कथा- पत्रमित्रता ! « Himal Post | Online News Revolution
Logo

कथा- पत्रमित्रता !



-दीपक घिमिरे

मासिक पत्रिकाहरू जस्तै युवामञ्च, कामना, नवयुवाहरुको अन्तिम पन्नातिर एउटा स्तम्भ हुन्थ्यो “पत्रमित्रता !”

पासपोर्ट साइजको फोटो हुन्थ्यो, नाम अनि ठेगाना हुने भैगो र रुचि पनि उल्लेख हुन्थ्यो । धेरैको रुचि हुन्थ्यो “पत्रमित्रता”

त्यो बेला फोन नम्बर हुने कुरै भएन, कसैकसैले शिक्षा हालेका हुन्थे अनि उमेर । मैले मेरो माईलोबाको छोरा द्रोण दाईबाट पत्रमित्रता गर्न सिकें ।

“आफ्नै उमेर समूहको मान्छेलाई चिठ्ठी लेख्ने, उसले पनि पत्रको जवाफ फर्कायो भने पत्रबाट मित्रता बढ्दै जान्छ ।” यो द्रोण दाइले भनेको उ बेला ।

मैले युवामञ्चबाट आफ्नै उमेरको एक जनालाई पत्र पठाएं । मोरङको एकजना हरि अधिकारी थिए उनी । दुई चारपत्र आदानप्रदान भयो अनि बन्द । बन्द हुनुको मुख्य कारण थियो आर्थिक समस्या ।

एउटा पत्र पठाउन खाम, टिकेट गरेर कम्तीमा पनि पाँच रुपैयाँ खर्च हुन्थ्यो । त्यो पाँच रुपैयाँ मेरा लागी आकाशको फल जस्तै थियो । पाँच रुपैयाँमा पुरै मेला घुमिने, गज्जबको पेन आउने, मामा चाउचाउ आउने उमेरमा कसले गरोस् वाहियात खर्च । बन्द भयो पत्रमित्रता ।

द्रोणदाईका धेरै साथी थिए पत्रमित्रतामा । उ दुकानदारको छोरा, पैसाको अभाव उसलाई कहिले भएन । पसलबाट बिक्रीकालागी राखेको खाम निकाल्यो, चिठी लेख्यो अनि हुलाकमा गएर हाल्दियो । पैसा हुनेका लागि कति सजिलो । हाम्रा लागि पहाड ।

एक दिन बजारमा एउटा जोडी आए । नजिकै डेरा लिएर बसेका । छरछिमेकमा हल्ला चल्यो “यिनुरको ब्या त पत्रमित्रताबाट भएको रे ।”

म छक्क परें । पत्रमित्रताबाटै प्रेम बसेर बिहे गरेका उनीहरूको कुरा मैले आफ्नै कानले उनी दुलहाजीकै मुखबाट सुनेपछि नपत्याई सुख ?

उनी भन्थे “नवयुवा मासिक पत्रिकामा उनको फोटो देखेँ , राम्री लाग्यो अनि पत्र पठाउन थालेँ । पत्रबाटै लभ पर्‍यो अनि भगाइदिएँ ।”

कति सजिलो ! त्यो बेला लभ पार्नु या कसैलाई पट्याउनु त्यति सजिलो थिएन । हात चिरेर केटीको नाम लेख्दा त केटी पट्टिन्नथे । रगतले चिठी लेखेर पठाउने उस्तै हुन्थे । ती पनि प्रेममा फेल हुन्थे । उनले त पत्रमित्रताबाटै ल्याइदिए ।

छाडेको पत्रमित्रता फेरि सुरु गर्न मन लाग्यो । तर यो पटक केटासँग होइन, केटीसँग ।

आफूलाई सुहाउँदो या मन खाने अनुहार भएका केटीका फोटा पत्रिकाहरूमा भेटेको थिएन । कोही जेठी लाग्ने त कोही घमण्डी । पत्रमित्रताबाटै लभ चलाउने सपना एकातिर थियो भने अर्कोतिर सोह्र बर्से जवानी ।

गाउँमा मेरा दुई बहिनी थिए । एउटि पिंकी गुरुङ अर्की मिरा घिमिरे । धार्मिक समारोहमा भाग लिन पोखरा गएका बेला खिचेका तस्बिर देखाउँदै मिराले भनी “यिनी अम्बिका लिम्बू हुन, घर तेह्रथुम । कति मिजासिली अनि सोझी ।”

बिस बाइस जनाको ग्रुपमा खिचेको फोटोमा मलाई अम्बिका धपधपी बलेकी सुन्दरी लाग्न थालीन । अनि मैले पिंकीलाई सोधेँ “यसलाई साथी बनाम ?”

उसले अटोग्राफ पल्ट्याउदै ठेगाना दिई । मैले त्यही रात चिठी लेखे, पुरै प्रेम झल्कने स्टाईलमा ।

बाको गोजीबाट सुटुक्क निकालेको दसको नोट लगेर हुलाक गएँ, चिठी रजिष्ट्री गरें । सामान्य टिकेट टाँसेर पठाउँदा नपुग्न नि सक्ने डर हुन्थ्यो । रजिष्ट्री गरेपछि ठेगाना नमिले घर सम्मै चिठी फिर्ता आउँथ्यो । मैले त्यसै गरें ।

करिब एक महिनापछि स्कुलको सूचना पाटीमा मेरो नामको चिठी आएको साथीले सुनायो । म छाती फुलाउँदै स्कुलको स्टाफलाई भेटें, उनले सुचनापाटी बाट मेरो चिठी निकालेर दिए ।

त्यो बेला घरको ठेगाना भन्दा स्कुलको ठेगाना भरपर्दो हुन्थ्यो । स्कुलमा कसैको चिठी आयो भने त्यसको खुट्टा भुईँमा हुन्थेन । हजार भन्दा माथि विद्यार्थीले खासखुस गर्दै भन्थे “फलानाको चिठी आथ्यो ।”

चिठी आउनेवाला एक दुई दिन स्कुलमा सेलिब्रेटीनै हुन्थ्यो । अझ मेरो त झन् केटीले टाढाको जिल्लाबाट पठाएको चिठी । अम्बिकाले चिठी मात्र पठाए पनि मेरा लागि त्यो चिठी थिएन , प्रेमपत्र थियो । मैले पत्रमित्रताबाट प्रेम टुसाउने सपना देखेको थिएँ । सायद त्यो सपना पूरा गर्न पहिलो पत्र मेरो हातमा आइपुग्यो ।

मैले स्कुलको बेन्चमै त्यो पत्र खोलेँ । कति राम्रा अक्षर हुन, कति मिठास हो लेखाइमा । मैले सोचेको भन्दा हजार गुणा बढी मिठी रहिछिन ती अम्बिका । म लट्ठै परें । सोंचें, हामीबिच प्रेम टुसायो ।

अनि ढिला नगरी मैले पत्र कोरें, उनका हरेक सवालका जवाफ लेखेँ अनि मेरा मनमा भएका सयौँ सवाल पनि लेखेँ । अन्त्यमा लेखे “आगामी पत्रमा फोटो पनि पठाउनु है ।”

म प्रेममा थिएँ । मलाई तेह्रथुम मन पर्न थाल्यो । उनले पत्रमा तमोर नदीको सुन्दरता लेख्थिन, म कल्पनामा तमोर नदीको किनारमा उनीसँग डेटिङमा हुन्थेँ । उनी धनकुटा धरान अनि तेह्रथुमका बयान गर्थिन, म ती सबै ठाउँलाई ससुराली ठाउँ सम्झन्थे अनि मख्ख पार्थें।

फोटो आदान प्रदान भो, पढाइमा अब्बल अम्बिका दिलमा बसेपछि म दिवाना भैगएँ । घरमा अम्बिकाको फोटो थियो । बा जिस्काउँदै भन्नुहुन्थ्यो “बुहारी पूर्वकी पर्ने भई ।”

म लजाउँथें, घोसेमुन्टो लाएरै भाग्थें । कोठामा टेप थियो, रिल क्यासेटको जमाना । मैले नबुझेपनी लिम्बू भाकाका लोक गीत सुन्न थालेँ । “न्याला साङ्तान फक्री नेल, उन्डि मायालु !” यस्तै शब्द थिए, धेरै पटक सुन्दा मैले दिमागमा राखेर मुखले गुनगुनाउने ।

काठमाडौँ गएर लिम्बू भाषाका गीतहरू डबिङ गराएको उनीसँगै पत्रमित्रतामा परेपछि हो । ती गीतका क्यासेट अझै घरमा छन् तर त्यो सुन्ने भाँडो मिल्काइएको बर्षौ भयो ।

त्यो बेला फोन थिएन । गाउँमा एउटा ल्यान्डलाईन हुन्थ्यो, त्यहाँ गएर प्रेमका कुरा साटासाट गर्ने कुरै भएन, आँटै भएन । जे हुन्थे सबै पत्रमै हुन्थे । यति सोझो जमाना थियो कि पत्रमा आई लभ यु सम्म लेख्न सकिएन तर पनि पिरतीको यति मीठो महसुस थियो कि अम्बिका मेरी हुन् अनि म उनको ।

पत्रमित्रताबाट बिहे भएका ती दाइ दिदी पनि हाम्रो बजार छाडेर घर गए । घरकाले स्वीकार नगरेकाले डेरा लिएका उनीहरू पछि घरमा स्वीकार गर्ने भएपछि उतै लागे । मलाई पत्रमा प्रेम झल्काउन सिकाउने कोही भएनन्, मात्र जिस्काउने भए ।

अम्बिका कलेज पढ्न धरान आउने कुरा पत्रमा लेखिन । म खुसीले गदगद थिएँ । आफ्नो मान्छे हुन जस्तो लाग्थ्यो उनी र त खुसीले गदगदिन्थे ।

पत्र आदानप्रदानकै बेला बाले जिस्काउँदै भन्नू भो “अम्बिकालाई ल्याउछस कि क्या हो, आमालाई दुख छ ।”

बालाई थाहा थियो मैले अम्बिकालाई प्रेम गर्छु भन्ने । बालाई मात्र होइन, आमा भाईहरु सबैलाई थाहा थियो तर अभागी म, अम्बिकालाई थाहा थिएन । जसलाई थाहा हुनुपर्ने हो, उसैलाई थाहा नभएर पनि प्रेमको महसुस गरिन्थ्यो उ बेला ।

एक पटक धरान बस्ने अम्बिका सँग फोन नम्बर मागेँ । उनले दिएको नम्बरमा फोन गर्न पिसिओ छिरेँ । अहिलेको जस्तो लोकल फोन सुविधा कहाँ थियो र । एसटीडी भनेर लतक्क पैसा तिर्नु पर्ने बाध्यता । तै पनि सात मिनेट कुरा गरे अम्बिकासँग । गफ केही थिएन, मात्र भन्थे “अनि अरू के छ ?”

उताबाट उत्तर आउँथ्यो “सबै ठिकै छ ।”

लभ परेको भए पो गफ निस्कन्थ्यो । “अनि अरू अनि अरू” गर्दा गर्दै सात मिनेट भएछ, फोकटमा सय रुपैयाँ चुना लाग्यो ।

सायद त्यही कल नै अन्तिम भयो हाम्रो पत्रमित्रतामा । उनी धरान झरेपछि बेग्लै दुनियाँमा रमाउन थालिन सायद । र त पत्र कोर्न भुलिन । तर एउटा पत्रमा लेखेकी थिइन “तपाईँलाई भुल्न सक्दैन दीपक जी, तपाईँलाई भुल्न त आफै मर्नु पर्छ ।”

त्यो पत्रको लेखाइले मलाई अहिले पनि छुन्छ तर उनलाई मेरा पत्रले छोएन होला । र त म फिदा हुँदै गए, उनी फ्री हुँदै गईन ।

अनि पन्ध्र वर्ष पुरानो हाम्रो पत्रमित्रता लाई भुल्नै लाग्दा फेसबुकमा अम्बिका लिम्बू देखेँ, फेसबुकमै साथी बनाएँ अनि लेखे “चिन्छ्यौ ?”

“चिन्छु नि ! हामी साथी थियौ । “उनले छोटो लेखिन, मैले जस्तै ।

उनलाई के थाहा, उनले साथी सोचेपनी मैले साथी भन्दा अलिकति माथि सोच्थे भन्ने कुरा ।

आजभोलि पत्रमित्रताका कुरा निकाल्छु च्याटमै । उनी हास्छिन मात्र । मैले मन पराउँथे भन्दिन, किनकि अब भनेर के फाइदा । उतिबेला अनि अरू के छ” मै फोन वार्ता सकियो । त्यति बेलै “आई लभ यु” भन्दिएको भए सायद केही हुन्थ्यो कि ।

त्यो बेला पत्रमित्रता गर्दा जुन मजा आउँथ्यो, त्यो मजा अब न च्याटमा आउँछ न फोन गफमा । महिनौँ लगाएर आउने पत्रमा साँच्चै प्रेम भरिएका हुन्थे । मैले पत्रमित्रता गरेर पट्याउन खोजेकी युवतीसँग च्याटमा घण्टौँ गफिँदा पनि प्रेमको फिलिङ नै आउँदैन । त्यही केटीको एउटा पत्र पाउन एक महिना कुर्थें तर आजभोलि उसैको दुई सेकेन्डमा आइपुग्ने म्यासेजको कुनै महत्त्व नलाग्ने । प्रेम त पत्र आदानप्रदानबाटै गरेको मीठो । बाकी त दुई दिने घामछाया ।