मैले पार्टी विभाजन गरिसकेँ, त्यसको जिम्मेवार प्रचण्ड र नेपाल हुन्: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मैले पार्टी विभाजन गरिसकेँ, त्यसको जिम्मेवार प्रचण्ड र नेपाल हुन्: प्रधानमन्त्री ओली



काठमाडौं- सत्तारुढ नेकपाभित्रको विवाद मिलाउन विभिन्नस्तरमा प्रयासहरू भइरहेका छन् । दोस्रो पुस्ताका नेताहरूले दबाब समूह बनाएका छन् भने स्वयं दुई अध्यक्ष पनि वार्तामा छन् ।

तर, ओलीलाई दुवै पद छाड्न लगाउने प्रचण्ड–नेपाल समूहको माग र कुनै पनि हालतमा कुनै पनि पद नछाड्ने ओलीको ‘बटमलाइन’बीच नेकपा शंक्तिसंघर्ष झन् जटिल भएको छ । यही गतिरोधबीच शनिबार स्थायी कमिटी बैठक बस्दै छ।

ओली–प्रचण्डको शुक्रबारको संवादपछि नेकपाको शक्तिसंघर्ष थप जटिल बनेको खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्। प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा मागे पार्टी विभाजन हुने चेतावनी दिएका छन् ।

पार्टीको विभाजन अब औपचारिकता मात्र रहेको भन्दै ओलीले यसको जिम्मेवार नेकपाका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल रहेको ठहर पनि सुनाएका छन् ।

विभाजन रोक्न भन्दै स्थगित भएको नेकपा स्थायी कमिटीको जारी बैठक शनिबार बस्ने तयारी छ । बैठकअघि दुई अध्यक्षबीच शुक्रबार बालुवाटारमा भेट भएको थियो ।

भेटको विषयवस्तुबारे प्रचण्डले शुक्रबार साँझ नै सचिवालयका सदस्यहरू वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई ब्रिफिङ गरेका छन् ।

‘प्रधानमन्त्री ओलीले पार्टी विभाजन भइसकेको निष्कर्ष सुनाउनुभयो र यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल जिम्मेवार रहेको आरोप पनि लगाउनुभयो,’ प्रचण्डले सचिवालयका नेताहरूलाई सुनाए ।

दुई अध्यक्षको सहमतिविपरीत प्रधानमन्त्री ओलीले संसद् अधिवेशन अन्त्यको कदम चालेको भन्दै बिहीबारको स्थायी कमिटी बैठकमा प्रचण्डले पार्टी विभाजनउन्मुख भएको बताएका थिए । तर, एकता बचाउन अन्तिम कोसिस गर्ने भन्दै उनले बैठक स्थगित गरेका थिए ।

शुक्रबार ओली र प्रचण्डबीच भेट हुँदा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि थिए । पार्टी एकताका लागि २ जेठ ०७५ मा भएको पाँचबुँदे सहमतिमा ओली र प्रचण्डबाहेक पौडेल र शर्मा हस्ताक्षरकर्ता हुन् ।

शुक्रबारको भेटमा प्रचण्डको भनाइ थियो, ‘तपाईंले पार्टी निर्णय मान्दिनँ भन्नुभयो । अनायास संसद् अधिवेशन अन्त्य गर्नुभयो, यहीवेला अध्यादेश ल्याउने कोसिस हुँदै छ । पुरानो पार्टी ब्युँताउन नयाँ दल पनि दर्ता गराइसक्नुभयो । यस अर्थमा तपाईंले पार्टी फुटाइसक्नुभएको छ । तैपनि एकता बचाउन वार्ता गर्न आएको छु।’

ओलीको जवाफ थियो, ‘तपाईंले पार्टी विभाजन भयो भन्दै हिँड्नुभएको छ, त्यो कुरा सही हो, पार्टी विभाजन त भइसक्यो नि, भिन्दै बैठक गर्नुहुन्छ, गुटका निर्णयलाई पार्टीको निर्णय भन्नुहुन्छ । अब तपाईंहरू बैठक बस्नुस्, मलाई निकाल्ने हो कि के गर्ने हो त्यो पनि गर्नुस् । त्यसपछि आ–आफ्नो बाटो लागौँला।’

सहमतिको प्रयासस्वरूप शुक्रबार ओली र प्रचण्डबीच तीन घन्टा लामो छलफल भएको थियो । तर, भेट सहमतितर्फभन्दा पनि आरोप–प्रत्यारोपतर्फ केन्द्रित भएको थियो । प्रचण्डले सचिवालयमा गराएको जानकारीअनुसार ओलीले भनेका थिए, ‘पार्टी एकता बचाउने अब एउटा मात्र उपाय छ । तपाईंले माधव नेपाललाई छाडेर आउनुस् । त्यसपछि एकता बच्छ, नत्र सम्भव छैन।’

शुक्रबारको ओली–प्रचण्डबीचको छलफलमा सहभागी नेता जनार्दन शर्माले भने खुलस्त छलफल भएको बताए । उनले भने, ‘खुला छलफल भयो । विषयवस्तुमा ठोस सहमति भएको छैन । फेरि अर्को बैठक बस्ने गरी उठेका छौँ।’