्जन सिंहको बा।३च ५४०६ नम्बरको गाडी चढेर चण्डोलस्थित कुन्डलिनी क्लब पुगे । स्रोतका अनुसार त्यतिवेला पारसले पत्नी हिमानी आफूलाई लिन विमानस्थल आउने अपेक्षा गरेका थिए । उनको चाहना सीधै निर्मलनिवासमा गएर बस्ने थियो ।

तर, न हिमानी विमानस्थल गइन् न त पारसलाई निर्मलनिवासमा प्रवेशको अनुमति दिइयो । ‘शुभसाइत’ जुराएर मात्रै दरबारमा भित्राउने भनियो । पारसलाई कुुुन्डलिनी क्लबमै बस्ने चाँजोपाँजो मिलाइयो । त्यहाँ पारस १० दिन बसे । पारसले क्लबमै छोराछोरी र बहिनीहरूसँग भेटघाट गरे । छोराछोरीसँगको फोटो पनि उनले सार्वजनिक गरे ।

कुन्डलिनी क्लबबाट पारस बहिनी शीताष्मा ९काका धीरेन्द्र शाहकी माइली छोरी०को घर जीवनकुञ्ज सरे । बैंकक बसाइमा पारसलाई खर्चको जोहो गरेर साथ पनि शीताष्माले नै दिने गरेकी थिइन् । पारस काठमाडौं आएको महिना दिन नबित्दै १२ वैशाख ०७२ मा गएको भूकम्पले जीवनकुञ्ज चर्कियो । शीताष्माको परिवार जीवनकुञ्जबाट ललितपुरको सुनाकोठीस्थित विकास राणाको घर भाडामा लिएर बस्न थाल्यो । पारस पनि शीताष्माको परिवारसँगै त्यहीँ बसिरहेका छन् ।

पारस र हिमानीको वैवाहिक सम्बन्ध सुमधुर छैन । पारस नेपाल फर्केको दुई वर्षको अवधिमा उनीहरूबीच दुई–चारपटक मात्रै भेट भएको स्रोतहरू बताउँछन् । त्यो पनि औपचारिकतामा मात्रै सीमित हुने गर्छ । गएको दसैँ–तिहारमा पारिवारिक भेटघाट भयो । त्यसअघि १५ असोज ०७३ मा हिमानीको जन्मदिनको अवसरमा पारसले सोल्टी होटेलमा हिमानीसहित परिवारका अन्य सदस्यसँग भेटघाट गरेका थिए । त्यसयता उनीहरूबीच भेटघाट नभएको स्रोत बताउँछ ।

‘भविष्य हेर्ने’ केही माताले दरबारलाई दिने सुझाबले पनि पारस र हिमानीलाई सँगै बस्न दिएको छैन । ग्रहदशा बिग्रिएको भन्दै डेढ वर्ष पति–पत्नी छुट्टाछुट्टै बस्नुपर्ने सुझाब माताहरूले दरबारलाई दिएका छन् । पारसका मित्र प्रभञ्जन सिंहले दरबारमा थरीथरीका सुझाब पुगेकाले राजपरिवारका सदस्यबीच बेमेल देखिएको बताए ।

निर्मलनिवास पुग्ने हरेक माताले डेढ वर्ष पति–पत्नी सँगै बस्न नहुने र ०७४ सालपछि राजतन्त्र फर्किने सुझाब नछुटाई दिने गरेको पारसनिकट स्रोत बताउँछ । सविता सरु र अर्की एक माताले अझ धेरै यस्ता सुझाब दिने गरेका छन् ।

पूर्वयुवराज पारस पछिल्लो समय पूजापाठमा पनि सक्रिय छन् । विभिन्न मठमन्दिर पुगेर पूर्जाअर्चना गरिरहेका छन् । पछिल्लोपटक २६ मंसिर ०७२ मा उनी बहिनी शीताष्माका साथमा ललितपुरको बगलामुखी मन्दिरको दर्शन गर्न गएका थिए । पारसका मित्रहरूका अनुसार वेलावेलामा हजुरआमा रत्नलाई भेट्न नारायणहिटी पनि पुग्छन् ।

वेलावेलामा पुराना साथीसँग भेटघाट र छलफल पनि गर्छन् । पारसका मित्र प्रभञ्जनका अनुसार बिहान ५ बजे उठिसक्ने पारस योगा र ध्यान गर्छन् । कहिलेकाहीँ बूढानीलकण्ठ स्कुलमा फुटबल र गोकर्ण पुगेर गल्फ पनि खेल्ने गरेको उनले बताए ।

पारस राजनीतिभन्दा आध्यात्मिक पुस्तकमा बढी रुचि राख्छन् । उनी कहिलेकाहीँ मृगस्थली पुगेर मित्र प्रभञ्जनसँग आध्यात्मिक बहस पनि गर्छन् । अचेल योगी व्यग्र वेदनाथ बनेका प्रभञ्जनसँग पारसको बढी संगत छ । आर्ट अफ लिभिङदेखि पूर्वीय दर्शनका सन्त–महन्तहरूसँगको छलफल एवं अन्तक्र्रियामा उनले जोड दिइरहेको प्रभञ्जनले बताए । ‘आध्यात्म र हिन्दूधर्म दर्शनका मौलिक पक्षलाई विश्वभर विस्तार गर्नुपर्छ र त्यसको संरक्षणमा जोड दिनुपर्छ भन्नेमा बढी नै चासो राख्नुहुन्छ,’ उनले भने ।

गत ३१ जेठमा मित्र प्रभञ्जनकै योजनामा पूर्वयुवराज पारस खप्तड पनि पुगेका थिए । उनको टोलीमा बहिनी शीताष्मा, प्रभञ्जन, राजेन्द्र सिंह, राजेश सिंहलगायत सहभागी थिए । उनीहरूले खप्तड यात्रामा १० दिन बिताएका थिए ।

२८ जेठ ०७३ मा पोखरा पुगेका पारस केही दिन पुराना सहपाठीसँगको जमघटमा रमाए । बूढानीलकण्ठ स्कुलमा सँगै ९सन् १९८३–१९९० एडी० पढेका उनका सहपाठीले जलमहल रिसोर्टमा ग्रान्ड गेट–टुगेदर गरेका थिए । जलमहलका म्यानेजर दिनेश प्रसाईं पारसका सहपाठी पनि हुन् । प्रभञ्जनका अनुसार पारस सहपाठीसँग मिलेर विद्यालयमा पुस्तक, खेलकुदका सामग्री वितरण गर्नेजस्ता सामाजिक कार्यमा संलग्न भइरहेका छन् ।

८ माघ ०७२ मा पारस रुद्रायणी देवीको दर्शनका लागि ललितपुरको खोकना पुगेका थिए । २३ भदौ ०७३ मा उनले दक्षिणकाली मन्दिर पुगेर कुलदेवीको पूजाअर्चना गरेका थिए । त्यहाँबाट फर्किंदा चोभारस्थित जलविनायक मन्दिरमा प्रसाद ग्रहण गरे । २५ साउन ०७३ मा पारस पशुपति दर्शन गर्न गएका थिए ।

गज्जव साप्ताहिकबाट