पर्यटन बोर्ड र एफएनसीसीआईबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्यको सहमति - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पर्यटन बोर्ड र एफएनसीसीआईबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्यको सहमति



काठमाडौं- नेपाल पर्यटन बोर्ड र एफएनसीसीआईबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने सहमति भएको छ।

मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

बिहीबार महासंघको सचिवालय काठमाडौंमा भएको समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका तर्फबाट कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र महासंघका तर्फबाट अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरे।

समझदारीपत्रमा पर्यटन विकासमा विभिन्नतहमा सरोकारवालाहरूको बैठक आयोजना गरी उदीयमान पर्यटकिय प्रवृत्तिहरूको अवधारणा विकास गर्ने र तीनको आदान प्रदान गर्ने, नेपालका विभिन्न अन्तराष्ट्रिय र आन्तरिक विमानस्थलहरूको सौन्दर्यकरण र सेवा सुधारमा सहकार्य गरिने उल्लेख छ।

कार्यक्रममा वोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले निजी क्षेत्रको सहकार्यबाटै नेपालको पर्यटन विकास गर्न सकिने बताए।

महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडले थलिएको पर्यटन उद्योगको पुनरूत्थानका लागि पर्यटनसंग आवद्ध सवै संस्थाहरूको सहभागितामा छिट्टै एउटा वृहद कार्यक्रम आयोजनाको प्रस्ताव गर्दै कार्यक्रमबाट आएका सुझावका आधारमा यस क्षेत्रलाई माथि उठाउन ठोस कार्ययोजना तयार गरी सोही अनुसार अगाडि बढ्नुुपर्नेमा जोड दिए।

अध्यक्ष गोल्छाले भैरहवा विमानस्थललाई यस क्षेत्रकै सस्तो र सुलभ विमानस्थल बनाउने र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई पर्यटन लक्षित विमानस्थलका रुपमा विकास र विस्तार गर्न आवश्यक रहको धारणा राखे।

सो अवसरमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस नाटाका अध्यक्ष रमेश थापा,पर्यटन तथा हवाई यातायात समितिका सदस्यहरू, बोर्डका निर्देशक मणिराज लामिछाने, महासंघ सचिवालयका वरिष्ठ अधिकृतहरूको सहभागिता थियो।