खुल्यो पशुपतिनाथ मन्दिर: भक्तजनले दर्शन गर्न पाउने - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

खुल्यो पशुपतिनाथ मन्दिर: भक्तजनले दर्शन गर्न पाउने



काठमाडौं- कोरोना महामारीका कारण नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजबाट भक्तजनका लागि खुला भएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण विगत नौ महिनादेखि पशुपतिनाथमा भक्तजनको प्रवेशमा रोक लगाइएको थियो ।

प्राचीनकालदेखि नियमित रुपमा भक्तजनले दर्शन गर्न पाइरहेकामा ९ महिनादेखि रोकिएकाले मंगलबन क्षमा पूजा गर्दै आजबाट मन्दिर दर्शन खुला गरिएको हो ।

क्षमा पूजा गर्न राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेकी थिइन् ।

पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ ।

मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन ।

“महामारीको सङ्कटकाबीच विभिन्न विषयमा बाँधिएर काम गर्न बाध्य भयौँ, बुधबारदेखि मन्दिर खुलेपछि स्वास्थ्य सुरक्षाको विधि अपनाएर बन्दरहेको विशेष पूजा, भजनलगायत गतिविधि पनि क्रमशः सञ्चालनमा ल्याउने छौँ”–सदस्य सचिव ढकालले भने ।

कोरोनापछि अन्य क्षेत्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएपनि पशुपतिनाथलगायत मठ, मन्दिर, चैत्य, गुम्बा भौतिक दूरी कायम गरी खुला गर्नुपर्ने माग गर्दै असोजदेखि पशुपति क्षेत्रमा विश्व हिन्दू महासङ्घको नेतृत्वमा साङ्केतिक बिरोध प्रदर्शन भइरहेको थियो ।

बुधबारदेखि मन्दिर खोल्न लागिएकामा ती संस्थाले पनि मङ्गलबार पशुपति क्षेत्र परिसरमा विशेष पूजा आराधना गर्दैछन् ।

इतिहासमा पशुपतिनाथ मन्दिर नौ महिनासम्म बन्द रहेको प्रामाणिक तथ्य वंशावलीलगायत ग्रन्थमा नपाइएको पशुपति क्षेत्रका सांस्कृतिक सम्पदाका विषयमा विद्यावारिधि शोध गर्नुभएको कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए ।

नौमहिने यो अवधिमा धेरै पर्यटक आउने साउन महिना, हरितालिका (तीज) र बाला चतुर्दशी पर्वमा पनि भक्तजनले मन्दिर बाहिरैबाट परिक्रमा गरेर चित्त बुझाउन बाध्य हुनुपरेको थियो ।

यी पर्वमा लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा आउने गर्थे । भक्तजन नआउने भएपछि पशुपति क्षेत्र वरपरको बजारको व्यापारमा समेत कमी आएको छ ।

मन्दिर प्रवेश गर्दा भक्तजनहरुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै हाललाई विशेष पूजा र भजनकीर्तन लगायतका क्रियाकलाप भने शुरु हुने छैनन् ।