पाटन दरबार स्क्वायर पुनःनिर्माणमा झन्डै ६० प्रतिशत पुराना काठ प्रयोग हुने - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

पाटन दरबार स्क्वायर पुनःनिर्माणमा झन्डै ६० प्रतिशत पुराना काठ प्रयोग हुने



ललितपुर, पुस १२ गते । पाटन दरबार स्क्वायर पुनःनिर्माणमा झन्डै ६० प्रतिशत पुराना काठ र अन्य सामग्री प्रयोग हुने भएको छ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा पुरातात्विक महत्व कम हुन नदिन प्रयोग गर्न सकिने काठका कलात्मक भागलाई पुनःप्रयोग गर्न लागिएको हो ।

काठसँगै झिङ्गटी, इँटालगायतको सामग्रीे पुनःप्रयोग गर्न सकिने पाटन स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालयले बताएको छ । कार्यालयका प्रमुख काजी प्याकुरेलले झ्याल, ढोका, छानालगायतमा प्रयोग भएका काठलगायतका सामग्री प्रयोग गर्न सकिने अवस्थामा रहेको बताउनुभयो ।

भूकम्पका समयमा क्षति पुगेका स्मारकका महत्वपूर्ण भागको अहिले मर्मत भइरहेको छ । सम्पदाको पुनःनिर्माण गर्दा पुरानो स्वरुप बिग्रन नदिने कुरामा ध्यान दिइन्छ । प्रयोग हुनेसम्मका पुरानै र प्रयोग गर्न नसकिने अवस्था भएमात्र स्वरुप नबदलिने गरी नयाँ सामग्रीको प्रयोग हुने बताइएको छ ।

झिङ्गटी र इँटा दुवै नयाँ निर्माणमा प्रयोग गर्न सकिने उहाँ बताउनुहुन्छ । झिङ्गटी पुरानो हुँदा पनि पुनःप्रयोग गर्न सकिने हुँदा नफुटेको प्रयोग गर्न लागिएको हो ।

सम्पदाको पुनःनिर्माणका क्रममा प्रयोग गर्न मिल्ने सामग्रीको पुनःप्रयोग हुने विश्वव्यापी मान्यता छ ।
पूरै नयाँ काठबाट मन्दिरको एउटा ठूलो ढोका बनाउन दुई जना कामदारलाई झन्डै आठ महिना लाग्छ । समयमा काठ नपाउँदा अझै समय लाग्न सक्छ । पुरानो मर्मत गरेर प्रयोग गर्दा एक महिनामा नै काम सम्पन्न हुन्छ ।

स्मारक भत्कँदा कतिपय भाग फुटेर बिग्रिएका छन, ती चिजलाई सङ्ग्रहालयमा संरक्षण गरेर राखिने प्रमुख प्याकुरेलले बताउनुभयो ।
ललितपुर संरक्षित स्मारक क्षेत्रअन्तर्गतका सम्पदाको पुनःनिर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । आगामी पाँच वर्षमा काम पूरा गर्ने गरेर काम अघि बढेको हो । विश्व सम्पदा सूचीमा समेत सूचीकृत यस क्षेत्रका कतिपय स्मारक पूर्ण क्षति र कतिपय आंशिक क्षति भएका थिए । भूकम्प अघि नै काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी) ले पुनःनिर्माणको काम गर्दै आएको थियो । केभिपिटीले भूकम्पपछि पुरातत्व विभाग र कार्यालयको स्वीकृतिमा थप स्मारक पुनःनिर्माणको जिम्मा लिएको छ । रासस