यो कस्तो मस्ती : पार्टीको काम गर्ने, तलव भत्ता सरकारको खाने ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

यो कस्तो मस्ती : पार्टीको काम गर्ने, तलव भत्ता सरकारको खाने ?



काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य डा. विष्णुबहादुर भण्डारीले सरकारी उच्च ओहोदामा रहेर तलबभत्ता लिई राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यको हैसियतमा काम गरिरहेको पाइएको छ ।

विद्यमान कानुनअनुसार सरकारका सार्वजनिक संस्थान, निकाय वा संस्थामा कार्यरत व्यक्तिले कुनै पनि पार्टीको सदस्यता लिन पाइँदैन । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य भण्डारीले सो कानुनी प्रावधानविपरीत पुनर्निर्माण प्राधिकरणको कार्यकारी समिति सदस्यका रूपमा काम गर्दा पनि उनीमाथि कारबाही भएको छैन ।

तीन वर्षअघि पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको सदस्यमा नियुक्त भएका उनलाई राप्रपाले गत २९ जेठमा केन्द्रीय सदस्यमा नियुक्त गरेको थियो । पार्टीले केन्द्रीय सदस्यमा नियुक्त गर्दा पनि भण्डारीले पुनर्निर्माण प्राधिकरणबाट राजीनामा दिएका छैनन् । पार्टीको केन्द्रीय सदस्य बनेका उनी प्राधिकरणको विभिन्न बैठकमा सहभागी भइरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रचार विभाग प्रमुख राजाराम श्रेष्ठले डा. भण्डारीलाई गत २९ जेठमा सम्पादन समिति सदस्यका रूपमा नियुक्त गरिएको पुष्टि गरे । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्राधिकरणका कार्यकारी समितिका सदस्य डा. भण्डारीले भने आफू पार्टीमा नरहेको दाबी गरे ।

‘म पहिला राष्ट्रिय प्रजातन्त्र पार्टीमा भए पनि अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा मात्र रहेको छु,’ भण्डारीले राजधानीसँग भने ।

आजकोराजधानी दैनिकमा समाचार छ ।