पत्रपत्रिकाको फ्रन्टपेजः के के छापिए आज - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पत्रपत्रिकाको फ्रन्टपेजः के के छापिए आज



२१ चैत, काठमाडौं । आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिकहरुले मतदाता नामावली छपाइ सुरु भएको खबरलाई प्राथमिकतामा राख्दै नेपालको कूल मतदाता संख्या १ करोड ४० लाख रहेको खबर लेखेका छन् ।

मोर्चाको अडानका कारण सहमति बिथोलिएको, कुबेतको सपना देखाएर साउदीमा नेपाली महिलालाई बेचिएको खबरले पनि पत्रपत्रिकामा उत्तिकै महत्त्व पाएका छन् ।

 

गोरखापत्र दैनिकले राष्ट्रिय सुरक्षा अनुगमन गर्न प्रधानमन्त्रीले दिएको निर्देशनलाई प्रमुख खबर बनाएको छ । गोरखापत्रमै देशभरको कूल मतदाता एक करोड ४० लाख पुगेको अर्को खबर पनि प्रकाशित छ । ‘म्यादी प्रहरीमा दोब्बर आवेदन’लगायतका अन्य खबर पनि गोरखापत्र दैनिकको पहिलो पृष्ठमा अटाएका छन् ।

आजको अन्नपूर्ण पोस्ट दैनिकले कालिगण्डकी करिडोर असारभित्रै शीर्षकको खबरलाई मुख्य खबर बनाएको छ । सरकारले ५ वर्षअघि नै नयाँ म्यानपावर दर्तामा रोक लगाए पनि म्यानपावर दर्ता नरोकिएको र १ वर्षमै ८० म्यानपावर दर्ता भएको अर्को सामग्री पनि अन्नपूर्णले पस्केको छ ।

नागरिक दैनिकले वैदेशिक रोजगारीमा भइरहेको ठगीको नयाँ पाटो खोतल्दै कुवेतको सपना देखाएर नेपाली महिलाहरु कुबेतमा बेचिरहेको बताएको छ ।

खानेपानीको बक्यौता डेढ अर्ब शीर्षकको खबरलाई मुख्य बनाएको नयाँ पत्रिका दैनिकले किसानलाई सात करोडसम्म सहुलियत ऋण, कांग्रेसविरुद्ध अदालतमा अवहेलना मुद्दालगायत समाचारलाई पनि पहिलो पृष्ठमा नै स्थान दिएको छ ।

राजधानी दैनिकले निर्वाचन सार्ने मोर्चाको सर्तले सहमति टाडिएको जनाएको छ । लाभकरविनै बिक्रेतालाई आड्नेविरुद्ध अनुसन्धान शीर्षकमा राजधानी दैनिकले नै अर्को खबर छापेको छ ।

कान्तिपुर दैनिकले कूल मतदाता १ करोड ४० लाख पुगेको खबरलाई मुख्य खबर बनाएको छ । मोर्चाको सर्तले सत्तारुढमै विवाद भएको खबरलाई पनि कान्तिपुरले उत्तिकै महत्त्वका साथ छापेको छ ।