पशुपतिनाथ मन्दिरबाट १७ किलो सुन गायब - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

पशुपतिनाथ मन्दिरबाट १७ किलो सुन गायब



काठमाडौं- पशुपतिनाथ मन्दिरबाट ठूलो मात्रामा सुन गायब भएको छ । पशुपतिनाथमा सुनको जलहरी बनाउँदा सुन गायब पारिएको तथ्य फेला परेको छ।

महालेखा परीक्षकको कार्यालयले पशुपतिनाथमा शिवलिंगको गर्भगृह पूरै ढाक्ने गरी राखिने सुनको जलहरी बनाउँदा करिब १७ किलो सुन गायब भएको औंल्याएको हो। पशुपति विकास कोषका अनुसार सुनको जलहरी १ सय ७ किलो ४ सय ९० ग्रामको हो तर उक्त जलहरीमा तामा‚चाँदी र जिंकजस्ता अन्य धातु मिसाएर १६ किलो ९ सय ८९ ग्राम सुन हिनामिना भएको देखिएको छ।

‘निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किला लगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ५१४ ग्राम रहेको र बाँकी रहेको १० किलो ९७६ ग्राम रिङ बनाइ जलहरीमा लगाएको उल्लेख छ,’ महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ, ‘रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार रहेको छ, जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिणाम रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेश भएको छैन।’

सुनमा शुद्धता प्रतिशत समान नरहेको र त्यसमा अन्य धातु तथा रसायनको मिश्रण गरिएको महालेखाले उल्लेख गरेको छ। सुनको जलहरीमा तामा २ किलो ९ सय ९० ग्राम, चाँदी १ किलो २ सय ४९ ग्राम,जिंक १२ किलो ७ सय ५० ग्रामसमेत मिसाइएको र यी सबै धातुसहित उक्त जलहरीको तौल गरी १ सय ७ किलो ४ सय ९० ग्राम सुन कायम गरेकोसमेत महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ।

महालेखाको ५९ औँ प्रतिवेदनअनुसार सुनको जलहरी निर्माण गर्न पशुपति क्षेत्र विकास कोषले गत वर्ष नेपाल राष्ट्र बैंकबाट १ सय ३ किलो ७ सय ७३ ग्राम सुन ८० करोड ११ हजार रूपैयाँमा खरिद गरेको थियो।

पशुपतिनाथमा सुनको जलहरी निर्माण गरी चढाउँदा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकाल थिए। कोषका वर्तमान सदस्यसचिव डा मिलनकुमार थापा त्यस वेला कोषका कोषाध्यक्ष थिए।जलहरी निर्माणमा ठूलै गोलमाल भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले छानबिनसमेत गरेको थियो।

जलहरी निर्माणमा अनियमितता भएको भन्दै सर्वोच्च अदालतमा समेत रिट दायर भएको थियो।

रिटमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रिपरिषद्को कार्यालय, पशुपति क्षेत्र विकास कोषका संरक्षक तत्कालिन प्रधानमन्त्री ओली, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, कोषका तत्कालीन सदस्यसचिव ढकाल र तत्कालीन कोषाध्यक्ष थापा ९वर्तमान सदस्यसचिव० लाई विपक्षी बनाइएको थियो।